७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गरे संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने बताएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको रास्वपाको बाचापत्रमा रास्वपाले सरकारमा आएको तीन महिनाभित्र संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने उल्लेख छ ।
‘सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्नेछौं,’ बाचापत्रमा भनिएको छ ।
रास्वपाले संविधान संशोधनका लागि तयार गरिने ‘बहस पत्र’ मा प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणा राखिने पनि जनाएको छ । उसले प्रत्यक्ष निर्वाचित कार्यकारीसँगै पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैर–दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूपबारे छलफल चलाउने बाचापत्रमा लेखेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रारम्भिक छलफलका लागि पेश हुने विषयमा निम्न अवधारणा न्यूनतम पर्नेछन्,’ रास्वपाले भनेको छ, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैर–दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप ।’
प्रतिक्रिया 4