+
+
Shares

सुदूरपश्चिममा देउवाको तस्वीर देखाएर मत माग्दै कांग्रेस उम्मेदवार

शेरबहादुर देउवा कांग्रेस जिताउन कतै हिँडेका छैनन् । बरु सुदूरपश्चिमका केही उम्मेदवारले मत माग्न देउवाको तस्वीर प्रयोग गरिरहेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ फागुन ८ गते १५:४२

८ फागुन, धनगढी । १० वर्षे सशस्त्र विद्रोहपछि शान्ति प्रक्रियामा आएको माओवादी केन्द्रको दबदबा र चौतर्फी प्रभावबीच शेरबहादुर देउवाले २०६४ सालमा दुई (डडेलधुरा र कञ्चनपुर-३ ) क्षेत्रबाट चुनाव जिते । त्यो बेला नेपाली कांग्रेसलाई सुदूरपश्चिम मात्र होइन देशका अन्य क्षेत्रमा पनि आफ्ना उम्मेदवार जिताउने चुनौती थियो ।

२०७४ मा एमाले र माओवादीले वाम गठबन्धन गर्दा पनि शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जिते । वाम गठबन्धनका उम्मेदवारलाई पराजित गर्ने देउवा सुदूरपश्चिमका एक्ला उम्मेदवार थिए । वामपन्थीको लहरबीच कांग्रेसले यहाँका १५ क्षेत्रमा पराजय भोग्नुपरेको थियो ।

तर, २०७९ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा भने कांग्रेसले सुदूरपश्चिममा सबैभन्दा बढी ८ सिट जित्यो । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका पार्टीसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेस सुदूपश्चिममा पहिलो दल बन्यो ।

यो चुनावमा भर्खर उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलालीका तीन सिट जितेको थियो भने कांग्रेससँगको गठबन्धनको लाभ उठाउँदै एकीकृत समाजवादीले तीन र एमालेले दुई ठाउँमा जितेको थियो ।

तर, प्रतिनिधिसभाको कार्यकाल नसकिँदै २१ फागुनमा हुने चुनावको परिदृष्य भने विगतभन्दा भिन्न छ । यो चुनावमा कुनै पनि दलले कसैसँग घोषित रूपमा गठबन्धन गरेका छैनन् । सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

अन्य दल विगतकै नेताहरूको मूल नेतृत्वमा चुनावमा गएका छन् । तर कांग्रेसमा भने परिवेश फेरिएको छ । विशेष महाधिवेशनबाट निवर्तमान सभापति शेरबहादुर देउवालाई विस्थापित गर्दै गगनकुमार थापा पार्टी सभापति बनेका छन् । कांग्रेस थापाकै नेतृत्वमा चुनावमा होमिएको छ ।

२०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका निवर्तमान सभापति देउवा यो चुनावमा कतै देखिएका छैनन् । कतिपयले देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिममा कांग्रेसका उम्मेदवारलाई मत माग्न आउने अपेक्षा गरेका थिए ।

तर, देउवाले चुनावी प्रक्रियामा कतै सहभागी नहुने घोषणा नै गरिदिए । उनले आफू पक्षीय नेता यो चुनावमा उम्मेदवार नभइदिएहुन्थ्यो भन्ने भित्री चाहाना राखेका थिए । सभापति थापा पक्षले न्यून मात्रामा भए पनि एकताको सन्देश दिन देउवा पक्षधर नेताहरूलाई समेत टिकट दियो ।

देउवा कांग्रेस जिताउन कतै नहिँडे पनि सुदूरपश्चिमका केही उम्मेदवारले भने मत माग्न देउवाकै तस्वीर प्रयोग गरिरहेका छन् । अहिलेको संस्थापन पक्षधर र देउवा पक्षधर दुवै उम्मेदवारले मतदाता रिझाउन सभापति गगनसँगै देउवाको तस्वीर पनि देखाइरहेका छन् ।

देउवाको क्षेत्रमा कांग्रेसबाट उम्मेदवार छन्, नसिंह महर । उनी देउवाकै तस्वीर अघि सारेर भोट मागिरहेका छन् । प्रत्येक पोस्टरमा उनले देउवाको तस्वीर टांगेका छन् र मतदाता फकाइरहेका छन् । उनी पार्टीमा सुरूदेखि नै देउवा खेमामा थिए ।

थापासँगै देउवाको तस्वीर बोकेर मत माग्नेमा बैतडीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चतुरबहादुर चन्द देखिएका छन् । चन्द पार्टीमा विगतदेखि नै शेरबहादुर देउवा इतर पक्षधर मानिन्छन् । शेखर कोइराला पक्षका मानिने उनी पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् ।

कांग्रेसको आन्तरिक शक्ति संघर्षका कारण देउवा पक्षकाले मत नदिने आशंकामा चन्दले सभापति थापासँगै देउवाको तस्वीर पनि राखिएको हुनसक्ने अडकलबाजी गरेका छन् । तर चन्दले भने देउवाको सम्मानमा तस्वीर राखिएको बताए ।

‘नेतृत्व परिवर्तन भए पनि नेताको योगदान परिवर्तन हुँदैन । पार्टीका सभापति गगन थापा र शेरबहादुर दाइको तस्वीर उहाँहरूको सम्मानका लागि राखिएको हो,’ चन्दले अनलाइनखबरसँग भने, ‘माथितिर सबै दिवंगत नेताको फोटो पनि छ नि । तर उहाँ (देउवा) को माथिल्लो लाइनमा राख्न मिलेन ।’

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै देउवा पार्टीको सभापति भएर महत्वपूर्ण योगदान पुर्‍याएकाले तस्वीर राखेर सम्मान दर्शाउँदैमा विपक्षीले त्यो कुरालाई नकारात्मक रूपमा प्रचार गरेको दाबी पनि गरेका छन् ।

चन्द जस्तै, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार हरिप्रसाद बोहराले पनि देउवाको तस्वीर देखाउँदै मत मागिरहेका छन् । उनी भने विगतदेखि नै देउवा पक्षधर नेता मानिन्छन् । घरदैलो अभियानमा बोहरा देउवाको तस्वीर लिएर हिँडिरहेका छन् । यद्यपि, सोही ब्यानरमा सभापति थापाको समेत तस्वीर राखिएको देखिन्छ ।

बोहराले पनि पार्टीको नेतृत्व गरिसकेका पुराना नेताहरूको सम्मानमा ब्यानरमा उनीहरूको तस्वीर राखेको बताए । ‘मैले सभापति र निवर्तमान सभापतिको मात्र होइन, सबै पूर्वसभापतिको तस्वीर राखेको छु,’ बोहराले भने, ‘उहाँहरूको सम्मानका लागि मात्रै तस्वीर राखिएको हो । अरू केही होइन ।’

पार्टीका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने अहिले पार्टीको कुनै पनि विषयमा टिप्पणी नगर्ने प्रतिक्रिया दिएका छन् । ‘पार्टीमा देखिएको समस्या सैद्धान्तिक नभएर प्राविधिक मात्रै हो,’ बलायरले भने, ‘म अहिले कुनै पनि विषयमा टिप्पणी गर्दिनँ ।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?