८ फागुन, वीरगञ्ज । नेकपा एमाले पर्साका नेता तथा वीरगञ्ज महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका बसरुद्धिन अन्सारीले गगनकुमार थापा नेपाली कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन्।
उनले गगन थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको र त्यसपछि आफू आफ्नो पुरानो घर नेपाली कांग्रेस फर्किएको बताए।
`म कांग्रेस प्रवेश गरेको होइन, पुरानो घर फर्किएको हुँ। अहिले गगन थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको छ, कांग्रेस देशकै नयाँ र ऊर्जाशील दल बनेको छ । त्यस कारण म पुरानो घर फर्किएँ,´ अन्सारीले भने।
उनले जेनजी आन्दोलनपछि सबैभन्दा ठूलो परिवर्तन नेपाली कांग्रेसमा नै भएको पनि दाबी गरे।
`योभन्दा ठूलो परिवर्तन अरू दलमा भएको छैन। मधेश प्रदेशमा कांग्रेसलाई अब कसैले हराउन सक्दैन, विगतमा कांग्रेसीकै कारण कांग्रेस उम्मेदवार हारेका थिए,´ उनले थपे, `तर यस पटक गगन थापा सभापति भएपछि कांग्रेसको अन्तर्घात हटेको छ। कांग्रेसमा परिवर्तन आयो। अहिले सबै कांग्रेसी एकढिक्का भएका छन्। एकढिक्का भएको कांग्रेसलाई हराउन सक्ने क्षमता कसैको छैन।´
उनले आफ्नो गृहजिल्ला पर्सामा क्षेत्र नम्बर १ देखि ४ सम्म नेपाली कांग्रेसको जित सुनिश्चित रहेको पनि दाबी गरे।
अन्सारीले गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि व्यवसायीहरू उत्साहित भएको पनि बताए।
`बल्ल व्यवसायीको कुरा सुन्ने, समस्या सुन्ने, करदेखि भन्सारसम्म सबै बुझ्ने व्यक्तित्व नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएका छन्,´ उनले भने।
अन्सारीले वीरगञ्ज औद्योगिक करिडोर भएकाले व्यवसायीले टिकट पाउनु राम्रो भएको बताए । उनले भने, `वीरगञ्ज नेपालको औद्योगिक करिडोर हो, आर्थिक नगरी र राजधानी पनि हो। यो ठाउँमा एक जना व्यवसायीले कांग्रेसबाट टिकट पाएका छन्। यो भनेको कांग्रेस उद्योग व्यवसाय सुरक्षित बनाउन चाहन्छ, देशमा रोजगारीको अवसर सिर्जना गर्न चाहन्छ भन्ने हो।´
वीरगञ्जको कल्याणका लागि कृष्णप्रसाद भट्टराई चुनाव लड्दा जति वीरञ्जले पायो, आजसम्म त्यति कसैले दिन नसकेको पनि बताए।
`हामीले कांग्रेस बदलिएको अनुभव गरेका छौं। वीरगञ्जको कल्याणका लागि कृष्णप्रसाद भट्टराई चुनाव लड्दा जति वीरगञ्जले पायो, आजसम्म त्यति कसैले दिन सकेको छैन। नेसनल मेडिकल कलेजसमेत त्यसको उपज हो। एउटा मेडिकल कलेजले गर्दा वीरगञ्ज स्वस्थ्य सेवामा कति अगाडि बढ्यो, तर त्यसपछि अहिलेसम्म कुनै एउटा नयाँ संस्था वीरगञ्जमा आएन,´ अन्सारीले भने।
उनले देश विकासका लागि आर्थिक अवस्था बलियो हुनुपर्ने र फाइनान्स आउनका लागि व्यापार चाहिने भन्दै गगनले त्यो विश्वास पूरा गर्न सक्छन् भन्ने अहिले उद्योगी व्यवसायीमा आशा जागेको बताए।
अन्सारी वीरगञ्जका मेडिकल व्यवसायी हुन्।
प्रतिक्रिया 4