सर्लाही–४ अहिले निर्वाचनको केन्द्रमा छ। यहाँ तीनपटकसम्म सांसद जितेका अमरेशकुमार सिंह अहिले चौथो पटक प्रतिस्पर्धामा छन्। उनी कांग्रेसका सभापति गगन थापासँग लड्दै छन्। मतदाताको घरदैलोमा पुगिरहेका रास्वपा उम्मेदवार सिंहसँग सर्लाहीको हरकटवामा अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :
तपाईंले यहाँबाट तीन पटक निर्वाचन जितिसक्नुभयो। दुई पटक त कांग्रेसबाटै निर्वाचित हुनुभयो। अहिले रास्वपामा प्रवेश गरेर किन कांग्रेस सभापतिसँगै प्रतिस्पर्धा गरिरहनुभएको छ?
उहाँ मेरो साथी हो। उहाँलाई मेरो क्षेत्रमा स्वागत छ। मधेशको सभ्यता र संस्कृतिअनुसार घरमा आएको पाहुनालाई खाना पनि खुवाउँछु र गम्छा पनि ओढाउँछु।
अघिल्लो पटक प्रतिस्पर्धा गर्दा तपाईंले ‘मलाई स्वतन्त्र रूपमा जिताउनुहोस्, जितेपछि कांग्रेस नै हुने हो’ भन्नुभएको थियो। त्यतिबेला कांग्रेसमा प्रवेश गर्नुभएन, अहिले रास्वपाबाट प्रतिस्पर्धा गरिरहनुभएको छ। किन?
मिडियाहरूले उहाँलाई जबर्जस्ती सभापति बनाइदिए। नक्कली महाधिवेशन गरेर उहाँ सभापति हुनुभयो। नक्कली महाधिवेशन प्रतिनिधिहरूको भेला गरेर विशेष महाधिवेशन गरियो।
म कांग्रेस थिएँ, तर मिडियाबाट सिर्जित कांग्रेस थिइनँ, जनताबाट सिर्जित थिएँ। अहिलेका सभापतिजी गुलामहरूबाट सिर्जित कांग्रेस बनाउन चाहनुहुन्छ।
म जुन क्षेत्रको प्रतिनिधित्व गर्छु, त्यस क्षेत्रका नागरिकको सम्मानको पनि खोजीमा छु। म सम्मानित जनताको सम्मानित प्रतिनिधि बन्न चाहन्छु। म कसैको गुलाम बन्न चाहन्नँ। उहाँ तीनपटकको सांसद हो त म पनि तीनै पटकको सांसद हुँ।

तपाईं सुरुमा सांसद हुँदा र अहिले, यो क्षेत्रमा के सुधार भयो? बताउन सक्नुहुन्छ?
म यहाँ सांसद हुँदा एक थोपा अलकत्रा थिएन। अहिले जता गए पनि अधिकतम कालोपत्रे सडक बनाएको छु। यहाँका १० वटा खोलानालामा पुल थिएनन्, अहिले मैले पुल बनाउन पहल गरेको छु। जुन बेला सदरमुकाम मलङ्गवामा बैङ्क थिएन, त्यो बेला वाणिज्य बैङ्कको शाखा ल्याएँ।
ट्रान्सफर्मरसमेत नभएको क्षेत्रमा सबस्टेसन बन्न लागेको छ, किनभने यो कृषि उत्पादनको क्षेत्र हो। म सांसद भएकै बेलामा यहाँ दुईवटा चिनी मिल बने।
गगन थापा यहाँ आउने उद्देश्य स्पष्ट छ। यहाँको गिट्टी तस्करीको संरक्षण गर्न आउनुभएको छ। उहाँकै दबाबमा रमेश लेखक गृहमन्त्री हुँदा गिट्टी–क्रसर मापदण्ड फेरियो। क्रसर उद्योगका कारण हुलाकी सडकको पिच टुक्राटुक्रा भएको छ। म उहाँसँग बहस गर्न चाहन्छु, उहाँका सयवटा कमजोरी म बताइदिन्छु।
यो निर्वाचनमा तपाईंका राजनीतिक एजेन्डाहरू के–के छन्?
३० वर्षदेखि देश लुटिएको छ, मुलुक भ्रष्टाचारको दलदलमा छ। त्यसको संरक्षक अहिलेको पार्टी सभापति पनि हो, किनभने उहाँ कार्यदलको सदस्य हुनुहुन्थ्यो। कांग्रेसको महामन्त्रीको नाताले उहाँ एमाले र कांग्रेसको सरकारमा राजनीतिक संयन्त्रको सदस्य हुनुहुन्थ्यो। त्यही सरकारले ७५ जनालाई गोली पनि हानेको छ, तर उहाँ जिम्मा लिनुहुन्न।
त्यतिबेलाको भिजिट भिसा प्रकरणको उहाँ जिम्मा लिनुहुन्न। उहाँकै गृहमन्त्री भएकाले कहिल्यै पनि संसद्मा बोल्नुभएन। उहाँलाई पार्टी सभापतिको पद चाहिएको छ, प्रधानमन्त्रीको पद चाहिएको छ, तर जवाफदेही बन्न खोज्नुहुन्न।

उहाँले मधेशी मूलकी कर्मचारी डा. सङ्गीता मिश्रलाई स्वास्थ्य सचिव बनाउन सक्नुभएन। उहाँले प्रदीप पौडेललाई दबाब दिएर प्रधानमन्त्री केपी ओलीलाई भनेको भए हुन्थ्यो।
उहाँले मधेशको प्रतिनिधित्व घटाउनुभएको छ। यहाँ ८० प्रतिशत मधेशको जनसङ्ख्या छ, तर २५ प्रतिशत मात्रै प्रतिनिधित्व पाएको छ। उहाँको हातबाट हस्ताक्षर गरेर बाँडिएको टिकटमध्ये तीनवटामा मधेशको प्रतिनिधित्व छैन।
जहाँको जनता छ, त्यस क्षेत्रको प्रतिनिधित्व चाहियो कि चाहिएन? उहाँ मसँगै सांसद हुनुहुन्थ्यो, आजसम्म एउटा पनि रेकर्ड छैन। उहाँले एकचोटि मधेशको बारेमा बोल्नुभएको छ? एकचोटि उखु किसानको बारेमा बोल्नुभएको छ? यो क्षेत्रमा उहाँको केही लगानी छ? एउटा भ्रष्टाचारलाई संरक्षण गर्ने लगानी छ। एउटा तस्करलाई बढाउने लगानी छ। उहाँ देशभरका तस्करको संरक्षक हो।
तपाईं संसद्मा बालेनकै कामकारबाहीमाथि प्रश्न गर्नुहुन्थ्यो। अहिले बालेन मधेश झरेर धनुषामा भएको आमसभाबाट नै पार्टी प्रवेश गर्नुभयो। किन?
म निरन्तर रवि लामिछानेसँग सम्पर्कमा थिएँ र जेलमा पनि पटक–पटक भेटेको छु। तपाईंले जेलमा गएर सोध्दा पनि हुन्छ। मैले त बालेन, रवि र कुलमानलाई मिलाउन समन्वयकारी भूमिका पनि खोजेको थिएँ।
कुलमानजीको आरोप थियो कि हामी आधा कार्यकाल प्रधानमन्त्री चाहन्छौँ, त्यसकारण कुरा मिलेन। तर हामी त पाँच वर्षको प्रधानमन्त्री चाहन्थ्यौँ। हामी प्रधानमन्त्रीको पद बाँडफाँट गर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत छैनौँ।
दुई वर्ष प्रचण्डले चलाउने, एक वर्ष ओलीले चलाउने र अर्को वर्ष शेरबहादुरले प्रधानमन्त्री चलाउने अभ्यासले मुलुकमा नोक्सान भएको छ। हामी मुलुकलाई पाँच वर्षको प्रधानमन्त्री दिन चाहन्छौँ, त्यो हो बालेन शाह।
हामी भ्रष्टाचारलाई समाप्त गर्न चाहन्छौँ। देशमा वर्षौँदेखि भ्रष्टाचार छ। सयवटा समस्या छन् भने १०० चोटि भ्रष्टाचार भएको हुन्छ। वडादेखि प्रदेश र केन्द्रमा त्यही समस्या छ। मालपोत, यातायात, प्रहरी कार्यालय र सिंहदरबारमा त्यही छ। सडक र सहरी विकास मन्त्रालयमा त्यही छ। हामी भ्रष्टाचारलाई निर्मूल पार्न खोज्दै छौँ।

हामी राष्ट्रका संस्थाहरू- सर्वोच्च अदालत, संवैधानिक निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय लगायतलाई दलीयकरणबाट मुक्त गर्न चाहन्छौँ। हामी रास्वपाकरण गर्दैनौँ, तर कांग्रेसीकरण वा एमालेकरण भएछ भने त्यसलाई पनि बाँकी राख्दैनौँ। कांग्रेस र एमालेको खल्तीबाट सर्वोच्च अदालतमा न्यायाधीश बन्ने दिन गए। फागुन २१ पछि त्यो अवस्था अन्त्य हुन्छ।
जाँच दिएर त्यसमा पास हुनेहरू मात्रै सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन्। सिपाहीमा भर्ना हुँदा उसले लिखित जाँच दिनुपर्ने, तर सर्वोच्चको न्यायाधीश हुँदा जाँच दिनु नपर्ने? जनताले त हाम्रो पाँच–पाँच वर्षमा जाँच लिन्छन्। कि त उहाँहरू पनि जनताको जाँच पास गरेर जानुपर्यो।
संवैधानिक निकायका प्रमुख र अरू पदाधिकारी एवं विभिन्न विश्वविद्यालयका उपकुलपति बन्न जाँच दिनुपर्छ। हामी नातावाद, कृपावाद पनि गर्दैनौँ, राज्यका निकायहरूलाई दलीयकरण पनि गर्दैनौँ। नेपालका राष्ट्रिय संस्थाहरूलाई दलीयकरणबाट मुक्त गर्छौँ।
अर्को, हामी क्षमता र दक्षतामा आधारित ‘मेरिटोक्रेसी’ लाई बहाल गर्छौँ। यो देशलाई सिङ्गापुर र स्विट्जरल्यान्ड होइन, सुन्दर नेपाल बनाउँछौँ।
नेपाललाई बस्नयोग्य देश बनाउँछौँ ताकि अमेरिकाको मान्छे आएर पनि बसोस्। प्रकृतिले सुन्दरता दिएको छ, तर राजनीतिले बिगारेको देश हो, कर्मचारीले बिगारेको देश हो। बिचौलियाले बिगारेको देश हो।
तपाईं राजनीतिक भविष्यवाणी पनि गर्नुहुन्छ। चुनावपछि रास्वपाको पोजिसन के हुन्छ?
तपाईंलाई अहिले विश्वास गर्न गाह्रो हुन्छ किनकि अहिलेसम्म परम्परागत तरिकाले राजनीति चल्दै आइरहेको थियो। निर्वाचनपछि रास्वपाको १६० सिट हुन्छ, सरकार बनाउन कुनै सहयोगी दलको आवश्यकता पर्दैन। वैशाखी चाहिँदैन।
अहिलेको निर्वाचन प्रणाली एउटै पार्टीको बहुमत आउने खालको छ त?
अरूको १५–२० लाख आउला, रास्वपाको ५० लाखभन्दा बढी समानुपातिकमा भोट आउँछ, अहिलेलाई मेरो कुरा रेकर्डमा राख्नुस्। कम आएको दिन मलाई भन्नुहोला।

यसपालि अलिकति न्यारेटिभ बदलिएको छ। मधेश र पहाडको खाडल पुरिएको छ। मधेशवादी पार्टीको पसल पनि बन्द भइरहेको छ। उहाँहरूले त मधेशको मुद्दाको आडमा आफ्नी श्रीमतीलाई सांसद बनाउनुभयो। अहिले पनि केहीका छोरी उम्मेदवार छन्। श्रीमान् हार्यो भने श्रीमती सांसद बन्ने प्रथा तपाईंले देखेको होइन?
स्वार्थको लागि मधेशी दल कति चोटि टुक्रा भए? एउटा जाबो मन्त्री बन्नलाई के–के गरे? त्यो इतिहास जनतासामु छ। त्यसकारण जनता अलमलमा पर्दैनन्। अब त उनीहरूको एजेन्डा बिक्री पनि भइरहेको छैन। मधेशी दल सबैको डुङ्गा डुबिरहेछ, जहाज डुबिरहेछ।
तपाईंको के अवस्था छ?
रास्वपाबाहेक प्रमुख दलका नेतृत्वमा रहेका नेताहरूलाई गाह्रो भइरहेको छ। मेरो क्षेत्रमा भन्नुस्, म १० हजारभन्दा फरक मतको अन्तरले जित्छु। जितेर तपाईंले फेरि स्टुडियोमा मेरो अन्तर्वार्ता लिनुपर्ला।
अन्तिममा तपाईंका केही कुरा छन्?
पहिलो चोटि प्रधानमन्त्रीको उम्मेदवारले जनतासँग भोट मागिरहेको छ। तपाईं भन्नुहोला, २०५६ सालमा पनि त किसुनजीलाई त्यसरी अघि सारिएको थियो। त्यो त ठगी थियो। कृष्णप्रसाद भट्टराईजी र गिरिजा गुटको ‘प्याचअप’ थियो। त्यतिबेला प्रधानमन्त्री बनाउने राष्ट्रिय एजेन्डा थिएन।
अहिले सिधा बालेन शाहलाई प्रधानमन्त्री बनाउने योजना हो। बच्चा–बच्चालाई थाहा छ, अबको प्रधानमन्त्री को हो भनेर। बच्चाहरू समेत ‘बालेन बालेन’ भन्छन्। घन्टीछाप र बालेनबाहेक अरू थाहा छैन। यसपालि बाकस खुलेपछि थाहा हुन्छ।
यसपालि हामीसँग जेन–जी विद्रोहको तागत छ। घन्टीजस्तै लोकप्रिय चिह्न पनि छ। बालेन शाह र रवि लामिछाने जस्ता नेता पनि छन्। यसपालि पहाड र मधेशीको खाडल पुरियो।
तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4