९ फागुन, मुस्ताङ । चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको संख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको हो ।
मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । उनका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हो ।
मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थालेपछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताए । फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उनले बताए ।
मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लाईनवद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिए । उनका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वाश रहिआएको छ ।
मन्दिरसम्म पुग्ने धार्मिक पर्यटक तथा दर्शनार्थीको सुविधाका लागि पर्याप्त भक्तजनमैत्री पूर्वाधार नहुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । मन्दिरको मुख्य प्रवेशद्वार ‘सिङ्गललेन’को भएकाले भक्तजनलाई भीडभाडमा पैदलयात्रा गर्न समस्या हुने गरेको समितिका व्यवस्थापक भुसालले उल्लेख गरे ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले दर्शनार्थीको सुविधाका लागि समितिले आठ वटा योजना अघि बढाउन पुरातत्व विभागसँग स्वीकृतिका लागि प्रस्ताव पठाइसकेको जानकारी दिए । –रासस
प्रतिक्रिया 4