+
+
Shares

धादिङ १ : अनुभवी उम्मेदवारबीच आशिकाको इन्ट्रीले रोचक बन्यो प्रतिस्पर्धा

धादिङ–१ मा यसपटकको निर्वाचन केवल दलहरूबीचको प्रतिस्पर्धामात्र नभएर पुरानो राजनीतिक पकड र नयाँ आशा–अपेक्षाबीचको टक्करका रूपमा विकसित हुँदै गएको छ ।

मनिष दुवाडी मनिष दुवाडी
२०८२ फागुन १० गते १०:५२

१० फागुन, धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ लामो समयदेखि वामपन्थी प्रभावको आधारभूमि मानिँदै आएको छ । विगतका प्रतिनिधिसभा निर्वाचनहरूमा यहाँ कम्युनिष्ट पार्टीसम्बद्ध उम्मेदवारहरू निरन्तर विजय हासिल गर्दै आएका छन् । वामपन्थीले पकड बलियो बनाएको ठाउँमा यसपटक नेपाली कांग्रेस र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सशक्त ढंगले चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

सांगठनिक शसक्त सञ्जाल र स्थानीय तहसम्मको संरचनागत पहुँचले कम्युनिष्ट शक्तिलाई यहाँ मजबुत बनाएको विश्लेषण गरिँदै आएको छ । २०४८ सालदेखिको निर्वाचनमा धादिङ–१ मा कम्युनिष्ट बाहेकका उम्मेदवारहरूले विजय हासिल गर्न सकेका छैनन् ।

तत्कालीन क्षेत्र नं. ३ को रुपमा परिचित यस क्षेत्रमा २०४८, ०५१, ०५६, ०७० र ०७९ मा हालको नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विजयीको झण्डा फहराइसकेका छन् । यस्तै २०६४ मा तत्कालिन नेकपा माओवादीका नेता शालिकराम जम्कटेल विजयी हुँदा २०७४ मा नेकपा एमालेका नेता भूमि त्रिपाठी निर्वाचित भएका थिए ।

२०७९ मा भएको पछिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले तत्कालीन सत्ता गठबन्धनको बलमा एमालेका उम्मेदवार भूमि त्रिपाठीलाई पराजित गरेका थिए । पाण्डे ३६ हजार १८ मतसहित निर्वाचित हुँदा त्रिपाठीले २७ हजार ९९७ मत पाएका थिए । यद्यपि, पाण्डेको आफ्नै पार्टी एकीकृत समाजवादीले तत्कालीन समयमा समानुपातिकतर्फ छ हजार ३५ मतमात्रै पाएको थियो ।

तर, यसपटकको चुनावी समीकरण भने फरक देखिन्छ । यस क्षेत्रको प्रमुख प्रतिपक्षी शक्ति कांग्रेसले परम्परागत अनुहारभन्दा बाहिर गएर एक युवा नेतृत्वलाई उम्मेदवारका रूपमा अघि सारेको छ । पुस्तान्तरणको बहस, विकास–सुशासनको एजेन्डा र नयाँ शैलीको राजनीतिक प्रस्तुतिले कांग्रेसले मतदाताको मनोविज्ञान बदल्ने प्रयास गरेको संकेत मिल्छ ।

विगतका निर्वाचनमा आफ्नै उम्मेदवार नभएर पार्टीको चुनाव चिह्नमा मतदान गर्न नपाएका कांग्रेस मतदाताको मनोबल सभापति गगन थापा निकट मानिएका र उनीसँगै विद्यार्थी राजनीति गरेका युवा नेता कृष्ण रिजालको उम्मेदवारीले बढाएको छ ।

धादिङ–१ मा वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाको प्रवेशले पनि प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । धादिङ–१ मा यसपटकको निर्वाचन केवल दलहरूबीचको प्रतिस्पर्धामात्र नभएर पुरानो राजनीतिक पकड र नयाँ आशा–अपेक्षाबीचको टक्करका रूपमा विकसित हुँदै गएको छ ।

विगतको समानुपातिक मत

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले २४ हजार ८१३ मत पाएको थियो । १६ हजार ५६७ मत पाएर दोस्रो स्थानमा कांग्रेस रहँदा तेस्रो भएको तत्कालीन नेकपा माओवादी केन्द्रले १५ हजार ७९४ मत पाएको थियो । प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार जिताउन सफल एकीकृत समाजवादीसले ६ हजार ३५ मतमात्रै ल्याउँदा रास्वपाले १० हजार १२७ मत पाएको थियो ।

५३ वटा वडा रहेको यस क्षेत्रमा २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीले तीन वटा वडामा, एमालेले १३ वटा वडामा, कांग्रेसले १४ वटा वडामा र तत्कालीन माओवादी केन्द्रले २२ वटा वडामा विजय हासिल गरेको थियो । कांग्रेस निकट एक जना स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एक लाख ३२ हजार ३५४ मतदाता रहेको धादिङ–१ मा ६१ प्रतिशत मत अर्थात ८० हजार ६१५ मत खसेको थियो । अहिले ६ हजार २४० मतदाता थपिएर यहाँ मतदाताको संख्या एक लाख ३८ हजार ५९४ पुगेको छ ।

दलहरूको दाउ

धादिङ–१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका नेता राजेन्द्र पाण्डे संसदीय अनुभवलाई प्रयोग गर्दै र आफ्ना विगतका कामको प्र्रचार गर्दै मत मागिरहेका छन् । २०६४ मा आमनेसामने भएर एकआपसमा झगडामै उत्रिएका तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता शालिकराम जम्कटेलको बलियो साथले राजेन्द्र पाण्डेलाई थप बल पुगेको छ । यस पटक जम्कटेल पाण्डेको चुनावी अभियानका सहयात्रीसमेत बनेका छन् ।

एमालेका भूमि त्रिपाठीलाई भने पाण्डेसँग २०७९ सालमा व्यहोर्नु परेको हारको पीडा बिर्साउने अवसर छ । आफ्नै ‘राजनीतिक गुरु’ पाण्डेलाई पराजित गर्ने लक्ष्यमा छन् उनी । यद्यपि, वडा तहसम्म पुगेको एमालेको बलियो संगठन संरचनालाई एमालेले जितको आधार मानेको छ । विगतको संसदीय अनुभव र जिल्लाको भूगोलसँगको गहिरो साक्षात्कारका कारण आसन्न निर्वाचनमा त्रिपाठीलाई एमालेको बलियो खम्बाको रूपमा हेरिएको छ ।

कांग्रेस पनि विगतदेखिको कम्युनिष्ट गढलाई भत्काउने उद्घोषका साथ निर्वाचनमा होमिएको छ । विगतका निर्वाचनमा दुई पक्षबीचको भिडन्त रहने यस क्षेत्रमा रास्वपाको ‘ईन्ट्री’ भएसंगै रास्वपाले कम्युनिष्टको मत काट्ने र आफ्नो मत जोगाएर निर्वाचन जित्ने दाउमा कांग्रेस केन्द्रित छ ।

कांग्रेसबाट उम्मेदवार रहेका कृष्ण रिजाल पहिलो पटक प्रतिनिधि सभाको प्रत्याशी बनेका हुन् । तर, चुनावी व्यवस्थापनमा उनी अनुभवी मानिन्छन् । २०७० पछिका सबै स्थानीय र संसदीय निर्वाचनहरूमा उनले पार्टीको तर्फबाट धादिङमा निर्वाचन परिचालनको मुख्य जिम्मेवारी निर्वाह गरिसकेका छन् । संगठनभित्रको आन्तरिक व्यवस्थापन र विपक्षीसँगको राजनीतिक रणनीतिकार मानिएका रिजालले चुनाव जित्ने कांग्रेसको दावी छ ।

आशिकाको इन्ट्रीले थप रोचक बन्यो प्रतिस्पर्धा

यता रास्वपा भने देशव्यापी उर्लिएको जनलहरको बलमा ‘सामाजिक अभियन्ता’को अनुहार देखाएर मत मागिरहेको छ ।

जनतामा देखिएको पुराना दलहरुप्रतिको वितृष्णालाई देखाउँदै मतदाता आफूतर्फ आकर्षिक गरिरहेको रास्वपाले यस क्षेत्रमा आफ्ना उम्मेदवार आशिका तामाङलाई चुनाव जिताउन निकै बल गरिरहेको देखिन्छ । धादिङमा आशिकाले रास्वपा बरिष्ठ नेता बालेन शाहसँग एउटै गाडीमा चढेर मत माग्दै आफ्नो सामर्थ्य देखाउने प्रयास गरेकी थिइन् ।

विगतको निर्वाचनहरूमा एकछत्र राज गरिरहेका कम्युनिष्टहरु दुईतिर बाँडिएको बेला कांग्रेसको आफ्नै युवा उम्मेदवार र रास्वपाकी भाइरल उम्मेदवार आशिकाको ‘इन्ट्री’ ले धादिङ–१ मा अहिले चार पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्राय: छ ।

लेखक
मनिष दुवाडी

दुवाडी धादिङमा कार्यरत पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?