News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बई उच्च अदालतले बलिउड अभिनेता शत्रुघ्न सिन्हाको चर्चित संवाद 'खामोश' उनको व्यक्तित्वसँग विशेष रूपमा जोडिएको ठहर गरेको छ।
- अदालतले सिन्हाको अनुमति बिना उनको नाम, तस्वीर र संवाद प्रयोग गरी अनलाइन सामग्री बनाउन प्रतिबन्ध लगाएको छ।
- सिन्हाले दायर गरेको निवेदनमा अदालतले सबै वेबसाइट र सामाजिक सञ्जाललाई यस्ता सामग्री हटाउन र भविष्यमा अपलोड नगर्न निर्देशन दिएको छ।
दशकौँपछि पनि प्रशंसकको मनपर्ने बनेको आफ्नो चर्चित संवाद ‘खामोश’ का कारण परिचित बलिउड अभिनेता शत्रुघ्न सिन्हाले व्यक्तित्व अधिकारको मुद्दामा राहत पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुम्बई उच्च अदालतले उक्त ‘खामोश’ संवाद सिन्हाको व्यक्तित्वसँग ‘विशेष रूपमा जोडिएको’ ठहर गरेको छ ।
अदालतले उनको अनुमति बिना उनको नाम, तस्वीर वा अन्य व्यक्तिगत पहिचान प्रयोग गरेर अनलाइन सामग्री बनाउन पनि प्रतिबन्ध लगाएको छ ।
उच्च अदालतले भनेको छ, ‘वादी (सिन्हा) ले आफ्नो एक फिल्ममा विशिष्ट र फरक शैलीमा प्रस्तुत गरेको ‘खामोश’ भन्ने अभिव्यक्ति उनको व्यक्तित्वसँग मात्र सम्बन्धित रहेको कुरा थप पुष्टि गर्नुपर्ने आवश्यकता नै छैन ।’
सिन्हाले दायर गरेको निवेदनमा अन्तरिम आदेश दिँदै न्यायाधीश शर्मिला देशमुखले फेब्रुअरी १६ मा सबै वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्मलाई यस्ता सामग्री तुरुन्त हटाउन निर्देशन दिएकी थिइन् । साथै भविष्यमा पनि बिना अनुमति यस्ता सामग्री अपलोड गर्न रोक लगाइएको छ । आदेशको विस्तृत प्रति भने शनिबार (फेब्रुअरी २१) सार्वजनिक भएको हो ।
अधिवक्ता हिरन कामोदमार्फत दायर गरिएको निवेदनमा वरिष्ठ अभिनेताको व्यक्तित्व अधिकार संरक्षण र उनको नाम, तस्वीर तथा ‘खामोश’ जस्तो चर्चित संवादसहित अन्य व्यक्तिगत पहिचान बिना अनुमति प्रयोग नगर्न स्थायी आदेश माग गरिएको थियो ।
अदालतले आफ्नो आदेशमा अभिनेता सिन्हाको संवाद प्रस्तुत गर्ने शैली नै विशेष रहेको र पर्दामा ‘खामोश’ भन्ने उनको अनौठो तरिका विशेष रूपमा चिनिने उल्लेख गरेको छ ।
अदालतले आदेशमा अघि भनेको छ- प्रारम्भिक दृष्टिमा सिन्हाको नाम, स्वरूप, तस्वीर, व्यक्तित्व आदि संरक्षण योग्य देखिन्छन् । किनकि उनको नाम र तस्वीर दुरुपयोग भएको सम्बन्धमा उनले पेश गरेका सामग्रीले व्यक्तित्व अधिकार, सार्वजनिक अधिकार उल्लङ्घन र गोपनीयतामाथि अतिक्रमण भएको संकेत गर्छ ।’
यस्ता सबै अनलाइन सामग्री हटाउन आदेश दिँदै अदालतले सिन्हाको निवेदनको थप सुनुवाइका लागि मार्च ३० को मिति तोकेको छ ।
आदेशमा डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत व्यावसायिक लाभका लागि, विशेषगरी चर्चित व्यक्तिको हकमा, व्यक्तित्व अधिकारको अनधिकृत प्रयोग बढ्दै जाँदा यसको अवधारणाले झन् महत्व पाउँदै गएको पनि उल्लेख गरिएको छ ।
अदालतले टिप्पणी गर्दै भनेको छ, ‘व्यक्तित्व अधिकारमा आफ्नै नाम, शैली, आवाज, व्यक्तित्व आदिको विशेष प्रयोग गर्ने अधिकार समेटिन्छ । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै डिजिटल माध्यममा डिजिटल नक्कली सामग्री (फोर्जरी) बढ्दै गएकाले व्यक्तित्व अधिकार उल्लङ्घनका घटना पनि देखिएका छन् ।’
प्रतिक्रिया 4