१२ फागुन, सुनसरी । सुनसरी क्षेत्र नं. १ का मतदाताले यसपटकको निर्वाचनमा कसलाई सांसद बनाएर संसद् भवन पठाउने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । तर प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवारहरू भने आ-आफ्नो जित सुनिश्चित हुने दाबी गर्दै घरदैलो अभियानमा व्यस्त छन्। सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ जना मतदाता छन्।
२०४८ सालदेखि लगातार नेकपा एमालेले जित्दै आएको यो क्षेत्र २०६४ र २०७९ सालमा भने अपवाद बनेको थियो । २०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका किरण राई विजयी भएका थिए भने २०७९ सालमा एमालेकै समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई निर्वाचित भएका थिए । यसपटक भने एमालेको परम्परागत प्रभाव क्षेत्र मानिएको सुनसरी–१ मा श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीले पनि कडा प्रतिस्पर्धा प्रस्तुत गरिरहेका छन्।
एमालेका उम्मेदवार टीकाराम लिम्बूले यस क्षेत्रमा सबैभन्दा बढी सक्रिय सदस्य एमालेकै रहेको दाबी गर्दै ती सबै चुनावी अभियानमा सक्रिय भई मतदान गरे आफू विजयी हुने दाबी गर्दै आएका छन् । उनले पाँच वर्ष सांसद बनेर मुलुक र जनताको हितमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, ‘धरान, पाचकन्या, विष्णुपादुका र बराहक्षेत्रदेखि मधुवनसम्मका मतदाताले मलाई जिताउने छन्। मतदाताले जिताएवापत कोशी बाढीबाट विस्थापित ८ हजार घरधुरीको समस्या समाधान गर्न ठोस कानुन र नीति बनाउन पहल गर्नेछु। नेपालको संविधान र कानुन अध्ययन गरेर नै मैले उच्च शिक्षा हासिल गरेको हुँ। कोशी पीडितलाई कसरी न्याय दिन सकिन्छ भन्ने विषयमा नीति निर्माणका लागि पहल गर्नेछु।’

नेपाल–भारतबीच कोशी सम्झौतापछि भिमनगरमा निर्माण गरिएको कोशी ब्यारेजका कारण २०२२ सालदेखि २०४२ सालसम्म आएको बाढीले पूर्वी तटको सुनसरी र पश्चिमी तटको सप्तरीका करिब ५० हजार जनसंख्या विस्थापित भए पनि हालसम्म स्थायी समाधान हुन सकेको छैन।
लिम्बूले स्थानीय विकास निर्माणका एजेन्डा प्रदेश र स्थानीय सरकारअन्तर्गत पर्ने भए पनि संघीय तहमा पुगेपछि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, उद्योग–व्यवसाय तथा प्रशासनिक क्षेत्रमा रहेका नीतिगत र कानुनी जटिलतालाई सरल र जनमैत्री बनाउने कानुन निर्माणमा पहल गर्ने बताए।
उनले ०५४ सालदेखि धरानमा जनसहभागितामार्फत विकास निर्माण सुरु भएको उल्लेख गर्दै खानेपानीको दीर्घकालीन समाधानका लागि रानी–किमाथाङ्का सडक विस्तारसँगै तमोरबाट सुरुङमार्गमार्फत पानी ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

श्रम संस्कृति पार्टीका उम्मेदवार तथा अध्यक्ष हर्कराज साम्पाङ राईले आफू मेयर भएपछि श्रमदान अभियानमार्फत ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट धरानमा खानेपानी ल्याएको दाबी गर्दै यसै आधारमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । उनले आफू बाहेक अन्य उम्मेदवारले जित्न नसक्ने दाबी गरेका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष र ‘पोस्टर अनुहार’ समेत रहेका राई अन्य क्षेत्रमा उठेका उम्मेदवारका लागि समेत भोट माग्न सक्रिय छन् । उनले धरानबाट सुरु भएको श्रम अभियान श्रमदानकै बलमा देश निर्माण गर्ने अभियान भएको बताए।
उनले भने, ‘विदेशीको पाउमा झुकेर ऋण लिएर देश बन्दैन। काम र श्रमले मात्र देश बन्छ। विदेशी ऋणबाट देश बन्छ भन्नु पुरातन र परनिर्भर सोच हो। वैचारिक विद्रोहका रूपमा आएको श्रम संस्कृति पार्टीप्रति मतदाताको आकर्षण अत्यधिक भएकाले जित सुनिश्चित छ।’
राईले श्रम संस्कृति पार्टीको सरकारले किसान र मजदुरको अभिलेख तयार गरी उनीहरूको हितमा नीति तथा कार्यक्रम ल्याउने बताए। देश निर्माण र विकासको स्पष्ट ‘भिजन’ आफूहरूसँग मात्र रहेको दाबी गर्दै उनले सुनसरी–१ मा आफूलाई र अन्य क्षेत्रमा आफ्ना उम्मेदवारलाई बहुमतले जिताएर सरकार गठन गर्ने दाबी गरे।
२०७९ सालको निर्वाचनमा एमाले समर्थित अशोक राईसँग झिनो मतान्तरले पराजित भएकी रास्वपाकी उम्मेदवार गोमा तामाङ (सरिन) यसपटक सुनसरी–१ बाट विजयी भई संघीय संसदमा पहिलो महिला समलिङ्गी सांसद बन्ने लक्ष्यका साथ चुनावी मैदानमा छिन्।

घरदैलो अभियानमा उनले ठूला बाचा नगरे पनि शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने नीति तथा कानुन तर्जुमा गर्न पहल गर्ने बताएकी छन्। उनले निर्वाचनपछि रास्वपाको बहुमतको सरकार बन्ने दाबी गर्दै मत खेर जान नदिन मतदातालाई आफूलाई मतदान गर्न आग्रह गरेकी छन्।
उनले भनिन्, ‘६/६ महिनामा सरकार फेरिइरहने विकृति अन्त्य गर्न रास्वपाले बहुमतको सरकार बनाउँदैछ। चुनाव चिह्न घण्टी मन नपरे पनि, मेरो गेटअप मन नपरे पनि मतदान गर्दा उम्मेदवार जित्छ कि जित्दैन भन्ने कुरा विचार गर्नुस्।’
२०७९ सालको निर्वाचनमा १६ हजार ६०६ मत प्राप्त गरेकी तामाङले यसपटक त्यसभन्दा बढी मत ल्याएर विजयी हुने दाबी गरेकी छन्। उनले पाँच वर्ष निरन्तर मेहनत गरेर जनताको आवाज संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, ‘जनताको विकासको पुल बन्छु, आवश्यकताहरू सम्बन्धित निकायसम्म पुर्याउने र आफूले गरेका प्रतिबद्धता पूरा गर्नेछु।’
नेपाली कम्युनिस् पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) ले श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङ राईको ‘अराजकता’ परास्त गर्न आफूले सुनसरी–१ बाट जित्नै पर्ने बताएका छन्।

उनले भने, ‘कांग्रेस, एमाले, रास्वपा, राप्रपा जुनसुकै पार्टीका मतदाता भए पनि समानुपातिकमा आफ्नै पार्टीलाई भोट दिनुस्, तर प्रत्यक्षमा मलाई भोट दिनुहोस्।’
भट्टराईले एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारलाई आफ्नो मुख्य प्रतिस्पर्धी नमानेको बताउँदै हर्कराज साम्पाङलाई पराजित गरेर संसद पुग्ने दाबी गरे।
धरान–१७ का वडाध्यक्ष रहँदा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उनी र हर्कराजबीच पटक–पटक विवाद हुने गरेको थियो। हर्कराजले पार्टी स्थापना गरी उम्मेदवारी दिएपछि भट्टराईले पनि वडाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन्।
उनले भने, ‘न्याय, सत्य, विकास र अग्रगमनको नेतृत्व मैले गरेको छु भने अराजकता, अपारदर्शिता र विभाजनको नेतृत्व हर्कराज साम्पाङले गरेका छन्। त्यसैले मतदाताले मलाई रोज्नेछन् ।’ उनले हर्कराजले गोर्खा भूपू लाहुरे समुदायलाई उचालेर प्रयोग गरेको आरोपसमेत लगाए।
कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ यतिबेला बराहक्षेत्रका गाउँ–इलाकामा घरदैलो अभियानमा व्यस्त छन्। उनले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सडक पूर्वाधार र सिँचाइ व्यवस्थापनका एजेन्डा अघि सार्दै मतदाता भेटघाट गरिरहेका छन्।

उनले भने, ‘पहिलेका चुनावमा कांग्रेसले एमालेसँग मात्र प्रतिस्पर्धा गर्थ्यो। अहिले अन्य दल पनि मैदानमा उत्रिएकाले सुनसरी–१ बाट जित निकाल्न मलाई सहज भएको छ।’
धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका अधुरा योजना अन्य दलको सरकारले प्राथमिकतामा नराखेको दाबी गर्दै उनले कांग्रेसले ती योजना पूरा गर्ने बताए। अघिल्ला संसदीय चुनावमा कांग्रेसका प्रतिनिधि नजितेकाले जनताको सेवा गर्ने अवसर नपाएको उल्लेख गर्दै यसपटक आफूलाई जिताएर संसद पठाउने विश्वास व्यक्त गरे।
उज्यालो नेपाल पार्टीका उम्मेदवार डम्बर लावती (जेन्टल) ले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आफू ‘नयाँ विकल्प’का रूपमा प्रस्तुत भएको बताएका छन्।

उनले भने, ‘प्रायः दल र उम्मेदवार यस क्षेत्रमा ‘टेस्टेड’ भइसकेका छन्। त्यसैले मतदाताले मलाई जिताउनेछन्।’
धरानको खानेपानी समस्या समाधानका लागि बहुआयामिक विकास अवधारणाअनुसार धरान–लेउती सुरुङमार्ग निर्माणमा पहल गर्ने उनले बताए। सर्दु जलाधारका नाममा रोक्का गरिएका जग्गा फुकुवा, ६ लेन सडकका कारण रोक्का भएका घरजग्गा, सुकुम्बासी तथा सहकारी समस्याको समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले धरानलाई व्यापारिक ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने, बीपी प्रतिष्ठानलाई प्रभावकारी र सुलभ बनाउने, धरानलाई शैक्षिक हबका रूपमा स्थापित गर्ने तथा पर्यटन, प्रविधि र खेलकुद क्षेत्रमा सुधार गर्ने योजना सुनाए। अन्य उम्मेदवारले चर्चा नगरेको धरानभित्र डोमेस्टिक एयरपोर्ट निर्माणको एजेन्डासमेत अघि सारेको उनले बताए।
यसरी सुनसरी–१ मा प्रमुख दल तथा नयाँ शक्तिका उम्मेदवारहरू आ-आफ्नो एजेन्डा र दाबीका साथ घरदैलोमा सक्रिय देखिएका छन् । अन्ततः मतदाताको मतले नै कसको दाबी सत्य सावित हुन्छ भन्ने निर्णय गर्नेछ।
प्रतिक्रिया 4