+
+
Shares

नर्थ क्यारोलाइना : अमेरिकाको ‘मिनी नेपाल’

झण्डै १५० नेपाली डाक्टर यहाँका हस्पिटलमा सेवा प्रदान गर्ने अनुमान गरिन्छ । कतिपयमा आफ्नै क्लिनिक समेत छन् । नेपालीले नेपालीलाई छानेर आफ्नो डाक्टर बनाउन सक्छन् ।

ऋषिराम कट्टेल ऋषिराम कट्टेल
२०८२ फागुन १३ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नर्थ क्यारोलाइनामा हाल ३० हजारभन्दा बढी नेपाली बसोबास गर्दैछन् र यो राज्य अमेरिकामा सबैभन्दा छिटो विकास हुँदै गरेको छ।
  • यो राज्यमा राम्रो मौसम, उत्कृष्ट शैक्षिक संस्था र तुलनात्मक रूपमा सस्तो घरले नेपालीहरूलाई आकर्षित गरेको छ।
  • नेपालीहरूले यहाँ घरजग्गा, व्यवसाय, स्वास्थ्य सेवा र सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रूपमा संलग्नता जनाइरहेका छन्।

४४ वर्षअघि अमेरिकामा पढ्नका लागि आएका थिए, ईश्वर देवकोटा । त्यसबेला अमेरिका बिरानो थियो । ‘नेपाली बोल्ने एउटै मान्छे पाए पनि देउता भेटेजस्तो लाग्थ्यो’ वरिष्ठ इन्जिनियर देवकोटा सम्झन्छन्, ‘ढाका टोपी लगाएको कोही देख्नु कम्ता खुसीको कुरा थिएन ?’

त्यसताका नेपालीहरू फाट्टफुट्ट मात्रै पुगेका थिए । उनी पढ्ने विश्वविद्यालयमा एकै जना नेपाली थिएनन् । उनलाई अत्यास लाग्थ्यो । सन् १९८१ मा नर्थ क्यारोलाइनाको रालेस्थित एनसी स्टेट युर्निभर्सिटीमा सिभिल इन्जिनियरिङ पढ्न आएका बेला एकाध नेपाली परिवार भेटिन्थे । तर पनि भेट्न वा भलाकुसारी गर्न सम्भव हुँदैनथ्यो, मोबाइल थिएन, जिपीएस थिएन । फलानो नेपाली कहाँ छ भनेर म्याप हातामा बोकेर खोज्दै हिड्नुपर्थ्यो।

तर, अहिले यहाँको माहोल देखेर उनी चकित हुन्छन् । यस्तो लाग्छ– यो नै सानो नेपाल हो ।

‘१९९८ मा केरीमा घर किनेर बस्दा जम्मा २ जना नेपालीका घर थिए’ ईश्वर संझिन्छन् । तर समयसँगै नेपालीहरूको उपस्थितिले छलाङ मारेको छ । नर्थ क्यारोलाइना पछिल्ला ५÷६ वर्ष यता नेपालीको एउटा ठूलो हव जस्तै बनेको छ ।’

अमेरिकाका अन्य राज्यमा रहेका रहेका नेपालीहरू सरेर यहाँ आउने क्रम ह्वात्तै बढेको छ । ३३ वर्ष नर्थ क्यारोलाइनाको हाइपइन्टमा विताएका विराटनगरका माधव ढकाल भन्छन्, ‘अहिले त यहाँ वर्षेनी ५÷६ हजार थपिएको देखिन्छ, अरू राज्यबाट सरेर आउनेको संख्या अत्याधिक छ ।’

किन बन्यो यो नेपालीको गन्तव्य ?

नर्थ क्यारोलिनाका गर्भनर जस स्टाइनका अनुसार गत वर्ष मात्र १ लाख ५० हजार यो राज्यमा आए । उनी भन्छन्, ‘नयाँ बासिन्दालाई उत्तर क्यारोलाइनालाई आफ्नो घर भन्न पाउँदा अवश्य पनि गर्व र खुसी लाग्नेछ ।’ उनका अनुसार नर्थ क्यारोलाइना देशकै तेस्रो सबैभन्दा छिटो विकास हुँदै गएको राज्य हो, र यहाँ बस्न, काम गर्न, मनोरञ्जन गर्न तथा परिवार हुर्काउनका लागि यो उत्कृष्ट स्थान हो ।’

तथांकअनुसार अमेरिकामा टेक्सास, फ्लोरिडापछि धेरै बसाइँ सरेर आउने राज्यमा नर्थ क्योलोरिना नै हो । राम्रो मौसम, उत्कृष्ट रेटिङका स्कुल, कहलिएका युर्निभर्सिटी, रोजगारी, सुरक्षित र तुलनात्मक रूपमा सस्तो घरको कारण अमेरिकन नेपालीको पनि आकर्षण बढदो छ ।

मुख्यतः मौसम, स्कुल र रोजगारीले धेरै तिरका नेपालीलाई पनि तानिरहेको नर्थ क्यारोलाइनाका नेपालीहरूको संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना(एनसीएनसी) पूर्व अध्यक्ष रविन कार्की बताउँछन् । ‘अमेरिकाको पूर्वतिरका राज्यहरू मध्ये नर्थ क्यालोराइनमा मौसम राम्रो छ’ उनी भन्छन्, ‘यहाँ उत्तरी राज्यको जस्तो धेरै जाडो पनि छैन फ्लोरिडा, टेक्सास, एरिजोना जस्तो धेरै गर्मी पनि हुँदैन । अमेरिकाका सबै जसो उत्तरी राज्यमा हिँउको कारण घर ३÷४ महिना जनजीवन कष्टकर हुने गर्छ ।

नर्थ क्यारोलाइनाको राजधानी राले, ग्रिन्सवोरो, हाइपइन्ट, सार्लोट क्षेत्रमा खासै हिउँ नपर्ने भएकाले पनि यहाँ सरेर आउनेको संख्या बढ्दो छ । न्यूजर्सीबाट नर्थ क्यारोलाइनाको फिक्वे भरिना सरेका ङिमा पाख्रिनका अनुसार न्यूजर्सीमा ४-५ महिना हिउँका कारणजीवन निकै कष्टकर हुन्थ्यो । नर्थ क्यारोलिनाको मौसम काठमाडौंको जस्तै लाग्छ उनलाई।

‘मौसमका हिसाबले नेपालीका लागि पूर्वी अमेरिकाको एउटा उत्कष्ट ठाँउ रहेछ’ पाख्रिन भन्छन्, ‘यो थाह पाउने धेरै सरिरहेका छन् ।’ उनका अनुसार क्यालिफोर्निया, बोष्टन, न्यूयोर्क, मिन्नेसोटा, भर्जिनिया न्यूजर्सी, भर्जिनियाको तुलनामा घर किन्न, भाडामा बस्न धेरै महंगो छैन । सम्पति कर पनि तुलनात्मक रूपमा कम छ ।

स्कुल, युर्निभर्सिटी उत्कृष्ट छन् । यसमा केरी, मोरिसभिल, एपेक्स, होलि स्प्रिङ जस्ता शहर कहलिएका छन् । स्कुलका रेटिङ उत्कृष्ट छन् । त्यसो त राले, डुरममा रहेका ड्युक युर्निभर्सिटी, एनसी स्टेट युर्निभर्सिटी, युर्निभर्सिटी अफ नर्थ क्यारोलाइना एट चापलहिल जस्ता कहलिएका विश्वविधालय भएका कारण धेरै नेपाली विधार्थीको गतिलो गन्तव्य
यो बन्दै आएको छ ।

DCIM101MEDIADJI_0151.JPG

सार्लोटमा रहेको युएनसी सार्लोट अर्को आकर्षणको केन्द्र हो । अमेरिकामा उत्कृष्ट विश्वविधालय भएको राज्य मध्ये नर्थ क्यारोलाइना पनि एक हो । देशकै ड्युक, युएनसी जस्ता उत्कृष्ट हष्पिटल भएकाले यो राज्यको स्वास्थ्य सेवा अब्बल छ ।

यो राले डुरम क्षेत्रमा रहेको रिसर्च ट्रयाङगल पार्क (आरटीपी)को कारण पनि धेरै रालेमा नेपालीको आकर्षण देखिन्छ । आरटीपी ‘एरिया’ पनि भनिने रिसर्च ट्रयाङ्गललाई पूर्वको दोस्रो सिलिकन भ्याली पनि भनेर भन्ने गरिन्छ । यहाँ एकै ठाउमा ३७५ भन्दाबढी अनुसन्धान तथा धेरै उच्च प्रविधि कम्पनीहरू छन् । जहाँ ६० हजार हाराहारीले काम गर्छन्।

यो क्षेत्र पनि अमेरिकाको पूर्वी क्षेत्रकै आइटीको एउटा केन्द्र हो । टेक, बायो टेक र हेल्थकेयरमा प्रसिद्ध आरटीपीमा ठूलो संख्याका नेपाली काम गर्छन् । त्यसो त सार्लोट न्युयोर्क पछि सवै भन्दा ठूलो बैंकिङ हव हो अमेरिकाको । यो बैंक अफ अमेरिका, ट्रुइष्ट फाइनान्सियलको मुख्यालय हो भने वेल्स फार्गो बैकको दोस्रो मुख्यालय हो । यहाँ धेरै नेपाली काम गर्छन् । त्यसो त राले पनि फष्ट सिटिजन बैंकको मुख्यालय हो ।

युसन्युजडटकमका अनुसार अमेरिकामा बस्न लायकको २५० शहरमा नर्थ क्यारोलाइनाको केरी शहर पाँचौ नम्बरमा र एपेक्स शहर सातौं नम्बरमा परेको छ ।एउटै राज्यमा पहाडी श्रृंखला र समुन्द्री तट दुवैको अनुभव गर्न सकिन्छ २÷३ घण्टाको सवारीयात्रामा ।

कति छन् नेपाली ?

ठ्याक्कै यति छन् भन्ने आधिकारिक तथांक नभएपनि एनसीएनसीका पूर्वअध्यक्ष रविन कार्कीका अनुसार अहिले नर्थ क्यारोलाइनामा ३० हजार भन्दा बढीको संख्यामा नेपाली रहेका छन्। सबै भन्दा धेरै जनसंख्या राजधानी रालेमा रहेको छ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष मोरिसभिल निवासी डा.केशव पौडेलका अनुसार १८ देखि २० हजार हाराहारी नेपाली रालेमा रहेका छन् ।

नर्थ क्यारोलिनाका चल्तीका रियल्टर जीतमानका अनुसार अमेरिकामा संम्वत सबैभन्दा धेरै नेपाली सरिरहेको÷आइरहेको राज्य नर्थ क्यारोलिना नै हो । एनसीएनसी अध्यक्ष ददिन पाण्डेका अनुसार संस्थामा १४०० नेपाली आबद्ध छन् । २०१८ पछि नेपालीहरू यहाँ सर्ने लहर नै चलेको उनी सुनाउँछन् ।

रालेपछि सार्लोट शहरमा १० हजार नेपाली रहेको अनुमान छ । यसमा १५०० नेपालीभाषी भुटानी रहेका छन् । ग्रेटर सार्लोट नेप्लिज एसोसियसनका अध्यक्ष प्रमानन्द खनालका अनुसार ठूलो संख्याका नेपालीहरू सरेर आउनेक्रम चलिरहेको छ । भुटनिज कम्युनिटी एसोसियसन अफ सार्लोटका अध्यक्ष हरि चौलागाईंका अनुसार झण्डै १५०० भुटानी नेपाली सार्लोट वरिपरि छन् ।

ग्रिन्सवोरो, हाइपन्इट, विष्टन सेलममा २ हजार माथिको अनुमानित संख्या रहेको छ । ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टिएनसीसी) का संस्थापक माधव ढकालका अनुसार यहाँ भुटानी नेपाली सहित पुगनपुग २ हजार हाराहारीको संख्या रहेको छ । भुटानी नेपाली समुदायका अगुवा दिपक आचार्यका अनुसार ५०० भुटानी नेपाली हाइपन्ट, ग्रिन्सवोरो, जेम्सटाउन वरिपरि छन् ।

यस बाहेक यस राज्यका गाँउगाँउ पुगेर ब्यापार ब्यवसायमा संलग्न हुनेहरुको संख्या बढदो छ । मेवन, कर्नसभील, बर्लिङटन, मोर्गानटन, एसभिल, हाइल्याण्ड, देखि ग्रिनभिल, फेयटभिल, साइलर सिटी, विलमिङ्टन, लिलिङटन जस्ता शहरमा नेपालीको ब्यापारमा उपस्थिती बढ्दो छ । नर्थ क्यारोलिनाका कहलिएका व्यवसायी तथा रियल्टर कुल शर्मा भन्छन ‘नर्थ क्यारोलिना पनि नेपालीहरुको ब्यापार एउटा हव बनेको छ ।’

नेपालीको सबैभन्दा धेरै आकर्षण रहेको राले शहर बरिपरि केरी, मोरिसभिल, एपेक्स, होलि स्प्रिङ, फ्युके भरिना, गार्नर, क्लेटन, वेक फरेस्ट, डुरम, चापलहिल, वेन्डल, नाइट्डेल, न्यू हिलमा नेपाली बस्ती बाक्लिँदो छ ।

अमेरिकाको मिनी नेपाल

धेरै नेपाली बस्ने मोरिसभिलको किट्स क्रिक सर्कलको बिसौनीमा हरेक साँझ नेपाली वृद्धवृद्धाहरू गफिएको भेटिन्छन् भने कतिपय युवाहरू राजनितिक गफ गरिररहेका भेटिन्छन । त्यहाँ नेपालीले बल्लोघर, पल्लो घर तल्लो घर भनेर देखाउने नेपालकै झल्को दिन्छ । मोरिभिल बस्ने ओखलढुंगाकी तिला धमाला भन्छिन ‘वरिपरि जतासुकै नेपाली, नेपालीका घर देख्दा त नेपालै जस्तो लाग्छ ।’

यहाँ फुटबल खेल्ने नेपाली टोली नै छ ।फिक्वे नेपाली फुटबल क्लबका संस्थापक तथा पत्रकार आङछिरीङ शेर्पाका अनुसार दशैं, ल्होसार, नयाँ वर्षमा नियमित फुटबल, भलिबल, क्रिकेटका कार्यक्रम हुने गर्छन्।

नर्थ क्यारोलिनाको राजधानी रालेस्थित स्तुपामा नियमित लामाको प्रवचन सुन्न सकिन्छ भने मोरिभिलको हिन्दु मन्दिरमा नियमित भजन कीर्तनमा भइरहेको देखिन्छ । रालेमै रहेको लुम्बिनी पार्कले नेपाली हुनुमा गर्व गराँउछ ।

डुरममा आरम्भ नेपाली लाइब्रेरी नामक पुस्ताकलय स्थापना भएको छ, उपलब्ध पुस्तक घर लगेर पढने सुविधा छ । रालेमा फोटो खिच्न वा मोबाइल बनाउन अमेरिकनकहाँ जानु पर्दैन । ट्याक्स सम्बन्धीका नेपालीकै दर्जन अफिस छन् । हेल्थ, गाडीका इन्सुरेन्सका प्रतिनिधीहरू प्रशस्तै नेपाली प्रतिनिधि छन् । त्यसो त प्राइभेट हुलाक सेवा युपिएस (युनाइटेड पार्सल सर्भिस) नेपालीले नै सञ्चालनमा ल्याएका छन् केरीमा ।

नेपालीको घर जग्गा कारोबार गर्ने ब्रोकरेज कम्पनी छन् । जस्तो केरीमा ड्रिम होम रियल्टी नेपालीबाटै सञ्चालित कम्पनि हो जहाँ १५ हाराहारी नेपाली रियल्टर आबद्ध छन् ।

दाइभाइ नामक एपेक्समा म्युजिक ब्याण्ड छ । यसले नियमित सांगितिक गतिविधि गरिरहेको हुन्छ । कंकड सार्लोटमा डिजे विश्व खरेलले नर्थ क्यारोलाइनासहित आसपासका राज्यमा डिजे सर्भिस दिन्छन् वेभ इभेन्ट युएसमार्फत । त्यसैगरी मेरिसभिलमा गायक मोहन भुसालले संगीत सिकाउँछन् । राले क्षेत्रमा हुने सांस्कृतिक कार्यक्रमका आयोजक उनी इन्टरटेनमेन्टका प्रमुख बाबु सुवेदी गर्वका साथ भन्छन्, ‘केही वर्षको छोटो अवधिमै यो ठाउँ नेपालीहरूको मिनी नेपाल जस्तो बनेको छ, जहाँ आफ्नो भाषा, संस्कृति र आवश्यकतासँग जोडिएका सबै कुरा पाइन्छन् ।’

ग्रिन्सबोरोमा नेपाली फार्महरू छन् जहाँ खसी, कुखुरा, कालिज, परेवा, भेडा, गाई पालेका छन् । त्यहाँ नेपालिपन देख्न सकिन्छ । द फ्रेस फार्महाउसका सञ्चालक दिपक आचार्य भन्छन् ‘नेपालमै भएको महसुस गराउन यो फार्म सुरु गरेका हौँ ।’ त्यसो त मोरिसभलिमा नेचुरल एण्ड लोकल एलएलसी नामक तरकारी फार्ममा तरकारी उत्पादन गरेर बिक्री हुने गर्छ । मौसम राम्रो हुने राज्य भएकाले तरकारी राम्रो उत्पादन हुने राज्यमा पर्छ उत्तरी क्यारोलाइना । यहींबाट उत्तरका धेरै राज्यमा तरकारी निर्यात हुन्छ । वृद्ध, अशक्तहरूको सुविधाका लागि नेपालीहरूले नै होमकेयर खोलेका छन् ।

साहित्यिक गतिविधि पनि नियमीत हुन्छन रालेमा । नर्थ क्यारोलाइना साहित्य समाजले हरेक महिना साहित्यिक कार्यक्रम गरिरहन्छ । साहित्यकार, लेखक, कविहरू निलम कार्की निहारिका, डा. ऋषि बस्ताकोटी, शिव पलाँस, नगेन्द्र न्यौपाने, नम्रता गुरागाईं, ईश्वर देवकोटा, उमा शर्मा, मनोज प्रधान, डा.चन्द्र गिरी, पेशल पोखरेल, कृष्ण खनाल, डा.अच्युत शर्मा, शिखर दुलाल लगायत यही बसेर लेखन कर्ममा सक्रिय छन् । यहींबाट साहित्यक कृतिहरू प्रकाशन भइरहेका छन् ।

नेपाली अनलाइन पत्रिका देखि युट्युब कार्यक्रम सञ्चालनमा छन् । केरीबाट निर्माण हुने नेपाल टक्स युट्युब कार्यक्रम लोकप्रिय छ । एनसीएनसीले मोरिभिल र होलिस्प्रिङ गरि २ ठाँउमा नेपाली बालबालिकालाई नेपाली भाषाको कक्षा दिदै आएका छ । त्यसो त सार्लोटमा समेत नेपाली कक्षा सञ्चालन भइरहेको छ ।

झण्डै १५० नेपाली डाक्टर यहाँका हस्पिटलमा सेवा प्रदान गर्ने अनुमान गरिन्छ । कतिपयमा आफ्नै क्लिनिक समेत छन् । नेपालीले नेपालीलाई छानेर आफ्नो डाक्टर बनाउन सक्छन् । नोभान्ट हेल्थ काडियोलोजी ग्रिन्सबोरोमा कार्यरत डा.मदन बडाल भन्छन ‘मुख्यत ग्रिन्सबोरो, राले, सार्लोट, फेयटभिलमा १५० हाराहारी नेपाली चिकित्सक कार्यरत हुनुहुन्छ ।’ चिकित्सक समेत रहेका एनआरएनका अगुवा केशब पौडेलका अनुसार सम्भवत अमेरिकामै सबैभन्दा बढी नेपाली चिकित्सक नर्थ क्यारोलाइनमा छन् ।

विज्ञान–प्रविधि, वातावरण लगायतका अनुसन्धानका क्षेत्रमा थुपै नेपाली अनुसन्धानदाता तथा वैज्ञानिकहरू पनि यहाँ कार्यरत छन् । जैविक प्रविधि सम्बन्धी अनुसन्धानकर्ता तथा एनसीएनसी पूर्वअध्यक्ष डा.विकास शाक्य भन्छन्, ‘विश्वकै कहलिएका कम्पनीहरूमा ठूलो संख्याका नेपाली अनुसन्धानदाताको उपस्थिति नर्थ क्यारोलाइनामा गर्विलो छ ।’

ड्युक युर्निभर्सिटी, एनसी स्टेट युर्निभर्सिटी, युर्निभर्सिटी अफ नर्थ क्यारोलाइना एट चापलहिल, आइबिएम, सिस्को, लेनोभो, रेड ह्याट, एपिक गेम, वायोजेन, फाइजर प्रशस्तै नेपाली छन् ।

२०१६ देखि यहाँ हरेक वर्ष नेपालको नयाँ बर्षको अवसर पारेर ‘नेपाल डे’ हुँदै आएको छ अप्रिलको तेस्रो शनिबार । मोरिसभिल टाउनले २०१६ मै मान्यता दिएको ‘नेपाल डे’लाई वेक काउन्टी, केरी तथा एपेक्स सिटीले समेत मान्यता दिएका छन् । प्रवासमा स्थानीय सरकारको मान्यता सहित यसरी नेपाल दिवस मनाउनु आफैंमा गर्वको कुरा भएको गैरआवाससीय नेपाली संघका कोषाध्यक्ष कृष्ण पोखरेल बताउँछन् ।

घर जग्गामा नेपालीको उलेख्य लगानी

नर्थ क्यारोलाइनाका विभिन्न शहरमा घर जग्गामा लगानी गर्ने धेरै छन् । साइलर सिटीमा ३०० एकडमा शुरुमा ९० टाउन हाउस, १० घर गरी १०० घर बनाउने प्रोजेक्ट अघि बढेको छ । एभरेष्ट पार्क नाम दिइरहेको सो परियोजनामा सबै गरेर भविष्यमा १ हजार घर, सपिङ मल, सिनिअर लिभिङ मन्दिर बन्ने बताइएको छ । बाटोका नामहरू नेपाली संस्कृति, भू-गोल झल्किने हुन्छन् । ‘जुन सुरु भएपछि नेपालीका लागि नर्थ क्यारोलाइना अमेरिकाकै एउटा गौरव गर्नलायकको परियोजना बन्ने छ’ सोही समूहका परिकल्पनाकार तथा मुख्य लगानीकर्ता राधेस पण्डित भन्छन्, ‘यो एउटा मिनी नेपाल हो, नेपालीका लागि सम्भव भएसम्म सबै कुरा यहाँ हुनेछन् ।’

त्यसो त मेवन, लिलिङटन, मोरिसभिल लगायतका शहरमा नेपाली व्यवसायीहरूले ‘सवडिभिजन’ बनाउने प्रोजेक्ट हुँदैछन् । आयोवाकै अर्का व्यवसायी देवी बास्तोला सहितको समूहले स्मिथफिल्डमा १०४ एकड जग्गा देवी बास्तोला सहितको लगानी गरेको छ जहाँ ९७ घर र १४० टाउनहाउस बनाउन काम शुरु भएको छ । उनकै समहूले सेल्माको ९५ हाइवेमा ठूलो ट्राभल सेन्टर, बनाउदै छ जहाँ ट्रक बिसौनी, ग्यास स्टेसन, होटल, रेष्टुरेन्ट बनाउन शुरु हुँदैछ । जहाँ १०० ट्रक पार्क गर्न सकिने बताइएको छ।

मोरिभिलको मोरिसभिल गार्डेनमा एभरेष्ट एलएलसीले घर बनाउन शुरु गरेको छ जसको बाटोको नाम एभरेष्ट ड्राइभ राखिएको छ । त्यसो त डुरमको साउथ मायामी ब्लुवर्डमा रविन कार्की, मोती केसी, कृष्ण, पोखरेलको समुहले ६ एकडमा इन्डष्ट्रियल कन्डोमिनियम बनाउदैछ जहाँ अगाडि अफिस र पछाडि वायरहाउस बन्ने छ ।

त्यसैगरी कुल शर्मा, डा.केशव पौडेल, बुद्धि सुवेदीको समूहले बिजनेश प्लाजा बनाउन प्रक्रिया अगाडि बढाएको छ मोरिभिलमा । जहाँ नेपाली ग्रोसरी, बाजेको सेकुवा, क्लिनिक लगायत खुल्ने छन् । ‘त्यो नेपालीहरूको बजार आफ्नै बजार भन्ने कन्सेटमा काम गरिरहेका छौ’ एक साझेदार कुल शर्मा भन्छन् । घरजग्गजा व्यवसायी बालकृष्ण शर्माको नेतृत्वमा १०० घर सहितको नेपाली बस्ती बनाउने योजना छ ।

सुरी बिजनेस ग्रुपले ठूलो संख्यामा घर किनबेचको काम गर्छ । केरी नर्थ क्यारोलिनाका कहलिएका रियलस्टेट ब्यवसायि सुजन न्यौपानेले यसमार्फत रियलस्टेटमा गर्विलो उपस्थिति जनाउँदैछन् । यसबाहेक नेपाली व्यवसायीले २ दर्जन हाराहारीका ब्यवसायिक प्रयोजनका ठूला जग्गामा लगानी गरिएको बताइन्छ ।

हालैमात्र लिलिङटनमा १५ एकड जग्गामा बेटर होममार्फत ४१ घरको सबडिभिजन बनाउन सुरु गरेका रियलस्टेट व्यवसायी/पत्रकार किरण मरहठ्ठा बताउँछन् । घर, टाउनहाउस, कन्डोमिनीयम किनेर भाडामा लगाउनेको संख्या पनि उत्तिकै छ । नर्थ क्यारोलाइनामा नेपाली समाजका अगुवा इश्वर देवकोटा भन्छन्, ‘नेपालीहरू समृद्धितर्फ लम्किरहेको एउटा गविर्लो उदाहरण हो ।’

नेपालीको घर जग्गा कारोबार गर्ने ब्रोकरेज कम्पनी छन् । जस्तो केरीमा ड्रिम होम रियल्टी नेपालीबाटै सञ्चालित कम्पनि हो जहाँ १५ हाराहारी नेपाली रियल्टर आबद्ध छन् । घर जग्गा सगै रेष्टुरेन्ट, होटल, ग्यास स्टेसन लगायतका क्षेत्रमा लगानी उलेख्यरूपमा बढिरहेको छ । व्यवसायी राज घिमिरे भन्छन्, ‘राजधानी रालेबाट सार्लोट शहर जाँदा बाटोमा नेपालीका बस्ती, होटल, ग्याँस स्टेसन, रेष्टुरेन्ट भेटिन्छन् ।’ रालेमा मात्रै २ दर्जनमाथि नेपाली रेष्टुरेन्ट छन् । यो राज्यमा ठूलो संख्यामा नेपालीका ग्यास स्टेसन छन् ।

राधेस पण्डितको समूहले हालैमात्र मेवन सिटीमा लाकिन्ता र हाथ्रोन नामक २ होटल सञ्चालनमा ल्याएको छ । आयोया, विसकन्सिन राज्य सहितका नर्थ क्यारोलाइनाका व्यवसायीको समूहले घर जग्गा, इन्डियन/नेपाली स्टोरमा लगानी गरेका छन् । ग्रिन्सबोरो, हाइपइन्टमा इन्दु ग्रोसरी नामका ठुला ग्रोसरीहरु नेपाली समूहले खोलेको छ जसमा भारतीय, पाकिस्तानी ग्राहक धेरै छन् । यही समूहको पिग्लीविग्ली नामक अमेरिकी चेन ग्रोसरीमा पनि संलग्न छ ।

नर्थ क्यारोलाइनाको भू–दृश्यनेपालसँग मिल्दोजुल्दो छ, मौसम मध्यम खालको छ, उत्कृष्ट शैक्षिक अवसर, विविध रोजगारीका विकल्प, तुलनात्मक रूपमा किफायती जीवनयापन र सुरक्षित वातावरणले गर्दा यो राज्य नेपाली समुदायका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । ‘पछिल्ला वर्षहरूमा नेपाली समुदाय यहाँ मूलधारको समाजमा भिजिवल माइनोरिटीका रूपमा उल्लेखनीय रूपमा उदाउँदै, आफ्नो उपस्थिति थप सुदृढ बनाइरहेका छन्’ पर्यावरणीय नीति विज्ञ डा.ऋषि बस्ताकोटी भन्छन् ‘कम भीडभाडयुक्त तर सम्भावनाले भरिएको नर्थ क्यारोलाइनालाई आप्रवासी नेपालीहरूले ‘घर बाहिरको घर’ जस्तै अपनाउँदै फैलिँदै आएका छन ।’

(लेखक ऋषिराम कट्टेल हाल अमेरिकामा बस्दै आएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?