+

खेलाडीले उपचारका लागि गुहार माग्‍नै पर्छ ?

२०८२ फागुन  १२ गते २०:०२ २०८२ फागुन १२ गते २०:०२

देशको नाम राख्न भिड्ने खेलाडीहरू घाइते हुँदा राज्य बेपत्ता ! गुहार नमागेसम्म न सुन्छन् खेल सङ्घ, न बोल्छ राखेप। पर्याप्त नीति र सम्झौता भए पनि खेलाडीहरू उपचार नपाएरै किन खेल जीवन छाड्न बाध्य छन् ?

खेलाडीले उपचारका लागि गुहार माग्‍नै पर्छ ?
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले उपचारका लागि आर्थिक सहयोग मागेपछि २४ घण्टामा १ करोड ४५ लाखभन्दा बढी रकम संकलन भयो।
  • खेलाडी उपचारमा सरकारले बजेट नपठाउँदा र सम्बन्धित निकाय जवाफदेही नहुँदा खेलाडीहरूलाई उपचारमा समस्या भैरहेको छ।
  • राष्ट्रिय खेलकुद परिषद् र वीर अस्पतालबीच सम्झौताले खेलाडीलाई छुट र फास्ट ट्र्याक उपचार सुविधा उपलब्ध गराएको छ।

१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोग मागेपछि सहयोग गर्नेको प्रतिस्पर्धा चल्यो। विभिन्न राजनीतिक दलदेखि खेलाडी, सङ्घसंस्थाले साम्बाको उपचारार्थ आर्थिक सहयोग गरे। २४ घण्टा बित्न नपाउँदै १ करोड ४५ लाखभन्दा बढी रकम साम्बाको खातामा पुग्यो। साम्बाले नै उपचारका लागि पर्याप्त खर्च जुटेको भन्दै सहयोग नगर्न आग्रह गर्नुपर्‍यो।

केही अस्पतालले साम्बाको निःशुल्क उपचार गराइदिने आश्वासन पनि दिए। राष्ट्रिय ट्रमा सेन्टर र काठमाडौँ मेडिकल कलेजले साम्बाले चाहेमा निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन्। साम्बाको निःशुल्क उपचार गर्न प्रतिस्पर्धा गर्ने अस्पतालहरू अन्य खेलाडीहरूको उपचारमा भने चुइँक्क बोलेको पाइँदैन।

नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका एक प्रतिभावान् क्रिकेटर सिद्धान्त लोहनीले केही समयअघि साम्बाजस्तै सामाजिक सञ्जालमार्फत गुहार मागे। सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधि टी-२० राष्ट्रिय प्रतियोगिता खेल्दा घाइते भएका उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले सहयोग गर्ने आश्वासन दियो। तर, पटक–पटक प्रयास गर्दा पनि सहयोग नपाएपछि उनले सामाजिक सञ्जालमार्फत गुहार मागेका थिए।

चर्को आलोचना भएपछि क्यानले लोहनीको उपचारका लागि ५ लाख दिने निर्णय गर्‍यो। त्यसपछि लोहनीले क्यानलाई धन्यवाद दिँदै छिट्टै मैदानमा फर्किने प्रण गरे। साम्बा र सिद्धान्तजस्ता देशलाई नै सबथोक सम्झेर खेलकुदमा लागेका खेलाडीहरूलाई आफूलाई पर्दा गुहार माग्नुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। सार्वजनिक रूपमा गुहार मागेपछि मात्रै सुन्ने खेल सङ्घका कारण कयौँ खेलाडीहरू अलपत्र परेका छन्।

सिद्धान्त लोहनी

२०७६ सालमा त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको एनभीए भलिबल च्याम्पियनसिपबाट चोट बोकेकी प्रतिभा मालीलाई फिट हुन निकै समय लाग्यो। घुँडामा लागेको चोट पटक–पटक बल्झिँदा ४ पटक शल्यक्रिया नै गर्नुपर्‍यो। पटक–पटक बल्झिँदा उनलाई मैदान फर्किनसमेत समस्या भयो। उनी घरेलु भलिबल न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट खेल्थिन्। निको हुन लामो समय लागेपछि उनीहरूलाई लाग्यो- विदेशमा गएर उपचार गर्नुपर्ने रहेछ।

न्यु डायमन्डका प्रशिक्षक कुमार राई त्यो बेला विदेशमा गएर उपचार गरेको भए ४ पटक शल्यक्रिया गर्नुपर्ने अवस्था नआउने बताउँछन्। ‘विदेशमा लगेर उपचार गर्न पाएको भए छिटो निको हुन्थ्यो होला, त्यतिबेला थाहा नै भएन,’ उनी भन्छन्, ‘एकपटकमा निको नहुँदा ४ पटक शल्यक्रिया गर्नुपर्‍यो।’

प्रतिभाजस्तै ओलम्पियन दीपक विष्ट पनि सन् २००३ मा पाकिस्तानमा भएको साउथ एसियन खेलकुदका क्रममा इन्जुरी भए। सेमिफाइनल खेलमा घुँडामा समस्या आए पनि दीपकले ब्यान्डेज लगाएर फाइनल खेले र नेपाललाई गोल्ड मेडल दिलाए। त्यसपछि उनी स्वदेश फर्किए। उनलाई घुँडाको उपचार थाइल्यान्डको बैङ्ककमा गर्न मन थियो।

विदेशमा उपचार गरेर छिट्टै खेलमा फर्किने सोच दीपकको थियो। मन्त्रालय तथा राखेपको कोठा–कोठा धाए। बल्लतल्ल उनलाई विदेशमा गएर उपचार गर्ने व्यवस्था मिल्यो। विदेशमा गएर उपचार गरे। अपरेसन सफल भयो र सागमा मेडल जित्दै ओलम्पिकसम्म दीपकले नेपालको नाम चम्काए।

केही वर्षअघि राष्ट्रिय लिगका क्रममा घाइते भएका फुटबल स्टार निराजन मल्ल पनि त्यसपछि कमब्याक हुन सकेनन्। खेल्दाखेल्दै घाउ बल्झिँदा उनी फुटबललाई निरन्तरता दिन सकेनन्। तत्कालीन समयमा कतारले नागरिकता नै दिएर कतारबाटै खेलाउँछु भनेका खेलाडी मल्ल चोटकै कारण अहिले फुटबलबाट टाढा छन्।

यी त प्रतिनिधिमूलक पात्र हुन्। घाइते हुने र उचित उपचार नपाउँदा कयौँ खेलाडीहरू बिचमै खेलजीवनलाई विश्राम लिन बाध्य छन्। तर, सरकार भने खेलाडीको उपचारमा कुनै कसर बाँकी नराखेको दाबी गर्दै आएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता खेलाडी उपचारमा कुनै समस्या नरहेको बताउँछन्।

आयोजक र खेल सङ्घले खेलाडीको सुरक्षामा प्रभावकारी कदम चाल्न नसकेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठ बताउँछन्। ‘जसले आयोजना गर्छ, उसले खेलाडीको सुरक्षाको ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यो चाहिँ प्रभावकारी भएको छैन। उपचार नपाएका खेलाडीहरू धेरै छन्।’

सरकारबाट पर्याप्त बजेट नआउँदा खेलाडीको आवश्यकता पूर्ति गर्न नसक्ने अवस्था रहेको श्रेष्ठको अनुभव छ। ‘नियमचाहिँ बन्यो, कल्याणकारी कोष त छ, तर त्यसमा सरकारले बजेट हालेको अवस्था छैन,’ उनले भने, ‘चाहेर पनि सबै खेलाडीको आवश्यकता पूर्ति गर्न नसक्ने अवस्था छ।’

नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट स्पष्ट नीति नहुँदा खेलाडीले दुःख पाउने गरेको बताउँछन्। ‘खेलाडी खेल्नुअघि, खेलेपछि र खेलको दौरानमा के गर्ने भन्नेबारे पोलिसी बनाइनुपर्छ। त्यो नहुँदा खेलाडीले दुःख पाएका हुन्,’ उनी भन्छन्।

खेलाडी घाइते भएपछि कहाँ उपचार गर्ने भन्नेबारे स्पष्ट भएमा यस्तो समस्या नआउने विष्टको अनुभव छ। उनले भने, ‘इन्जुरी भएपछि के गर्ने, कस्तो इन्जुरीलाई कहाँ उपचार गर्ने भन्ने स्पष्ट खेलकुदको धारणा हुन्थ्यो भने यस्तो समस्या हुने थिएन।’

‘नीति पर्याप्त छ तर सम्बन्धित निकाय जवाफदेही हुनुपर्छ’

खेलाडी उपचारका लागि बिमा र उपचार गरी दुई नीति छन्। पहिलो चरणमा सम्बन्धित खेल र त्यसको बिमामार्फत खेलाडीको उपचार हुन्छ। त्यसबाट सम्भव नभए खेल सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई सिफारिस गर्नुपर्छ।

खेल सङ्घको सिफारिसमा राखेपले खेलाडी कल्याणकारी कोष र खेलाडीका लागि आकस्मिक बजेटमार्फत खेलाडीको उपचारमा खर्च गर्न सक्छ। यस्तै राखेपको आन्तरिक स्रोतबाट समेत खेलाडीको उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था छ। तर, त्यसको पहुँचमा पुग्न खेलाडीहरूलाई निकै कठिन छ। राष्ट्रिय महिला फुटबल टिमकी कप्तानलाई समेत त्यसको पहुँचमा पुग्न नसक्दा सार्वजनिक रूपमा अपिल गर्नुपर्ने बाध्यता छ।

सम्बन्धित निकाय जवाफदेही नबन्दा खेलाडीको उपचारमा समस्या आउने गरेको राखेपका पूर्वसदस्यसचिव टङ्कलाल घिसिङ बताउँछन्। उनी भन्छन्, ‘मेरो कार्यकालमा खेलाडीले उपचारका लागि खर्च नपाएको अवस्था भएन। अहिलेका लागि नीति पर्याप्त छ। खेल सङ्घले सकेन भने राज्यले गर्छ। तर, सम्बन्धित निकायहरू जवाफदेही हुनुपर्‍यो।’

खेलाडी उपचारका लागि राखेप र वीर अस्पतालबीच सम्झौता भएको छ। सम्झौतामा अस्पतालका सबैखाले सेवामा ओलम्पियनले ८० प्रतिशत, एसियाली/दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता र सहभागी खेलाडी तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

उक्त सुविधा खेलाडीले फास्ट ट्र्याकमा लिन सकिने पूर्वसदस्यसचिव घिसिङ बताउँछन्।

उपचार खेलाडी घाइते

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय