+
+
Shares
घरदैलो :

काठमाडौं-४ : गगन थापाको पाइला पछ्याउँदै सचिन

काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेना निरन्तर मतदाताका घरदैलोमा छन् । उनीसँग मतदाताले विकासदेखि नोकरीसम्म माग गरेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ फागुन १२ गते १९:४०

१२ फागुन, काठमाडौं । ‘गगनबाबुलाई एउटा कुरा भनेको थिएँ,’ मंगलबार भोट माग्न जयबागेश्वरी पुगेका काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेनासँग सानुमाया थापा (६८) ले खुसुक्क केही कुरा भनिन् ।

भोट माग्ने टोलीमा उम्मेदवार सचिनसहित कांग्रेस सर्मथकहरू सहभागी थिए । ‘अब सचिनबाबुले गर्नुहुन्छ,’ घरदैलोमा सहभागी एक शुभेच्छुकले भने । सचिनले त्यसैमा सहमति जनाए ।

सानुमायाले सचिनलाई आर्शिवाद दिइन् ।

२०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए, कांग्रेस सभापति गगन थापाले । सानुमायाको भोट अहिलेसम्म दायाँबायाँ भएको छैन । गगनको जितमा एक भोट सानुमायाको पनि मिसिएको रहेछ ।

‘भोट सधैं दिएको छु । छोरा–बुहारीका लागि नोकरी मागेकी थिएँ । त्यही कुरा सचिनलाई सम्झाएको हुँ,’ उनले भनिन् ।

सिफल, जयबागेश्वरी र पशुपति क्षेत्रसम्म हामीले पनि सचिनको घरदैलो पछ्यायौं । सचिनले गगन हिँडेको पाइला पछ्याए ।

यसअघिका चुनावमा गगन यही क्षेत्रमा मत मागेर हिँडेका थिए । तर यसपटक सचिनलाई अगाडि सारेर सर्लाही छिरे ।

‘गगन दाइ उता गए पनि युवा उम्मेदवार आएकोमा मतदाता उत्साहित हुनुहुन्छ,’ मतदाता र शुभेच्छुकले घेरिएका सचिनले सुनाए ।

गगनले प्रधानमन्त्री बन्ने घोषणा गरेर क्षेत्र छोडेकामा स्थानीयले मन खिन्न बनाएका रहेछन् । तर स्थानीय नेताले पार्टीको सिट संख्या बढाउन उहाँ तराई झरेको भनेर सम्झाउने गरेका छन् ।

‘पार्टीको सिट बढाउनु पर्नेछ । उहाँको अभाव खड्किन दिएका छैनौं । खोज्नेहरूलाई फोनबाट कुरा गराएका छौँ,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘हाम्रो एजेन्डा र उम्मेदवारलाई मतदाताको घरघरमा लगेर चिनाइरहेका छौँ ।’

तीन चरणमा चुनावी कार्यक्रम गरेको कांग्रेसले अहिले घरदैलो गरिरहेको हो । ‘वडा र टोल भेला गरेर अहिले प्रत्येक वडामा एक दिन घरदैलो गरिरहेका छौँ,’ संगतले भने ।

कांग्रेसले जुन वडामा घरदैलो गर्ने हो त्यही वडाका नेता र शुभेच्छुक सहभागी गराएर घरदैलो गरिरहेको रहेछ । ‘घरदैलोमा डेढ/दुई सय जना हुन्छौं । जुन वडामा गर्ने हो त्यही वडाको मात्र सहभागी हुने गरेका छौं,’ उनले भने ।

आज वडा नम्बर ८ को घरदैलो हो । यस वडाका वडाध्यक्ष एवं वडा सभापति आशामान संगतको नेतृत्वमा घरदैलो कार्यक्रम चलिरहेको थियो । आशामानले आफ्नो वडाबासीका घरघरमा सचिनलाई पुर्‍याइरहेका थिए ।

तर, मतदाताले आशामानलाई पनि गगन थापाले क्षेत्र छोडेकोमा प्रश्न गर्ने गरेका रहेछन् । ‘घरदैलो त राम्रो भइरहेको छ । हाम्रो ग्राउन्ड राम्रो छ । तर गगन दाइले छोडेकोमा मतदाताको मन खिन्न भएको छ । देशकै नेतृत्व गर्न जानु भएको हो भने र सम्झाउने गरेका छौँ,’ उनले भने ।

ऊ बेलाका गगन, यो बेलाका सचिन

स्थानीय नेताहरूले चुनावी अभियानमा सचिनलाई यसरी साथ दिएका छन् । गगन थापा १८ वर्षअघि (२०६४) पहिलो संविधानसभा सदस्य भएका थिए । त्यसबेला उनी समानुपातिबाट निर्वाचित भएका थिए । त्यो बेला गगन ३२ वर्षका थिए । अहिले सचिन पनि यही उमेरको हाराहारीमा दौडिरहेका छन् ।

‘१८ वर्षअघि गगन दाइ यो क्षेत्रमा आउँदा युवा हुनुहुन्थ्यो । अहिले त्यही उमेरका सचिन आउनुभएको छ । यही क्षेत्रबाट २०७० देखि २०७९ सम्म चुनाव जित्नुभएका गगन दाइ देशको नेतृत्व गर्ने तहमा पुग्नुभयो,’ वडासभापति आशामानले भने ।

पहिले-पहिले घरदैलोमा जाँदा उम्मेदवारहरूले भाषण दिन्थे । तर यसपटक भने दृश्य फरक देखियो । मतदाताले प्रश्न र सुझाव दिने र उम्मेदवारले सुनेर आर्शिवाद लिने गरेको पाइयो ।

‘हामीले धन-सम्पत्ति मागेको होइन । जनतालाई दुःख दिनु भएन । देशको विकास गर्नुपर्‍यो,’ ८५ वर्षीय पूर्णबहादुर वैद्यले आशिर्वाद दिँदै भने ।

गत भदौमा भएको जेनजी आन्दोलनको जगमा २१ फागुनमा चुनाव हुन लागेको हो । सचिनको उम्मेदवारीलाई यो क्षेत्रका युवाले पनि जेनजी आन्दोलनको मागको रूपमा हेरेका छन् ।

‘उहाँको उम्मेदवारी भनेको जेनजी आन्दोलनको माग सम्बोधन हुनु हो । सचिनमा क्षमता भएर नै पार्टीले टिकट दिएको हो । अब उहाँले जनताको कुरा सुन्नुपर्छ । विजयी भएपछि जनताको आवाज सदनमा लैजानुपर्छ,’ दृशांक काफ्लेले भने ।

सचिनको उम्मेदवारीलाई युवा पुस्तामा देखिएको राजनीतिक वितृष्णा चिर्नको लागि पनि हेरिएको छ । ‘राजनीतिक फ्रस्टेसन चिर्न माथिल्लो पुस्ता र तल्लो पुस्ताको पुलको काम सचिनले गर्नुपर्छ,’ उनले भने ।

घरदैलोकै क्रममा पशुपति क्षेत्रमा कांग्रेसका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले पनि सचिनलाई टोलमा स्वागत गरे । स्वस्थ प्रतिस्पर्धा गर्न वैद्यले सुझाए । ‘अहिलेको जेनजी युगलाई सकारात्मक रूपमा लिनुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । जित-हार जनताले छुट्याउने हो,’ उनले भने ।

पशुपति क्षेत्रमा पुगेका सचिनलाई व्यवसायीले फूल–मालाले स्वागत गरे । तर यहाँ बसोबास गर्नेहरूलाई अर्को ठाउँमा सार्ने भनिएकाले त्यसको व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गरे । ‘अहिलेको अस्थायी ठाउँ हो । उता पछाडि सार्ने भनेका छन् । यहाँ पानी पर्दा बाढी आउँछ । त्यसको व्यवस्थापन हुनुपर्‍यो,’ व्यवसायी दिपेन्द्र थापाले भने ।

सचिन पहिलो पटक उम्मेदवार भएर आएकाले अहिले नै प्रश्न गर्ने बेला नभएको उनले सुनाए । ‘आशाअनुसार अहिलेसम्म कुनै नेताले काम गर्नुभएको छैन । तर उहाँ भर्खर उम्मेदवार भएर भोट माग्न आउनुभएको हो । विजयी भएमा त्यसपछि प्रश्न गर्ने हो,’ उनले भने ।

५ वर्ष, १० नतिजा

सचिनले ५ वर्षमा १० नतिजा निकाल्ने प्रतिज्ञा गरेका छन् । सुशासन, पूर्वाधार विकास, भूमि र कृषि सुधार, स्वास्थ्य सुधार, उद्यमशिलता, रोजगारी एवं सूचना प्रविधि, शिक्षा सुधार गर्ने प्रतिज्ञा गरेका छन् ।

त्यसैगरी धार्मिक तथा सांस्कृतिक सम्पदा एवं स्वच्छ वातवरण, जलवायु न्याय र प्राकृतिक स्रोतको संरक्षण, समावेशिताको सुरक्षण, लैंगिक समानता, सांसदको कार्यालय स्थापना र काठमाडौं उपत्यका विशेष साझा प्रतिज्ञा उनले गरेका छन् ।

यही निर्वाचन क्षेत्रमा जन्मिएका सचिन आफ्नै समुदाय, समाज र परिवेशको विकास गर्ने चाहना रहेको बताउँछन् । ‘आफ्नै क्षेत्रका समस्या बुझेको छु । आफ्नै ठाउँ भएकाले दिनरात काम गर्नेछु,’ उनले मतदातासँग भने ।

सचिनले त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषयमा स्नातकोत्तर पूरा गरेका छन् । अमेरिबाबाट उनले नेतृत्व र संगठनसम्बन्धी विशेष कोर्ससमेत पूरा गरेका छन् ।

२०७५ देखि २०७९ सालसम्म उनी युवा कांग्रेसका संस्थापक अध्यक्षका रूपमा कार्यरत रहेर काम गरेका थिए । राजनीतिसँगै उनी क्रिकेट कमेन्टेटरका रूपमा पनि परिचित छन् ।

यो क्षेत्रमा गगनले २०७० को संविधानसभा चुनावमा एमालेका निर्मल कुइँकेल र एकीकृत माओवादीका नन्दकिशोर पुनलाई पराजित गरी विजयी भएका थिए । २०७४ र २०७९ मा गगनले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरेका थिए ।

गगनले २०७४ मा २१ हजार ५५८ मत ल्याउँदा एमालेका भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । २०७९ मा गगनले २१ हजार ३०२ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मत पाएका थिए ।

यसपटक पनि यो क्षेत्रमा एमाले सचिव राजन भट्टराई प्रतिस्पार्धाम छन् । रास्वपाका पुकार बम र नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुसालसहित २८ उम्मेदवार दौडमा छन् । निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष अनुभवको अभाव सचिनका लागि चुनौती छ ।

तर, जित-हारको निर्णय मतदाताले गर्नेछन् । काठमाडौं–४ का २८ उम्मेदवारलाई मतदान गर्ने मतदाताको संख्या ७६ हजार १४१ छ । यो क्षेत्रमा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र तोकिएको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?