+
+
Shares

राजन भट्टराईको घरदैलो : ‘सामाजिक सञ्जालको बहकाउ र भूगोलको अवस्था फरक छ’

सिंगो नगरपालिकामा कांग्रेस दोस्रो शक्तिको रूपमा रहँदै आएको छ भने देउवा निवास रहेकै बुढानीलकण्ठ-२ मा समेत कांग्रेसले जित्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते २०:५८

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयदेखि बसोबास गरेको नगरपालिका हो, बुढानीलकण्ठ । देउवा लामो समयदेखि बस्दै आए पनि यो नगरपालिकामा एमालेको पकड रहँदै आएको छ ।

सिंगो नगरपालिकामा कांग्रेस दोस्रो शक्तिको रूपमा रहँदै आएको छ भने देउवा निवास रहेकै बुढानीलकण्ठ-२ मा समेत कांग्रेसले जित्न सकेको छैन ।

स्थानीय तहमा प्राप्त मतको आधारमा पहिलो शक्ति एमालेबाट काठमाडौं-४ मा राजन भट्टराई तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका छन् । जहाँ बुढानीलकण्ठ नगरपालिकासमेत पर्छ । एमाले सचिव भट्टराईले मंगलबार बिहानको चुनावी प्रचारका लागि घरदैलो गर्ने स्थान पनि कांग्रेसका पूर्वसभापति देउवाकै वडा तय गरेका थिए ।

भट्टराईले मंगलबार बिहान बुढानीलकण्ठ-२ को वासिकु, बदेली, पञ्चायत मार्ग, महादेव खोला, मिलन कोलनी, लामिछाने टोल, सुन्दरटारलगायत घरदैलो गरे । यसअघि दुई पटक पराजित भएका भट्टराईले जितका लागि शुभकामनासहित स्थानीयको गुनासो, सुझाव, आक्रोश सुने ।

वासिकु टोलमा पुगेका बेला एक स्थानीय महिलाले बाटोको लागि बजेट छुट्याएको तर फिर्ता गरिएकोप्रति आक्रोश पोखिन् । एमाले उम्मेदवार भट्टराईलाई घर छेउको बाटो देखाउँदै भनिन्, ‘यो बाटोको लागि छुट्याएको बजेट पनि फिर्ता गरियो ।’

आफू एमालेको समर्थक भए पनि एमालेकै जनप्रतिनिधिले बाटोको लागि छुट्याएको बजेट फिर्ता गरेको भन्दै उनले असन्तुष्टि पोखिन् । प्रचारमै रहेका अर्का एक व्यक्तिले बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीलाई अघि सारे । मेयर अधिकारीले ती महिलालाई आश्वस्त पार्दै भने, ‘जेठको पहिलो साता आउनुस् । म बजेट छुट्याइदिन्छु ।’

भट्टराईको प्रचारमा स्थानीय नेता-कार्यकर्ता एवं जनप्रतिनिधि खटिएका थिए । बागमती प्रदेशका यातायात मन्त्री जयराम थापा, बुढानीलकण्ठका मेयर अधिकारी, वडा नम्बर २ वडाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले स्थानीयको घरघरमा पुर्‍याउँदै उम्मेदवारलाई मत मागिरहेका थिए ।

वडाध्यक्ष श्रेष्ठ स्थानीयसँग परिचित भएको हुँदा उम्मेदवार भट्टराईलाई मतदातालाई भेटाउँदै मत माग्न बढी सक्रिय देखिन्थे । कतिपय स्थानीयलाई नाता-सम्बन्ध जोडिएको आधारसहित उनले मतको आग्रह गर्थे ।

पञ्चकन्या टोलबासी सरु श्रेष्ठले काठमाडौं-४ मा उठेका अन्य उम्मेदवारभन्दा राजन भट्टराई योग्य रहेको अनलाइनखबरसँग बताइन् ।

यस क्षेत्रमा दल र स्वतन्त्र गरी २८ उम्मेदवार छन् । कांग्रेसबाट सचिन तिमल्सेना, नेकपाबाट इन्द्रकुमार भुसाल, रास्वपाबाट पुकार बम, राप्रपाबाट सुरेन्द्रराज भण्डारीलगायत उम्मेदवार छन् ।

चुनाव प्रचारको क्रममा अर्को दलका उम्मेदवार पनि मत माग्दै गरेको भेटिन्थ्यो । प्रचारका लागि एउटा समूह नै बनाएर घरदैलो गरिरहेका भट्टराईसँग नेपाल मजदुर किसान पार्टी र युनाइटेड नेपाल डेमोक्रेटिकका उम्मेदवारको जम्काभेट भयो ।

नेपकिपाबाट यस क्षेत्रमा आशालाल श्रेष्ठ र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका मुस्कान पौडेल उम्मेदवार छन् ।

नेपकिपाको चुनाव चिह्न मादल अंकित झण्डा बाइकमा राखेर उनी प्रचारमा निस्केका थिए । एमाले र नेपकिपाका उम्मेदवारले प्रचारको क्रममा हार्दिकता देखाए । एकले अर्कालाई शुभकामना दिए । युनाइटेड नेपाल डेमोक्रेटिकका उम्मेदवार पौडेलसँग नमस्कार आदानप्रदान गरे ।

महादेव खोला, महादेव कोलोनी, भद्रवस्ती, मिलन कोलोनी, सभ्यता टोलसम्म आइपुग्दा एमाले उम्मेदवार भट्टराईले चुनावी एजेन्डाबारे खासै बोल्न परेन । मुख्यतः प्रौढ नागरिकहरू उनलाई भेट्थे । अबिरसहित खादा-माला लगाइदिन्थे । मतदातासँग भट्टराईले अँगालो मारिहाल्थे । सवारी साधन रोकेर पनि मतको आग्रह गर्थे ।

‘हामीले मत दिँदै आएका हौं । अब पनि दिन्छौं’ जस्ता आश्वासन दिन्थे । गाईपालन गर्दै आएको एक परिवारको प्रौढ महिलाले अनलाइनखबरसँग भनिन्, ‘घामै ताप्नु पर्ला । हाम्रो भोट सधैं सूर्यमा हो ।’ यसै स्थानमा भेटिएका कांग्रेसका राष्ट्रिय सभा सदस्य पदम परियारले कांग्रेस र एमाले नै यो क्षेत्रको प्रमुख प्रतिस्पर्धी भएको दाबी गरे ।

लामिछाने टोलमा भने भट्टराई मतदाताको प्रश्नको घेरामा परे । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको बोलीप्रति एक महिला मतदाता रुष्ट देखिइन् ।

घरको गेट नखोली उनले भट्टराईलाई भनिन्, ‘यहाँ वडाध्यक्षसँग हाम्रो केही गुनासो छैन । तपाईंको अध्यक्षको बोली बिग्रेको छ । सुधार्न भन्नुस् ।’

उनी एमाले नेता बस्नेत र झाँक्रीप्रति पनि बेखुसी देखिइन् । नेताहरूको बोली सुधार्न मतदाताको आग्रहप्रति भट्टराईले जवाफ फर्काए, ‘त्यसका लागि पनि मलाई मत दिएर जिताइदिनुहोस् न ।’

यही टोलीका एक प्रौढ पुरुषले अनियमितताप्रति प्रश्न उठाए । भ्रष्टाचार नियन्त्रण र सुशासन नभएकै कारण जेनजी आन्दोलन भएको भन्दै आर्थिक अनियमितताप्रति प्रश्न उठाए ।

सुन्दरटार आइसकेपछि भट्टराईको बिहानी सत्रको घरदैलो प्रचार सकियो । प्रचार टोलीका लागि यसै स्थानको एक रेस्टुरेन्टमा खाना तयार भएको थियो । बिहान ८ बजेबाट निरन्तर चार घन्टा बढी पैदल यात्रा गरेको प्रचार टोलीको बिहानीको खाना सुरु भयो ।

यस क्षेत्रको विकासका लागि चुनावी एजेन्डाहरूसहित भट्टराईले मत मागिरहेका छन् । यस क्षेत्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक मठ मन्दिर, स्तुपा, जात्रा लगायतको संरक्षण गर्ने प्रतिवद्दता गरेका छन् ।

शिवपुरी, राष्ट्रिय निकुञ्ज, पशुपति लगायतको सौन्दर्यीकरण र सम्बर्द्धनका लागि प्रतिबद्ध रहेको घोषणापत्र सार्वजनिक गरेका छन् । ‘पानीबिना छैन जिन्दगानी- जनताको नारा घर घरमा धारा’ नारा बनाई भट्टराईले खानेपानीको समस्या हटाउने प्रतिबद्धता गरेका छन् ।

स्थानीय बुढानीलकण्ठ अस्पतालसँग अन्य अस्पताल बीचमा सहकार्य गराउने, गरिखान सक्ने शिक्षा प्रदान गर्ने गरी सार्वजनिक र निजी विद्यालयमा समन्वयात्मक सहकार्य अघि बढाउने प्रतिवद्दता भट्टराईले गरेका छन् ।

प्रतिस्पर्धी शक्ति कांग्रेस नै हो : राजन भट्टराई

एक साताभन्दा बढी चुनावी घरदैलो गरिसक्नुभएको छ । मतदाताकहाँ पुगिरहँदा आफ्नो अवस्था कस्तो पाउनुभयो ?

समग्रतामा मतदाताहरू सकारात्मक नै पाएको छु । केही जिज्ञासा छन् । मुलुक कता जाने हो ? भदौ २३-२४ गते के भएको हो ? त्यो कसले गरायो ? किन त्यति ठूलो नोक्सान भयो ? कतिपयले यी कुरा सोधेका छन् । त्यसको जस्ताको तस्तै बाहिर आओस् भन्ने पनि छ । दोषी जो सुकै होस्, कारबाही हुनुपर्छ भन्ने मैले पाएको छु ।

यो सामान्य अवस्था होइन । सामान्य अवस्था भएको भए मंसिर २०८४ मा निर्वाचन हुन्थ्यो । देशले ठूलो नोक्सानी भोग्नुपरेको छ । भदौ २३ र २४ लाई सामान्य हिसाबले नलियोस् भन्ने नै मतदाताको आम बुझाइ रहेको मैले पाएँ ।

दोस्रो कुरा, राजनीतिक दलका हिसाबले केही कमी-कमजोरी छन् । तर त्यसका बाबजुद पनि जिम्मेवार राजनीतिक दलहरू अप्ठ्यारो बेलामा भरपर्दा हुन्छन् भन्ने मानसिकता क्रमशः विकसित भएको छ ।

आम मतदातामा एउटा मात्रै पक्षको प्रतिनिधित्व गरेर मात्रै हुँदैन । सबै किसिमका, समुदाय, सबै उमेर समूहको कम्पोजिसनले समाज बनेको हुन्छ । वृद्ध, प्रौढ, युवा, बालक गरी चारै पुस्ताको प्रतिनिधित्व कसले गर्नसक्छ त्यसको आधारमा हेरिनुपर्छ ।

भदौ २३ र २४ को घटना हुँदा एमालेको नेतृत्वमा सरकार थियो । त्यो घटनालाई कुन रूपमा लिएर तपाईंले मत मागिरहनु भएको छ ?

भदौ २३ गते बिहान माइतीघरमा जम्मा भएर बानेश्वरसम्म शान्तिपूर्ण जुलुसलाई हाम्रो ऐक्यबद्धता छ । त्यो शान्तिपूर्ण थियो । त्यो लोकतन्त्र र हाम्रो संविधानले दिएको अधिकार भित्र गर्नुभएको थियो । अनियमितता र भ्रष्टचारमा नियन्त्रण गर्न हामी केन्द्रित हुनुपर्ने थियो । फोकस हुन अलि सकेनौं । कमजोरी पनि भयो ।

बानेश्वरबाट निषेधित क्षेत्र तोडेर तोडफोड र जे-जे जस्तो नोक्सानी भयो त्यसको सत्यतथ्य जस्ताको तस्तै बाहिर ल्याउन आवश्यक छ । निष्पक्ष विश्वसनीय आयोग बनाउनुपर्छ भनिए पनि आयोगको जसले नेतृत्व लिनुभएको छ, उहाँ आफैं विवादमा तानिनुभएको व्यक्ति हुनुहुन्छ । विवादित व्यक्तिले जेसुकै कुरा ल्याए पनि एउटा पक्षलाई एकथोक लाग्ने र अर्कोलाई अर्कोथोक लाग्ने हुन्छ । विश्वसनीय छानबिन आयोग बनाएर जो-जो त्यसका लागि संलग्न छन् । ती सबैलाई कारबाही गरौं । त्यहाँ एमाले छ भने पनि कारबाही हुनुपर्छ । माओवादी, रास्वपा, कांग्रेस वा अरू कोही नागरिक छन् भने पनि त्यो विध्वंशमा संलग्नलाई कारबाही हुनुपर्छ ।

सबै भिडियो फुटेज छ । कति बेला गोली चल्यो ? कुन अवस्थामा गोली चल्यो ? किन चल्यो ? त्यति मात्र होइन, त्यो गोली किन घुँडा मुनि चलाउनुपर्ने प्रहरीले माथि चलायो ? प्रश्न त सबैको उत्तर चाहियो नि । १९-२० जना युवाको ज्यान गएको छ ।

भदौ २३ गतेको गतिविधि गराएर २४ गतेको योजना पहिले नै बनेको थियो । त्यो गर्नका लागि उनीहरूको पूर्वयोजनाअनुसारै गोली चलाउने वातावरण बनाइयो भन्ने कुरा आइरहेको छ । छानबिन गरौं त्यसमा । राष्ट्रलाई नोक्सान हुने काम सुगौली सन्धिपछि सायदै दोस्रो पटक भदौ २४ गते भयो ।

यहाँ तेस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । विगतको घरदैलो प्रचार र अहिले के अन्तर पाउनुभयो ?

तपाईं जित्नुपर्ने र संसद्‌मा आउनुपर्ने मान्छे हो भनिरहनु भएको छ । यो पटक भोट तपाईंलाई भनेर हिजो मत हालेका साथीहरूले पनि भनिरहनु भएको छ । मप्रति सद्भाव र माया देखाउनु भएको छ ।

म पराजित भएर पनि यो क्षेत्रमा निरन्तर काममा संलग्न रहें । मतदातासित मेरो राजनीतिक कनेक्सन भनेको भोट दिने र जिताउने मात्रै हुन्छ भन्ने मान्यतालाई मैले कहिले पनि मानिनँ । मेरो राजनीति मतदाताको जीवनलाई सहजीकरण गर्ने विषयसँग जोडिनुपर्छ भन्ने मान्यता रह्यो । मतदातालाई अप्ठ्यारो परेको बाटो, खानेपानी, ढल, शिक्षा, स्वास्थ्य, सरसफाइ छ भने त्यसमा मेरो जिते पनि नजिते पनि भूमिका रहन्छ ।

तपाईंको विगतका प्रतिस्पर्धीले अहिले क्षेत्र परिवर्तन गर्नुभयो । गगन थापाले क्षेत्र परिवर्तन गर्दा अनुकूलता महसुस गर्नुभएको हो ?

२०७४ मा अन्तिम आवरमा आएर विवेकशील साझाले रुखलाई समर्थन गर्‍यो । २०७९ मा गठबन्धनसँग एमालेको प्रतिस्पर्धा भएको हो । २०७९ सालमा रास्वपा उम्मेदवार नेताले ड्रप गरेर रुखलाई समर्थन गरे । यसपालि हामी छुट्टाछुट्टै उठेका छौं । आफ्नो पार्टीको घोषणापत्र आफ्नो पार्टीको नीति आफ्नो पार्टीको विचारका आधारमा मत दिनुस् भनेर हामीले अनुरोध गरिरहेका छौं ।

तपाईंको पहिलेको प्रतिस्पर्धी त हुनु भएन । नयाँ दलबाट प्रतिस्पर्धी थपिएका छन् । नयाँहरूको चुनौती थपिएको स्वीकार्नु हुन्छ ?

चुनौती त स्वाभाविक रूपमा हुन्छ नै । तर, हाम्रो प्रतिस्पर्धी कांग्रेस नै हो ।

सामाजिक सञ्जालमा भएको कुरा र जनताको घरदैलोमा पाएको रेस्पोन्समा ग्याप छ । सामाजिक सञ्जालको कुरा र हामीलाई मतदाताले देखाएको सदासयताप्रति तादम्यता मिल्दैन । सामाजिक सञ्जालले नेतृत्व चयन गर्ने अथवा कुनै पनि उम्मेदवारलाई जिताउन भूमिका खेल्छ भन्ने मलाई लाग्दैन । मतदाताले जुन खालको माया, सद्भाव दिनुभएको छ त्यस हिसाबले पनि सामाजिक सञ्जालले फैसला गरिदिने भन्ने होइन ।

नागरिकलाई दुःख, अप्ठ्यारो परेको बेलामा तीसौं वर्षदेखि राजनीति गरेकै दलले सहयोग गरेका छन् । त्यो सहयोग, गुण जनताले बिर्सिन्छन् र थपक्क अर्कोलाई भोट हाल्छन् भन्ने हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?