News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा \'काठमाडौं पिंक केयरथन\' महिला स्वास्थ्य र फिटनेसमा जागरण फैलाउने उद्देश्यले आयोजना हुने भएको छ।
१३ फागुन, काठमाडौं । महिलाको स्वास्थ्य, फिटनेस र स्तन क्यान्सर जस्ता विषयमा जागरण फैलाउने मुख्य लक्ष्यका साथ ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुने भएको छ । लेजर पोर्ट नेपालको आयोजनामाफागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा कार्यक्रमको आयोजना हुन लागेको हो ।
आयोजकका अनुसार महिलालाई स्वस्थ तथा सक्रिय जीवनशैली अपनाउन प्रोत्साहन दिने उद्देश्य राखिएको यस केयरथनमा दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप र अन्य विभिन्न स्वास्थ्यसम्बन्धी क्रियाकलापहरू हुनेछन् । सबै उमेर समूहका महिलाहरू सहभागी हुन सक्ने गरी तयार पारिएको यो कार्यक्रममा यस वर्षदेखि पुरुषहरूलाई पनि सहभागी हुने अवसर दिइएको छ ।
कार्यक्रमका आयोजक तथा लेजर पोर्ट नेपालका अध्यक्ष नवराज जोशीका अनुसार, दैनिक घरेलु तथा सामाजिक जिम्मेवारीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति ध्यान दिन समय निकाल्न उत्प्रेरित गर्नु नै यसको प्रमुख लक्ष्य हो ।
‘महिलाहरू सधैं परिवार र समाजका लागि समर्पित हुन्छन्, तर आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन प्रायः भ्याउँदैनन्’ जोशीले भने, ‘पिंक केयरथनले उनीहरूलाई आफ्नै लागि पनि केही समय छुट्याउन प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’
यो वर्षको संस्करणमा ३ देखि ५ हजारसम्म महिला तथा पुरुषको सहभागिता रहने आयोजकको अनुमान छ । कार्यक्रममा नेपाली अभिनेत्री उषा रजकलाई गुडविल एम्बासडर नियुक्त गरिएको छ ।
पहिले ‘काठमाडौं पिंकथन’ नामले सञ्चालित यो कार्यक्रमलाई नेपाली मौलिकता झल्काउने गरी यसपटक ‘काठमाडौं पिंक केयरथन’ नामकरण गरिएको हो । लेजर पोर्ट नेपालले सन् २०१७ देखि २०१९ सम्म लगातार यो आयोजना गरेको थियो । कोभिड–१९ महामारी र अन्य कारणले केही वर्ष रोकिएको यो कार्यक्रम २०२४ देखि पुन निरन्तरता दिइएको थियो ।
कार्यक्रमले स्वास्थ्यप्रति जागरूकता, उत्साह र समावेशी सहभागितामार्फत महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले लिएका छन् ।
हाफ म्याराथनका विजेतालाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ पुरस्कार दिइनेछ भने १० किलोमिटर दौडका विजेतालाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ प्रदान गरिनेछ । अन्य विभिन्न विधामा पनि नगदसहित पुरस्कारहरू वितरण हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4