+
+
Shares

गगन जोडिएको भारतीय प्रधानमन्त्रीको नक्कली आवाजसहितको भिडियो नेपालमा भाइरल

हामीले गरेको तथ्य जाँचमा सन् २०२५ को सेप्टेम्बर २ मा आयोजित सेमिकोन इन्डिया २०२५ मा मोदीले गरेको सम्बोधनको दृश्यमा एआई निर्मित आवाज प्रयोग गरेर गलत सूचना फैलाएको पुष्टि भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १५:४९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालका लागि गगन थापा चाहिन्छ’ भनेको दाबीसहितको ६ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

तर, हामीले गरेको तथ्य जाँचमा सन् २०२५ को सेप्टेम्बर २ मा आयोजित सेमिकोन इन्डिया २०२५ मा मोदीले गरेको सम्बोधनको दृश्यमा एआई निर्मित आवाज प्रयोग गरेर गलत सूचना फैलाएको पुष्टि भएको छ।

के हो दाबी ?

Sandip Sah नाम गरेका फेसबुक प्रयोगकर्ताले सोमबार (२०२६ को फेब्रुअरी २४) को दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने ६ सेकेन्डको एउटा भिडिओ क्लिप पोष्ट गरेका छन्। भिडियोमा ‘नेपाल के लिए गगन चाहिए, जय नेपाल’ अर्थात् ‘नेपालका लागि गगन थापा चाहिन्छ’ बोल्दै गरेको सुन्न सकिन्छ।

भिडिओमा ‘हरहर गगन घरघर गगन’, ‘अबकि बार गगन सरकार’ लेखिएको छ। यो तथ्य जाँच गर्ने समयसम्ममा भिडिओमा ३ हजार ८ सय पटक रियाक्ट भएको छ भने १ सय ३३ पटक कमेन्ट र ६ सय ४ पटक सेयर भएको छ । १ लाख २३ हजार पटक भिडिओलाई हेरिएको छ।

हेर्नुहोस् Sandip Sah नाम गरेका फेसबुक प्रयोगकर्ताले गरेको पोष्टको स्क्रिनरेकर्ड–

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंह यहाँ छ । भिडिओ अर्काइभ यहाँ छ

के हो तथ्य ?

६ सेकेन्डको यो भिडिओ क्लिपबारे तथ्य जाँच गर्ने क्रममा सबैभन्दा पहिले हामीले यसमा गुगल एआईको प्रयोग भएको छ कि छैन भनेर SynthID मार्फत् जाँच गरेर हेर्‍यौँ। तर SynthID वाटरमार्क फेला परेन।

तर भिडिओको प्रकृति हेर्दा र आवाज सुन्दा यो ‘डिपफेक’ (Deepfake) वा डिजिटल रूपमा परिवर्तन गरिएको जस्तो देखिएको नतिजा आयो। भिडियोमा ओठको चाल (Lip-syncing) र आवाजको लय अस्वाभाविक देखिने सम्भावनाबारे पनि गुगलको SynthID नतिजाले बतायो।

डिपफेक भन्नाले एआई प्रयोग गरेर कसैको अनुहार वा आवाज नक्कली रूपमा सिर्जना गर्नु हो।

हेर्नुहोस् गुगलको SynthID ले दिएको नतिजाको स्क्रिनसट–

त्यसपछि हामीले यो भिडिओ एआईबाट निर्मित भएको हो कि होइन भनेर जाँच गर्न हाइभ मोडरेसनको सहायता लियौँ। यसले भिडिओ आफैं पूर्ण रुपमा एआईबाट बनाइएको सम्भावना निक्कै नै कम १ दशमलव ७ प्रतिशत मात्रै देखायो।

तर अडिओमा प्रयोग भएको आवाज (Speech) एआईमार्फत निर्मित भएको हुन सक्ने सम्भावना ९९ दशमलव ९ प्रतिशत दखायो। यसको अर्थ दृश्य नभई आवाज नक्कली हुनसक्छ।

हेर्नुस् HIVE MODERATION ले दिएको नतिजाको स्क्रिनसट-

६ सेकेन्डको एउटा फ्रेम निकालेर हामीले इमेजह्विस्पररमार्फत् जाँच गरेर हेर्‍यौँ। नतिजामा एआई प्रयोग भएको हुन सक्ने केही संकेत देखियो।

त्यसपछि हामीले अर्को फ्रेमलाई WasitAI मार्फत जाँच गरेर हेर्‍यौँ । नतिजामा दृश्य एआई निर्मित नभएको देखायो ।

हेर्नुहोस् WasitAI ले दिएको नतिजाको स्क्रिनसट–

भिडिओमा प्रयोग भएको अडिओ एआई निर्मित हुन सक्ने सम्भावना बलियो देखाए पनि अनुहार एवम् दृश्य भागमा Deepfake अथवा अरु कुनै एआईको प्रयोग न्यून देखाएकोले अब हामीले यो दृश्य कहाँबाट ल्याइएको हो भन्ने खोजी सुरु गर्‍यौँ।

त्यसका लागि हामीले भाइरल भएको ६ सेकेन्डको भिडिओबाट फेरि एउटा फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ।

नतिजामा indiatoday.in ले सन् २०२५ को सेप्टेम्बर २ मा यही फ्रेमको फोटो प्रयोग गरेको भेटियो। भाइरल भिडिओको तस्बिर र इन्डियाटुडेले प्रकाशित गरेको तस्बिरमा कपडा, हातको घडी, माइक, कोटको टाँक, कोटको खल्तीमा राखिएको कलम, चस्मा, पछाडिपट्टीको ब्याग्राउन्ड सबै मिलेको देखिन्छ।

यो फोटो सेमिकोन इन्डिया २०२५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैगर्दाको भएको विवरणमा लेखिएको छ।

यो सम्बोधनमा मोदीले आर्थिक वर्ष २०२५-२०२६ को पहिलो त्रैमासिकमा भारतको आर्थिक अवस्थाबारे बोलेका थिए।

हेर्नुहोस् indiatoday.in ले प्रकाशित गरेको समाचारको स्क्रिनसट–

indiatoday.in को ओरिजिनल लिंक यहाँ छ । भने अर्काइभ लिंक यहाँ छ

यो सम्बोधनबारे हामीले भिडिओ प्लेटफर्म युटुबमा खोजी गरेर हेर्‍यौँ। नतिजामा सन् २०२५ को सेप्टेम्बर २ कै दिन ७५ लाख सब्सक्राइबर रहेको रिपब्लिक वर्ल्डको यूट्युब च्यानलमा भारतीय प्रधानमन्त्री मोदीको २० मिनेट २२ सेकेन्डको सम्बोधनको पूर्णभाग भेटियो।

यो भिडिओमा कतै पनि ‘गगन थापा’ अथवा ‘नेपाल’ शब्द उच्चारण भएको छ कि छैन भनेर हामीले नोटबुकएलएमको सहायताले खोजी गर्‍यौँ। नतिजामा २० मिनेट २२ सेकेन्डकै भिडिओमा यी शब्द कतै पनि उच्चारण भएको भेटिएन।

हेर्नुहोस् Republic World को युटुब च्यानलले पोष्ट गरेको नरेन्द्र मोदीको भिडिओ सम्बोधनको पूर्ण अंशको स्क्रिनसट–

युटुबको ओरिजिनल लिंक यहाँ छ

भिडिओको स्रोत पत्ता लागिसकेपछि हामीले अडिओ एआईद्वारा बनाइएको हो कि होइन थाहा पाउन केही टुल प्रयोग गरी हेर्‍यौँ। अनडिटेक्टेबल टुलले यो अडियो ९९ प्रतिशत एआई हुनसक्ने सम्भावना देखायो।
इन्टरनेटमा नरेन्द्र मोदीको जस्तो आवाज बनाउन सक्ने थुप्रै टुलहरु पनि उपलब्ध छन्। उदाहरणका लागि यो, योयो

तथ्य जाँच

दाबी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दीमा ‘नेपालके लिए गगन चाहिए’ भनेको दाबीसहितको ६ सेकेन्डको भिडिओ।

दाबीकर्ता : Sandip Sah नाम गरेका फेसबुक प्रयोगकर्ता

तथ्य : मिथ्या सूचना। सन् २०२५ को सेप्टेम्बर २ मा ‘सेमिकोन इन्डिया २०२५’ समारोहमा गरिएको सम्बोधनको दृश्यमा एआईमार्फत् निर्मित अडिओ प्रयोग गरिएको हो। चुनाव अगाडि विदेशी प्रधानमन्त्रीको नाम प्रयोग गरी कुनै एक उम्मेदवारको पक्षमा भ्रामक सामग्री फैलाउने यसको उद्देश्य देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?