१३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय वर्ल्ड र्यांकिङमा यथावत रहेको छ । स्कोरमा भने सुधार गरेको पाइएको छ । सन् २०२६ को टाइम्स हायर एजुकेसनको र्यांकिङमा त्रिवि १५०१ प्ल्समा छ । अघिल्लो वर्ष पनि त्रिवि यही र्र्यांकिङमा थियो । तर यसवर्ष स्कोरमा भने सुधार आएको त्रिविले जनाएको छ ।
र्यांकिङमा त्रिविको स्कोर २३.५ पुगेको छ । अघिल्लो वर्ष स्कोर २३ थियो । सन् २०२४ बाट र्यांकिङमा ओरालो लागेको त्रिविले यसवर्ष स्कारेमा सुधार गरेको हो । सन् २०२३ सम्म त्रिविको र्यांकिङ १ हजारमा थियो ।
विश्वका २२ हजार विश्वविद्यालयको अध्ययन अनुसन्धानको आधारमा र्यांकिङ गरिन्छ । तर संस्था अनुसार र्यांकिङ फरक फरक रहेको छ । यूएन्यूज डट कममा त्रिवि ९१९औं स्थान र सेन्टर फर वल्र्ड विश्व विद्यालयको र्यांकिङमा १६५७ औं स्थानमा छ । उसका अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयहरूमा पर्न सफल भएको छ । जुन गत वर्षको ८.३ प्रतिशतभन्दा सुधार आएको त्रिविले जनाएको छ ।
विशेष गरी चिकित्सा विषयमा त्रिवि विश्वका ६०१ औं स्थान कायम गरेको छ । जुन भारतका आधा दर्जन बाहेक अन्य विश्वविद्यालयहरूभन्दा उत्कृष्ट ठहरिएको त्रिविले जनाएको छ ।
र्यांकिङ गर्नेहरूले फरक–फरक मापदण्डहरू अपनाउने गरेकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्न गएको हो ।
टाइस्स हायर एजुकेसनले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई आधार मानेर र्यांकिङ गर्ने गरेको छ ।
यूएसन्यूज डटकमले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन र उद्धरण प्रभावको आधारमा र्यांकिङ गर्ने गरेको छ । सेन्टर फर वर्ल्ड विश्वविद्यालय र्यांकिङले पूर्व विद्यार्थीहरूको सफलता, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई आधार मानेको छ ।
यसवर्ष त्रिविले र्यांकिङ बढाउन भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायणप्रसाद अधिकारीको संयोजकत्वमा समिति नै बनाएको थियो ।
आगामी वर्ष थप र्यांकिङमा सुधार गर्ने लक्ष्य त्रिविले लिएको छ । ‘विश्ववरीयतामा थप महत्त्वपूर्ण सुधार गर्न अनुसन्धानमा लगानी वृद्धि गर्ने, अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने, शिक्षण बातावरणलाई आधुनिकीकरण र डिजिटल उपस्थितिलाई मजबुत बनाउँछौँ,’ उपकुलपति प्राडा दिपक अर्यालले भने ।
शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिविको छवि र र्यांकिङमा सुधार हुँदै गएको बताए । उनले त्रिविमा विद्यार्थी सङ्ख्या निरन्तर बढिरहेको र उच्चशिक्षामा सुधार भएको दाबी गरे । अनुसन्धानलाई विशिष्टकृत गर्न सुरु गरिएको बताए ।
अनुसन्धन निर्देशनालयलाई सशक्तीकरण गर्न टास्क फोर्स बनाइएको छ । पाठ्यक्रम समयानुकूल बनाउन पनि टास्क फोर्स बनाइएको छ । त्रिवि अन्तर्गतका आंगिक, सामुदायिक क्याम्पसमा पनि रिसर्च हुने गरेको तर क्याम्पसको नाम मात्र राख्ने गरेको पाइएपछि अब त्रिवि पनि उल्लेख गर्नेगरी परिपत्र गर्ने जनाएको छ ।
रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले विद्यार्थीहरूको आकर्षण बढिरहेकाले त्रिवि भन्दा कम वरीयताका विदेशी विश्वविद्यालयका लागि नो अब्जेक्सन लेटर बन्द गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4