News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षण कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन कडाइ गर्ने जनाएको छ।
- मन्त्रालयले स्वास्थ्य परीक्षण सम्बन्धी कार्य तोकिएको कार्यविधिअनुसार मात्रै सञ्चालन गर्न भनेको छ र अनधिकृत निकायले यस्तो कार्य गर्न नहुने जनाएको छ।
- मन्त्रालयले सम्बन्धित गन्तव्य मुलुकका निकायहरूले स्वास्थ्य परीक्षण गर्नुअघि पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगहरूलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेको छ।
१४ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षण कार्यलाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन कडाइ गर्ने जनाएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य परीक्षण सम्बन्धी कार्य तोकिएको कार्यविधिअनुसार मात्रै सञ्चालन गर्न भनेको हो ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ बमोजिम सूचीकृत भई सञ्चालनमा रहेका स्वास्थ्य परीक्षण संस्थामार्फत नै श्रमिकहरूको स्वास्थ्य परीक्षण हुँदै आएको छ । यस व्यवस्थाबाट सेवा प्रवाहलाई पारदर्शी र व्यवस्थित बनाउने प्रयास भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
तर, खाडी तथा मलेसिया लगायतका विभिन्न निकाय, गैरसरकारी संस्था, व्यक्ति वा पदाधिकारीहरूले स्वास्थ्य परीक्षण संस्थाहरूको अनुगमन गर्ने, नयाँ संस्था थपघट गर्ने, चेकजाँचका मापदण्ड आफूखुसी निर्धारण गर्ने तथा सेवा शुल्कसमेत तोक्ने गरेको जानकारी मन्त्रालयलाई प्राप्त भएको जनाएको छ ।
मन्त्रालयले यस्ता गतिविधि दुईपक्षीय सहमति र प्रचलित कार्यविधिविपरीत भएको ठहर गरेको छ । यसले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्न जाने तथा प्रणालीमा अन्योल सिर्जना हुने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस सन्दर्भमा मन्त्रालयले सम्बन्धित गन्तव्य मुलुकका निकायहरूले स्वास्थ्य परीक्षणसम्बन्धी कुनै पनि कार्य गर्नुअघि तथ्यगत आधार स्पष्ट पार्दै मन्त्रालयको पूर्वस्वीकृति र समन्वयमा मात्रै गर्नुपर्ने व्यवस्था मिलाउन नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिएको जनाएको छ ।
अब उप्रान्त स्वास्थ्य परीक्षणसम्बन्धी कार्य यस मन्त्रालय वा मातहतका निकायबाट स्वीकृति प्राप्त व्यक्ति वा संस्थाबाट मात्रै गर्न/गराउन सबै सम्बद्ध पक्षलाई मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया 4