+
+
Shares

मेरो अभिव्यक्ति बंग्याइयो, कांग्रेस-एमाले भदौ २३ यताका सहयात्री होइनन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १६:३४

१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति बांगोटिंगो बनाएर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आपत्ति जनाएका हुन् ।

विस्तृत शान्ति सम्झौतादेखि संविधानसभाको बेलासम्म जरुरी पर्दा कांग्रेस–एमालेसँग आफूले सहकार्य गर्दै आएको बताउँदै अहिले पनि उपलब्धि रक्षा गर्ने विषयमा मात्रै त्यस्तो बोलेको बताएका छन् ।

यसअघि हिजो विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने प्रचण्डले बताएका थिए ।

‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’

तर, आफ्नो भनाइलाई गलत अर्थ लगाइएको प्रचण्डको गुनासो छ ।

उनले भने, ‘विगतको कुरा गर्दा, संविधानसभाको कुरा गर्दा हामीले कांग्रेस एमालेसँग जरुरी पर्दा त सहकार्य गर्नुपर्छ भनेको गम्भीर, संवेदनशील, इमानदार कुरालाई बंग्याएर अहिले नै चुनावमा तालमेल गर्न खोज्यो प्रचण्डले, कुनै दिन प्रचण्डले मिल्यो भनेर एमालेसँग गर्‍यो भने अनौठो मान्न पर्दैन भनेर अघि आउँदा आउँदै मैले एउटा समाचार पढेँ । यस्तो अचाक्ली चाहीँ गर्न हुँदैन ।’

साथै, उनले कांग्रेस–एमाले भदौ २३ गते अघिका मात्रै सहयात्री कांग्रेस–एमाले भएको बताए ।

‘यो संविधानको रक्षा गर्ने, गणतन्त्र, संघीयता, समावेशीतामाथि महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम थारुले पाएका अधिकार खोस्ने खतराकाविरुद्ध हामी सबैसँग सहकार्य गर्छौं भनेको हो । हिजोका त हाम्रा सहयात्री हुन् नि । २३ गतेका उनीहरू हाम्रा सहयात्री होइनन् । हामीले खबरदारी गर्दा गर्दै भयो,’ प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?