१४ फागुन, सुर्खेत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले कर्णाली बदल्न संविधान नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै उनले प्रदेश बलियो बनाउन संविधानमा नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
‘कर्णालीको आन्तरिक आम्दानी निकै कमजोर छ । जनसङ्ख्यालाई आधार बनाएर सङ्घले पैसा दिँदै गर्दा त्यो पर्याप्त छैन,’ सभापति थापाले भने, ‘यसका लागि संविधान र कानुन नै परिवर्तन गर्नुपर्छ । काठमाडौँबाट कर्णालीले त्यो हक लिन सक्ने हुनुपर्छ ।’
कोही प्रधानमन्त्री भएर कर्णाली नबनाइदिने भन्दै थापाले कर्णालीलाई आफै बन्ने गरी शक्तिशाली र अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । ‘भन्नका लागि कर्णालीका बारेमा धेरै भन्न सकिन्छ । कर्णाली स्वर्ग हो, अन्नको भण्डार हो । देशकै सर्वाधिक राम्रो ठाउँ हो, यहाँको स्याउ, यार्सा सबैका बारेमा भन्न सकिन्छ’ रास्वपा नेता बालेन प्रति व्यांग्य गर्दै थापाले भने, ‘राराका बारेमा त कविता नै भन्न सकिन्छ ।’
केही दिन अगाडि रास्वपा नेता शाहले सुर्खेत सभामा राराबारे तारिफ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कर्णालीको विकासका लागि यहाँको भूगोललाई महसुस गर्नुपर्ने सभापति थापाले बताए ।
‘देशभर १७–१८ प्रतिशत गरिबी हुँदै गर्दा कर्णालीले ४० प्रतिशत गरिबी बोकेर किन बसिरहेको छ । यहाँ सबै भन्दा ठुलो बेरोजगारी किन छ ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएको छैन ?’ भन्दै उनले उल्टै प्रश्न तेर्साए ।
यसको उत्तरमा ‘म आएपछि सबै ठिक हुन्छ, पहिलेकाले केही गर्न सकेनन्’ भन्न सकिएपनि त्यस्तो उत्तरले समस्याको समाधान नदिने सभापति थापाले बताए । ‘विगतमा धेरै कम्प्रमाइज गर्नुपरेका कारण काम गर्न नसकेकाले अब पाँच वर्ष नेपाली काँग्रेसले गर्छ । तपाईँहरू नझुक्किनुहोस्,’ उनले भने ।
कर्णालीको व्याप्त कुपोषणबारे बोल्दै थापाले गर्भमा हुर्कने बालकका लागि पनि लगानी गर्नुपर्ने बताए । ‘कर्णालीका आमा, पोषण र शिक्षामा पनि लगानी गर्नुपर्नेछ,’ उनले भने ।
सभापति थापाले आगामी पाँच वर्षका लागि कुन दलको एजेन्डा के छ भन्ने विषयमा आफु बहस गर्न तयार रहेको बताए । ‘सबै दलहरु आउनुहोस, एउटै मञ्चमा उभिऔं । पाँच वर्ष नेपालका निम्ति हाम्रो सोँच केहो, संकल्प के हो, हाम्रो योजना के हो यसको बारेमा छलफल गरौं’ उनले भने ।
प्रतिक्रिया 4