१४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन् ।
आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताउँदै प्रचण्डले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पारे ।
चितवन ३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गरे ।
‘नेपाली कम्युनिस्ट पार्टीको संयोजक चितवन ३ मा केन्द्रित भयो भन्नेकुरा बिल्कुल गलत कुरा भन्नुभयो तपाईंले । म गएको पनि छैन निर्वाचन प्रक्रिया शुरु भएदेखि चितवन ३ मा, मैले वक्तव्य दिएर ल रेनुलाई जिताउन पर्यो पनि भनेको छैन । रेनु आफ्नै कर्मले, आफ्नै कामले स्थापित छिन्, परिचित छिन्, त्यो तपाईंहरूलाई पनि थाहा छ । म न गएको छु, न वक्तव्य दिएको छु, न अन्तर्वार्ता दिएको छु ।’
आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको उनले बताए ।
‘तर बहस चलिराख्या छ । त्यो स्वभाविक रुपमा चलेको ठान्छु मैले । र रेनु दाहालले त्यहाँ ९ वर्षमा गरेको काम नै उनको लागि प्रचारको मुख्य आधार भएको कुरा मलाई लाग्छ तपाईंहरूले देखिराख्नु भएको छ । त्यसकारण मलाई लगेर त्यहाँ जोड्नु जबर्जस्ती गलत हुन्छ । म माथि अन्याय हो, त्यो रेणु माथि पनि अन्याय हो । रेणुले गरेको कामप्रति पनि अन्याय हो भन्ने लाग्छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4