१५ फागुन, माझीटार (पाँचथर) । तमोर र हेवा खोला जोडिने आसपासको माझीटार क्षेत्रमा पनि यतिबेला चुनावी गतिविधिले छोएको छ ।
विभिन्न पार्टीका उम्मेदवार र कार्यकर्ताहरु पालैपालो भोट माग्न आइरहेका छन् । तर बस्तीका माझी समुदायको अनुहारमा चुनावी उत्साहभन्दा बढी सन्देह देखिन्छ ।
६६ वर्षीय जसबहादुर माझी भन्छन्, ‘माछा खान आउँछन्, घुम्न आउँछन्, भोट माग्छन् तर हाम्रो अवस्था के छ भनेर कसैले सोध्दैन ।’ उनको यो भनाइमा गुनासो मात्र होइन, वर्षौंदेखिको उपेक्षाको अनुभूति मिसिएको छ ।
तमोर र हेवा खोला नजिकै भए पनि माझी समुदायले जोत्ने खेतमा पानी पुर्याउने कुलो छैन । माझीहरु साहुका खेत जोतेर परिवार पाल्छन् ।
वर्षामा हेवा खोलाको बाढीले साहुका खेतबारी बगायो । माझीले पसिना बगाउने जग्गा गुमाए ।
बाँकी बचेका खेतबारीमा सिंचाइ सुविधा छैन । विगतमा जस्तो माछा मारेर मात्रै गुजारा चलाउने अवस्था पनि छैन ।
हाल मजदुरी गरेर जीवन चलाउँदै आएका माझीहरू अप्ठ्यारोमा परेका छन् । ‘जग्गा हाम्रो होइन, साहुकै कमाएका छौं । धेरै जमिन बाढीले लग्यो । बचेकोमा पनि सिँचाइ छैन,’ जसबहादुर भन्छन्, ‘सिँचाइको काम पनि कसैले गरिदिएन ।’

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा फैलिएको माझी बस्तीमा थोरै मात्र जग्गा माझीहरूको नाममा छ । अधिकांश परिवारले अरूकै जमिन कमाएर गुजारा चलाइरहेका छन् ।
माझी समुदायको परम्परागत पेशा डुंगा चलाउने थियो । तर वर्षौंदेखि त्यो बन्द छ । सीमित रूपमा माछा मार्ने काम भए पनि त्यसले घर धान्न पुग्दैन । त्यसैले दैनिक ज्याला मजदुरी नै जीवन जिउने मुख्य आधार बनेको छ ।
माझी उत्थान संघ पाँचथरका अध्यक्ष तथा स्थानीय बासिन्दा राम बहादुर माझी स्वयं वडा सदस्य छन् । उनी भन्छन्, ‘सानो सिँचाइ कुलोको माग पनि पूरा भएन । मोटर चलाएर पानी ल्याउने योजना बनाउँदा पनि विश्वास गरिएन ।’

बस्तीमा ४० घर छन् र ५६ मतदाता । तर आफूहरुले भोग्दै आएको समस्याप्रति कसैले चासो नदिएको गुनासो उनीहरुबाट सुनिन्छ ।
माझीटारलाई तमोर करिडोर र मध्यपहाडी लोकमार्गले छोएको छ । सडक पुगेपछि चहलपहल बढेको छ । तर आर्थिक रूपमा कमजोर माझीहरू नयाँ अवसर समात्न सकेका छैनन् । बरु बाहिरबाट आएका व्यवसायीले यहाँ पसल र साना उद्योग थालेका छन् ।
चन्द्रकुमारी माझीलाई रोजगारीको अवसर र सिँचाइ सुविधा भए जीवन धान्न सजिलो हुन्थ्यो भन्ने लागेको छ । ‘साहुको खेत बगाएको देखिहाल्नु भयो । खेतीपाती छैन,’ उनी भन्छिन्, ‘नेताहरूले रोजगारी र सिंचाइ सुविधाको व्यवस्था गरिदिए हुन्थ्यो ।’

सदरमुकाम फिदिमबाट करिब १० किलोमिटर टाढाको यो बस्तीमा सडक, खोला र चुनावी भीड त पुगेका छन् । तर माझीहरू आधारभूत सुविधाबाट अझै टाढा छन् ।
उनीहरू भोट दिन्छन्, लोकतन्त्रको प्रक्रिया पूरा गर्छन् । तर उनीहरूलाई चुनाव जितेर जाने नेताहरुले आफूहरुका लागि केही गरिदेलान् भन्ने आश भने कम छ ।
जसबहादुर माझी भन्छन्, ‘भोट त दिनैपर्ला तर भोटले हाम्रो जीवन बदलिन्छ भन्ने आश छैन ।’
प्रतिक्रिया 4