+
+
Shares

पोखरा आमसभाको सन्देश- कांग्रेस बदलिएको आभास मतदाताले पाए जितिन्छ

सभापति गगनले पोखरामा आयोजित सभामा व्यक्ति नभई प्रणालीले देशको विकास गर्नेमा जोड दिए । यस्तै कार्यकर्तालाई घरघर पुगेर जनताको प्रश्न सुन्न र मतादातालाई मनाउन पनि आग्रह गरे ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ फागुन १५ गते २०:४५

१५ फागुन, पोखरा । पोखरामा भेटिएका तनहुँ भिमादका बलबहादुर थापा नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गरेपछि उत्साहित छन् । उनलाई लागेको छ– कांग्रेस नबदलिएको भए नयाँ पार्टीका पक्षमा देखिएको लहरले उनीहरूलाई दुई तिहाइ नै दिलाउँथ्यो । तर, अहिले गगनले कांग्रेसको नेतृत्व गरेपछि जनमत फर्किएको छ ।

‘विद्रोह गरेर गगन नेतृत्वमा नआइदिएको भए कांग्रेसले के भनेर भोट माग्थ्यो होला, सोच्नुस् त ? न देखाउने अनुहार हुन्थ्यो न यत्रो आन्दोलनपछि जनतालाई विश्वासमा लिने कुनै एजेन्डा नै हुने थियो,’ बलबहादुरले भने, ‘अब विशेष महाधिवेशनपछि मत माग्ने एजेन्डा पाइएको छ । गगनले आशा जगाएका छन् ।’

पर्वतबाट कांग्रेसको आमसभामा आएका रोशन हमाल नयाँ नेतृत्वले नेता कार्यकर्तामा उत्साह भरिएको दाबी गर्छन् । तर, जनताको तहमा अझै नपुगिसकेको अनुभव सुनाउँछन् ।

‘बदलियो कांग्रेस, बदल्छ देश भनेर गगन आए, उनले एजेण्डामा कुरा गरिरहेका छन्, आशा पनि जगाइरहेका छन् तर थोरै ढिला भयो । कतिपय स्वतन्त्र मतदाता भड्किसके,’ उनले भने । माथिल्लो तहमा कांग्रेस बदलियो भनेर गए पनि तल्लो तहमा पुरानै अनुहार उम्मेदवार रहेकाले उत्साह मतदातामा पुग्न कठिन भएको उनको अनुभव छ ।

जेनजी आन्दोलनपछि कास्कीमा सुरुमै विशेष महाधिवेशन माग्दै हस्ताक्षर थालिएको थियो । कास्की-१ का सभापति राजेन्द्रमणि लामिछाने त्यो बेला पुरानै नेतृत्व चुनावमा गए मत माग्न माग्न नसकिने महसुस गरेको स्मरण गर्छन् ।

‘हामीले त सुरुआती दिनमै कांग्रेसको नेतृत्व नबदलिए, मत माग्न हिँड्दैनौँ नै भन्यौँ । हिँड्दैनथ्यौँ पनि,’ उनले भने, ‘अहिले त कम्तीमा हामीसँग नयाँ नेतृत्व छ । कार्यकर्तामा अब कांग्रेस बन्छ भन्ने हौसला छ ।’ अब कांग्रेसले देशको नेतृत्व गर्छ भन्ने जनतामा अनुभूत हुन थालेको उनी दाबी गर्छन् ।

विशेष महाधिवेशनपछि कांग्रेसले पोखरामा कार्यकर्ता प्रशिक्षण नै गरेको थियो । शुक्रबार अमरसिंह चौरमा आमसभा नै गरेको छ । कांग्रेसबाहेक यहाँ अहिलेसम्म कसैले ठुलो चुनावी सभा गरेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको आमसभा पनि स्थगित गरेको थियो । एमालेले सुरसार नै गरेको छैन ।

यस पटक कास्कीका तीनै क्षेत्रमा कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ । क्षेत्र नम्बर १ मा तिलक रानाभाट, २ मा माधवप्रसाद बास्तोला र ३ मा मनोज गुरुङ उम्मेदवार छन् । यसअघि गठबन्धनका कारण कास्की–१ मा मात्रै कांग्रेसले उम्मेदवार उठाएको थियो । विशेष महाधिवेशनबाटै कांग्रेसले यसपालि गठबन्धन नगर्ने घोषणा गरेको थियो । जसमा गगनलाई साथ दिने कास्कीका नेता धेरै थिए ।

कांग्रेसले बदलिएको एजेन्डा मतदातासम्म पुग्न नसकेको महसुस नेताहरूलाई नै भइसकेको छ । ‘अब कांग्रेस जाग्यो, देशको विकास पनि यसैले गर्छ भनेर भरोसा दिलाउनु छ । नागरिकसम्म पुर्‍याउनु छ,’ कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको यो भनाइबाट त्यही पुष्टि हुन्छ ।

यद्यपि नेताहरूले एक पटक बल गर्नुपर्नेमा जोड दिइरहेका छन् । ‘कांग्रेसमा उत्साह जागेको छ, त्यो तरंग मैदानमा पुर्‍याउनुपर्ने छ,’ कास्की सचिव भानु ढकालले भने, ‘यस पटक कास्कीका तीन वटै क्षेत्रमा जित्छौँ । जित्नै पर्छ भनेर मतादाताको घरघर जाने अभियान चलाइरहेका छौँ ।’ शुक्रबारको आम सभाले त्यसैलाई बल पुर्‍याएको उनले बताए ।

सभामा भेटिएका नेता-कार्यकर्ता सभापति गगन र उपसभापति विश्वप्रकाश शर्माले देशको बागडोर सम्हाल्नसक्नेमा विश्वस्त सुनिए । नयाँ भनेर आएका दल अलमलिएको उनीहरूको बुझाइ छ ।

सभामा गगन-विश्वले के भने ?

सभापति गगनले पोखरामा आयोजित सभामा व्यक्ति नभई प्रणालीले देशको विकास गर्नेमा जोड दिए । यस्तै कार्यकर्तालाई घरघर पुगेर जनताको प्रश्न सुन्न र मतादातालाई मनाउन पनि आग्रह गरे ।

अब बन्ने कांग्रेस सरकार विकास र सुशासनमा रत्तीभर नचुक्ने उनले बताए । यस्तै पहिलो निर्णय नै शक्तिशाली छानबिन आयोग बनाएर जाने प्रतिबद्धता जनाएका गगनले शेरबहादुर देउवा र आफूबाटै छानबिन थाल्नेसमेत बताए ।

यस्तै गगनले अबको निर्वाचनपछि मुलुकमा दुई खालको अतिवादको चिन्ता रहेको पनि बताए । ‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ एमाले र केपी शर्मा ओलीलाई लक्ष्य गर्दै उनले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ । त्यो भएको हुँदै होइन भन्छ, त्यो केवल षडयन्त्र हो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’

यस्तै अर्को अतिवाद रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गरे । ‘यस्तै प्रकारको अर्को अतिवाद छ । जो मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दै गर्दा आफै जेलबाट पनि भाग्छ ।’ आगामी पाँच वर्षको समय सम्हाल्नुपर्ने उनले बताए । थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाउन आह्वानसमेत गरे ।

उपसभापति शर्माले अबको बाँकी समय घरघर पुगेर मतादातालाई भेट्न र म नै उम्मेदवार हुँ भनेर लाग्न आह्वान गरे । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको देश सम्हालिदिने शक्ति आवश्यक पर्ने भन्दै उनले त्यो शक्ति र क्षमता कांग्रेससँगमात्रै गरेको जिकिर गरे । ‘मूल प्रश्न सिंहदरबारमा नेतृत्व गरेर २३ र २४ गतेपछिको आँधी हुरी तुफानलाई व्यवस्थित पारेर कसले साम्य पार्न सक्छ भन्ने हो,’ उपसभापति शर्माले भने ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?