१७ फागुन, गुल्मी । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत गरेको बताएका छन् ।
तनाव तीव्र बन्दै जाँदा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको तथा प्रत्युत्तरमा इरानले यूएई, कतार, कुवेत, बहराइन, जोर्डन, इराक र साउदी अरबमा रहेका अमेरिकी सुरक्षा बेस तथा अन्य संरचनालाई निशाना बनाएको छ । यस घटनाक्रमले क्षेत्रीय युद्धको सन्त्रास बढाएको ज्ञवालीले बताएका छन् ।
चुनावी घरदैलोमा रहेका ज्ञवालीले खाडी क्षेत्रमा कार्यरत करिब १० लाखभन्दा बढी नेपाली श्रमिकको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनसक्ने बताउँदै नेपाल सरकारलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राखी उद्धार तथा सुरक्षासम्बन्धी तयारी अवस्थामा रहन सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी, सम्बन्धित देशमा रहेका नेपाली दूतावासलाई सक्रिय भूमिका निर्वाह गर्न तथा त्यहाँ कार्यरत नेपालीहरूलाई आधिकारिक निर्देशनको पालना गर्न अनुरोध गरेका छन् ।
अफवाहबाट सचेत रहँदै संयमित र धैर्यपूर्वक अवस्था सामना गर्न उनले खाडीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आह्वान गरेका छन् ।
युद्धरत पक्षलाई तत्काल युद्धविराम गरी संवादमार्फत समस्या समाधानतर्फ अघि बढ्न अपिल गर्दै उनले क्षेत्रीय शान्ति, स्थिरता र मानवीय सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4