News Summary
Generated by OK AI. Editorially reviewed.- एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मध्यपूर्वमा युद्धजन्य अवस्थाका कारण नेपालीको सुरक्षाका लागि नेपाल सरकारलाई कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ।
- संघले मध्यपूर्वका सात देशमा भारी बम वर्षा र क्षेप्यास्त्र प्रहार भएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरेको छ।
- एनआरएनएले नेपाल सरकारसँग समन्वय गरी २४ सै घण्टा हटलाइन सेवा सुरु गर्ने प्रस्ताव गरेको र युद्ध प्रभावित क्षेत्रका नेपालीलाई सुरक्षित फिर्ता गराउने तयारी गर्न आग्रह गरेको छ।
१७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा शक्तिशाली राष्ट्रहरूबीच विकसित युद्धजन्य अवस्थाका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ । यही सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्र मन्त्री वालानन्द शर्मालाई निर्णयबारे जानकारी गराउँदै नेपालीहरूको सुरक्षा, हटलाइन र उद्धारको तयारीको लागि आग्रह गरेका हुन् ।
पत्रमा संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, ओमान, कुवेत, बहराइन लगायतका मुलुकमा करिब २० लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको उल्लेख छ । ती मुलुकहरूमा बढ्दो सैन्य गतिविधि र आक्रमणका घटनाले नेपाली समुदायमा त्रास र असुरक्षाको भावना बढेको संघले जनाएको छ ।
अबुधावी विमानस्थलमा भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको दुःखद समाचार प्राप्त भएको उल्लेख गर्दै संघले गहिरो दुःख व्यक्त गरेको छ । उक्त घटनापछि त्यहाँ रहेका नेपालीहरूमा थप भय र अन्योल उत्पन्न भएको जनाइएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का दुवै अध्यक्षको सहभागिता तथा मध्यपूर्व संयोजक श्रेष्ठको संयोजनमा बसेको भर्चुअल बैठकले अवस्थालाई गम्भीर रूपमा लिँदै नेपाल सरकारसमक्ष विभिन्न निर्णय तथा अनुरोध गरेको हो ।
बैठकका निर्णयअनुसार हालै इरानबाट मध्यपूर्वका सात देशमा भारी मात्रामा बम वर्षा तथा क्षेप्यास्त्र प्रहार भएको उल्लेख गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरिएको छ ।
त्यस्तै संघले आफ्ना अनुभव, स्रोत र साधनको अधिकतम प्रयोग गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूसँग समन्वय गरी २४ सै घण्टा हटलाइन सेवा सुरु गर्ने प्रस्ताव गरेको छ । विशेषगरी मध्यपूर्वमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अभियन्ताहरूलाई प्रत्यक्ष समन्वयमा सक्रिय बनाउँदै आपत्कालीन सहयोग तथा सूचनाको आदान–प्रदानलाई तीव्र बनाइने जनाइएको छ ।
संघले मध्यपूर्वलाई ट्रान्जिट बनाएर नेपाल फर्कने क्रममा विभिन्न देशबाट आएका नेपाली पनि समस्यामा पर्न सक्ने भन्दै तिनको समेत समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।
यदि अवस्था अझ जटिल बन्दै गएमा युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई कूटनीतिक पहलमार्फत सुरक्षित र व्यवस्थित रूपमा स्वदेश फिर्ता गराउने तयारी अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया 4