+
+
Shares

आक्रमण-प्रत्याक्रमणले खाडी देशको भविष्य के होला ?

अमेरिका र इजरायलले इरानमा सम्भावित सत्ता परिवर्तन चाहेको विश्लेषण पनि छ । भविष्यमा इरानको सत्ता कसको हातमा जान्छ भन्ने कुराले क्षेत्रीय समीकरण निर्धारण गर्ने देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ९:३४
Photo Credit : AFP
इजरायलको हमलामा परेको लेबनान ।

१९ फागुन, काठमाडौं  । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसमेत मारिने गरी आक्रमण गरेको केही घण्टामै इरानले मध्यपूर्वका कैयौँ इस्लामिक देशहरूमा हमला थालेको छ ।

इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त कारबाहीमा सहयोग गरेको ठहर गर्दै इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई निशाना बनाइरहेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले आफ्नो विज्ञप्तिमा ‘ट्रुथफुल प्रोमिस–४’ अभियानअन्तर्गत अमेरिका–इजरायलका आक्रमणको प्रतिकारस्वरूप अमेरिकी अड्डा र सम्पत्तिलाई निशाना बनाइरहेको जनाएको छ ।

आईआरजीसीका अनुसार इरानले निशाना बनाएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत र जोर्डन समावेश छन् ।

अमेरिका र इजरायलले इरानमाथि निरन्तर आक्रमण गरिरहेकाले त्यसको जवाफस्वरूप इरानले पनि हमला सुरु गरेको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले आत्मरक्षाका लागि सबै सैन्य उपाय प्रयोग गर्ने बताएका छन् ।

यी घटनापछि मध्यपूर्वको अवस्था झन् गम्भीर बनेको छ र क्षेत्रीय स्थिरताबारे चिन्ता बढेको छ । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्राकृतिक ग्याँसको मूल्य आकासिएको छ ।

युएईमा भएको आक्रमणमा एक नेपाली र एक भारतीयको समेत मृत्यु भएपछि वैदेशिक रोजगारीमा रहेका लाखौं प्रवासीको सुरक्षाबारे चिन्ता बढेको छ ।

यूएईमा नेपाली र ओमानमा भारतीय मारिए

इरानका आक्रमणपछि यूएईका दुबई र अबुधाबी विमानस्थलमा एक जनाको मृत्यु भएको र ११ जना घाइते भएको जनाइएको छ ।

युएईको आबुधाबीका अधिकारीहरूले जायद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी प्रहार गरेको एक ड्रोनलाई बीचमै खसालिएको पुष्टि गरेका छन् तर खसेको भग्नावशेषका कारण एक जनाको मृत्यु र सात जना घाइते भए ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रु संख्याका हिसाबले विश्वकै सबैभन्दा व्यस्त विमानस्थल मानिन्छ । उक्त आक्रमणमा त्यहाँ पनि क्षति पुगेको र चार कर्मचारी घाइते भएको जनाइएको छ ।

यसैगरी ओमानको खाडीमा एक तेल ट्यांकरमाथि ड्रोन आक्रमण हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ओमानको मस्कटस्थित भारतीय दूतावासले सामाजिक सन्जाल प्लेटफर्म एक्समार्फत् भारतीय नागरिकको मृत्यु भएको जानकारी दिएको हो ।

खाडी मुलुकहरुमा इरानको लगातार आक्रमणका कारण मध्यपूर्वको आकाश हुँदै आवतजावत गर्ने हजारौं उडानहरू रद्द वा स्थगित गरिएका छन् । आइतबार, १ मार्चमा पनि इरानले प्रतिआक्रमण जारी राख्यो । दोहा, दुबई तथा मनामामा विस्फोटको आवाज सुनिएको थियो ।

इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गर्दै खाडी क्षेत्रमा अमेरिकाका सहयोगी देश र अड्डाहरूमा व्यापक आक्रमण गरेको छ ।

यसबीच कतार, बहराइन, जोर्डन र कुवेतले आफ्नोतर्फ प्रहार गरिएका मिसाइलहरू अवरुद्ध गरेको दाबी गरेका छन्, तर खसेका भग्नावशेषका कारण ठूलो क्षति पुगेको बताएका छन् । ती देशहरूमा अमेरिकी सैन्य अड्डा रहेका छन् ।

दुबईमा पनि एक हवाई आक्रमण रोक्ने क्रममा खसेको भग्नावशेषका कारण जेबेल अली समुद्री बन्दरगाहको एक भागमा आगलागी भएको थियो । यो विश्वकै नवौँ सबैभन्दा व्यस्त बन्दरगाह मानिन्छ ।

बहराइनको गृहमन्त्रालयले ड्रोन आक्रमणका कारण त्यहाँको विमानस्थलमा क्षति पुगेको जनाएको छ । आइतबार बिहान पनि यस्ता आक्रमणको अपुष्ट समाचार आएका थिए ।

शनिबार आईआरजीसीले बहराइनको राजधानी मनामामा अवस्थित अमेरिकी नौसेनाको पाँचौँ डफ्फाको मुख्यालयमा हमला गरेको दाबी गरेको थियो । उक्त क्षेत्रबाट कालो धुवाँका ठूला मुस्लाहरू उठिरहेको देखिएको थियो ।

यसैगरी ओमानको सरकारी समाचार एजेन्सीले दुक्मको व्यावसायिक बन्दरगाहमा दुई ड्रोन खसेर एक कर्मचारी घाइते भएको जनाएको छ ।

अहिलेसम्म कस्तो प्रतिक्रिया आयो ?

मुस्लिम बहुल खाडी देशहरूमाथि इरानले गरेको आक्रमणपछि धेरै देशहरूले कडा प्रतिक्रिया जनाएका छन् र यसलाई आफ्नो सार्वभौमिकताको उल्लंघन भएको बताएका छन् ।

अर्गनाइजेसन अफ इस्लामिक को–अपरेसन (ओआईसी) ले पनि इरानको आक्रमणको निन्दा गरेको छ । ५७ सदस्य राष्ट्र रहेको ओआईसीलाई प्राय: इस्लामिक विश्वको सामूहिक आवाज मानिन्छ । सन् १९६९ मा स्थापना भएको यस संस्थाको उद्देश्य विश्वभरका मुस्लिमहरूको हित संरक्षण गर्नु हो ।

ओआईसीले जारी गरेको वक्तव्यमा सदस्य राष्ट्रहरूको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूको निरन्तर उल्लंघन खतरनाक उदाहरण भएको बताइएको छ । यसले असल छिमेकी सम्बन्ध, पारस्परिक सम्मान र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कमजोर बनाउने उल्लेख छ ।

मक्कास्थित अन्तर्राष्ट्रिय इस्लामिक गैर–सरकारी संस्था मुस्लिम वर्ल्ड लिगले पनि छिमेकी अरब देशविरुद्ध इरानको कारबाहीको कडा आलोचना गरेको छ ।

के इरानले कूटनीतिक भूल गर्‍यो ?

जवाहरलाल नेहरू विश्वविद्यालयको स्कूल अफ इन्टरनेशनल स्टडीजका प्राध्यापक तथा मध्यपूर्व विषयका जानकार अश्विनी महापात्राका अनुसार इरानले कूटनीतिक भूल गरेको छैन । ‘अमेरिका र इजरायलको आक्रमणपछि इरानमा सत्ता संरचना कमजोर भयो । अहिलेको कारबाही आफ्नो जनतालाई सत्ता अझै कायम छ भन्ने सन्देश दिनका लागि हो,’ महापात्राले बीबीसी हिन्दीसँग भनेका छन् ।

उनका अनुसार इरानका सर्वोच्च नेता अली खामेनीको मृत्युले उत्पन्न शक्ति–शून्यताले अस्थिरता निम्त्याएको छ । यस्तो अवस्थामा सत्ता सम्हाल्ने पक्षभित्रै अन्योल देखिन्छ ।

उनी भन्छन्, ‘बाहिरबाट हेर्दा कूटनीतिक भूल जस्तो देखिन सक्छ, तर भित्रको अवस्था फरक छ । नीति कसले बनाउने र कस्तो जवाफ दिने भन्ने स्पष्टता छैन ।’

यसैगरी जामिया मिल्लिया इस्लामिया विश्वविद्यालय अन्तर्गत नेल्सन मण्डेला सेन्टर फर पीस एन्ड कन्फ्लिक्ट रिजोल्युसनका सहायक प्राध्यापक प्रेम आनन्द मिश्रा भने यसलाई इरानको स्पष्ट कूटनीतिक भूल मान्छन् । उनी भन्छन्, ‘यी आक्रमणले इरानको सैन्य क्षमताका सीमाहरू उजागर गरेका छन् । हताशमा चालिएको कदमले खाडी देशहरूलाई अझ नजिकबाट अमेरिकी सुरक्षा छातामुनि ल्याएको छ ।’

भविष्य कता जाला ?

विश्लेषकहरूका अनुसार अब प्रश्न उठेको छ के इरान थप कूटनीतिक अलगावतर्फ धकेलिनेछ ? प्राध्यापक महापात्राका अनुसार, मध्यपूर्व क्षेत्रका अधिकांश देश सुन्नी बहुल छन्, त्यसैले कूटनीतिक चुनौती नयाँ होइन । तर इरानलाई तत्काल सहानुभूति मिल्ने सम्भावना कम रहेको उनी बताउँछन् । ‘इजरायल र अमेरिकासँगको युद्धमा अन्य देशलाई किन तानियो ?’ भनेर इरानको आलोचना हुनेछ ।

अर्कोतर्फ, अमेरिका र इजरायलले इरानमा सम्भावित सत्ता परिवर्तन चाहेको विश्लेषण पनि छ । भविष्यमा इरानको सत्ता कसको हातमा जान्छ भन्ने कुराले क्षेत्रीय समीकरण निर्धारण गर्ने देखिन्छ ।

साथै, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाबारे पनि बहस भइरहेको छ । कतिपय विश्लेषकका अनुसार अमेरिकाको क्षेत्रीय सैन्य उपस्थिति अझ बढ्न सक्छ ।

रणनीतिक हिसाबले राजनीतिक र सैन्य दुवै उद्देश्य हुने भएकाले आगामी समय मध्यपूर्वका लागि निर्णायक हुन सक्छ ।

–बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?