१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको दिन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरुको संख्या बढेको छ । उपत्यका छाड्नेहरुको भीड काठमाडौंका उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ ।
कोटेश्वर, लोकन्थली, कलंकी, बल्खु र बालाजु माछापोखरी क्षेत्रमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देखिएको छ । उनीहरु परिवारका सदस्य, साथीभाइसँगै झोलाका भारी बोकेर गन्तव्यतिर गइरहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई हप्ताको बीचमा करिब आठ लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले अनलाइनखबरसँग भने, ‘केही दिनयता काठमाडौं भित्रिने भन्दा बाहिरिनेको संख्या बढेको छ । १८ गते साँझ साढे ६ बजेसम्ममा ७ लाख ५० हजारदेखि ८ लाखको हाराहारीमा मानिस बाहिरिएको तथ्यांक छ ।’ सबैभन्दा धेरै पश्चिम नाका नागढुंगाबाट मानिसहरु बाहिरिएको उनले बताए ।
गत भदौ महिनाको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिका कारण ताजा जनादेशका लागि यही फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया 4