+
+
Shares

मध्यपूर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन – व्यवसायी घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले पश्चिम एसियाको द्वन्द्वका कारण तत्काल नेपालमा पेट्रोलियम पदार्थ अभाव नहुने बताएका छन्।
  • घिमिरेले ग्यास आपूर्ति श्रृङ्खला भारतमा निर्भर भएकाले ग्यास अभाव देखिएको र समस्या समाधानतर्फ गइरहेको बताए।
  • द्वन्द्वका कारण उडान रद्द हुँदा हवाई इन्धनको खपत घटेको र नेपालमा पर्याप्त भण्डारण भएकाले त्रासमा नपर्न उनले सुझाए।

१९ फागुन, काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व- नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन् ।

‘बेलाबेला नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ’ घिमिरले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’

अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृङ्खलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ ।

‘अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृङखला भने फरक किसिमको छ । हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै हो,’ उनले भने, ‘यही कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमा नै बढी ढुवानी गरिदिने गर्छन् । यसले नेपालमा समस्या पैदा गरेको छ ।’

अहिले पश्चिम एसियामा भएको युद्धका कारण अभाव त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले बताए । यसले गर्दा ग्यास अभावको समस्या केही मात्रामा देखिएपनि यो समस्या समाधानतर्फ गइसकेको उनको भनाइ छ । द्वन्द्वका कारण उडान रद्द हुँदा हवाई इन्धनको खपत घटेको र नेपालको सन्दर्भमा भण्डारण पर्याप्त भएकाले त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?