+
+
Shares

निर्वाचन मौन अवधिको के छ अभ्यास ?

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियाअन्तर्गत नै पर्ने मौन अवधिलाई राम्रो व्यवस्थाका रूपमा व्याख्या गरे । ‘यो इलेक्सनको सिस्टमभित्र नै पर्ने कुरा हो,’ उनको भनाइ छ, ‘कतिपयले मौन अवधिलाई खराब पनि भन्छन् । तर, मौन अवधि राम्रो हो ।’

केशव सावद केशव सावद
२०८२ फागुन २० गते ८:३७
Photo Credit : RSS

२० फागुन, काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरू भएको छ । निर्वाचन अयोगले मतदान अघिको ४८ घण्टादेखि मौन अवधि सुरु गरेको हो ।

निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ । मौन अवधिमा दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरणहरू तोकिएका छन् ।

मतदातालाई अन्तिम समयमा बिना दबाबबिना मतदान गर्न, शान्त वातावरणमा मतदानको अवसर सुनिश्चितता गर्न र चुनावी प्रक्रिया निष्पक्ष र पारदर्शी राख्न निर्वाचन आयोगले निर्वाचनहरूमा मौन अवधि लागू गर्दै आएको छ ।

मतदानको समयमा प्रतिस्पर्धीहरू दलहरूबीचको सम्भावित विवाद अथवा झडप रोक्न र सम्भावित अप्रिय घटनाका कारण मतदातामा सिर्जना हुने आतंक फैलिन नदिन मौन अवधि सुरू गर्ने प्रचलन छ ।

नेपालमा प्रजातन्त्र पुनर्वहालीपछि २०४८ सालको आमनिर्वाचनबाट मौन अवधिको अभ्यास सुरुवात भएको पाइन्छ । मतदातालाई अन्तिम समयमा प्रभावित हुनबाट जोगाउन र निष्पक्ष निर्णय लिन स्वतन्त्र समय दिन मौन अवधिको प्रावधान बनाइएको हो ।

आमनिर्वाचन २०४८ का प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनहरूमा मौन अवधि लागू हुँदै आएको बताए । उनले नेपालको पहिलो आमनिर्वाचन २०१५ मा मौन अवधिको व्यवस्थाका बारेमा भने अनभिज्ञता प्रकट गरे ।

‘२०१५ मा मौन अवधिबारे म एकीन भन्न सक्दैन । २०४८ सालको इलेक्सन मैले नै गरेको हुँ । त्यतिबेला मौन अवधि थियो,’ उनले अनलाइनखबरसँग भने, ‘मौन अवधि डाइरेक्ट इलेक्सनहरूमा यो लागू हुँदै आएको छ ।’

पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले निर्वाचन प्रक्रियाअन्तर्गत नै पर्ने मौन अवधिलाई राम्रो व्यवस्थाका रूपमा व्याख्या गरे । ‘यो इलेक्सनको सिस्टमभित्र नै पर्ने कुरा हो,’ उनको भनाइ छ, ‘कतिपयले मौन अवधिलाई खराब पनि भन्छन् । तर, मौन अवधि राम्रो हो ।’

भारतमा सन् १९५१ देखि मौन अवधिको प्रावधान

छिमेकी मुलुक भारतमा पनि निर्वाचनको ४८ घण्टा अगाडिदेखि नै मौन अवधि लागू हुने गरेको छ । इलेक्सन कमिसन अफ इन्डियाका अनुसार सन् १९५१ देखि भारतमा मौन अवधिको प्रावधान लागू भएको हो ।

भारतको संसद्ले १७ जुलाई १९५१ मा जनप्रतिनिधित्व अधिनियम, १९५१ पास गरेको थियो । संसद्ले पारित गरेकै दिनबाट ऐन लागू भएको थियो । ऐनले निर्वाचन सञ्चालन, चुनावी प्रक्रियाहरू, भ्रष्ट आचरण र सम्बन्धित सजायका प्रावधानहरूलाई समेटेको छ ।

इलेक्सन कमिसन अफ इन्डियाका अनुसार ऐनको धारा १२६ ले मतदान हुनुअघि ४८ घण्टा मौन अवधि सुनिश्चित गर्ने र उक्त अवधिमा कुनै पनि चुनावी सामग्री प्रदर्शन, प्रसारण, सभा वा प्रचार गर्न निषेध गरिएको छ । भारतमा मौन अवधिमा निर्देशन उल्लंघन गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

बंगलादेशमा पनि ४८ घण्टे मौन अवधि

बंगलादेशमा पनि राष्ट्रिय निर्वाचनहरूमा मतदान सुरू हुनुअघि ४८ घण्टाको मौन अवधि लागू गरिन्छ । यो अवधिमा सबै प्रकारका चुनावी प्रचार–प्रसार बन्द गरिन्छ । यसले मतदातालाई निष्पक्ष वातावरणमा मतदानको लागि विचार गर्न समय दिन मद्दत गर्छ ।

बंगलादेशमा मौन अवधि लामो समयदेखि चलिरहेको परम्परा भने होइन । सन् २००८ मा इलेक्सन कोड अफ कन्डक्ट लागू भएपछि मौन अवधि क्रमिक रूपमा विकसित र नियमित अभ्यासमा आएको हो ।

अमेरिकामा राज्यपिच्छे फरक–फरक मौन अवधि

अमेरिकामा संघीय स्तरमा राष्ट्रिय रूपमा समान मौन अवधिको व्यवस्था देखिँदैन । निर्वाचन अधिको मौन अवधिका क्रममा अमेरिकामा अधिकांश नियम राज्य स्तरमा फरक–फरक छन् ।

अमेरिकाको वासिङटन डीसीमा मौन अवधि मतदान अगाडिको २४ घण्टाका लागि लागू गरिन्छ भने क्यालिफोर्निया र न्ययोर्कमा मौन अवधिको व्यवस्था नै देखिँदैन ।

अन्तर्रराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार क्यालिफोर्नियामा मतदानको दिन पनि चुनावी प्रचार जारी रहन्छ । फ्लोरिडामा मतदानको दिनमात्रै मौन अवधि लागू हुन्छ ।

यस्तै ओहिओमा मतदान सुरू हुनु २–३ घण्टा अघि, मुख्य राज्यमा मतदान सुरू भन्दा १२ घण्टा र मिचिगनमा मतदान सुरू हुनुभन्दा २ घण्टाअघिबाट मात्रै मौन अवधि सुरू हुन्छ ।

मौन अवधिमा के–के गर्न पाइँदैन ?

निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला गोष्ठीआदि गर्न नपाइने जनाएको छ ।

यस्तै बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज–भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न–गराउन पनि बन्देज लगाइएको छ ।

मौन अवधमिा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार–प्रसार सामग्री पोष्ट र शेयर गर्न पनि पाइँदैन ।

आयोगका अनुसार मौन अवधमिा निर्वाचन प्रचार–प्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

त्यस्तै मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्नु हुँदैन ।

मौन अवधमिा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत् गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन ।

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?