+
+
Shares

दार्चुलामा पनि निर्वाचनको सबै तयारी पूरा

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणना स्ठल पनि तयार पारिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना महेन्द्र नमुना मावि खलंगामा पारदर्शी र सुरक्षित बनाउन सीसीटिभी र तारजालीको व्यवस्था गरिएको छ।
  • दार्चुलामा ९२ हजार ९४८ मतदाता छन् र ११ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ।
  • फागुन २१ गते हुने निर्वाचनमा दार्चुलाका दुई मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै नेतृत्व गर्ने व्यवस्था गरिएको छ।

२० फागुन, दार्चुला । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणना स्ठल पनि तयार पारिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइएको छ । तारजाली लगाइएको ठाउँमा सिसीटिभीमार्फत निगरानी हुने ठाउँमा मतगणना हुनेछ ।

उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्ने गरी व्यवस्थापन मिलाइएको उनले बताए ।

‘मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत गिरीले भने, ‘मतगणनास्थलमा कार्पेट बिछ्याउने तारजाली लगाउने, सीसीटिभी जडान तथा विद्युतको बैकिल्पक व्यवस्थाको रुपमा जेनेरेटर तयारी अवस्थामा राखिएको छ ।’ प्रत्यक्षतर्फको मतगणनापछि समानुपातिक मतगणना गर्ने तयारी छ ।

जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाभरि ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन् भने दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागारमा रहेका बन्दीका लागि कारागारमै मतदान केन्द्र तोकिएको छ । यस मतदान केन्द्रमा २३ जना मतदाता र ७ जना कर्मचारी गरी ३० जना मतदाता छन् ।

यस्तै समानुपातिक मतदानको लागि घरेलु तथा साना उद्योग कार्यालयमा मतदान केन्द्र तोकिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा २२ मतदानस्थललाई अति संवेदनशील, ४१ संवेदनशील सूचीमा राखेको छ ।

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले मात्रै गरेका छन् ।

महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ को महेन्द्र नमुना मावि खलंगा र व्याँस गाउँपालिका–१ को छाङ्गरु मतदान केन्द्र रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद अवस्थीका अनुसार दुवै मतदान केन्द्रमा कर्मचारी सबै महिला राखिएको हो । महिलाले नेतृत्व गरेको महेन्द्र नमुना मावि खलंगामा ४०४ महिला र ३५९ पुरुष गरी कुल ७९३ जना मतदाता रहेका छन् ।

यो मतदान केन्द्रमा खटिएका मतदान अधिकृत व्याँस गाउँपालिकाका इन्जिनियर महेश्वरी धामी र सहायक निर्वाचन अधिकृतको रुपमा व्याँस गाउँपालिकाका अधिकृत छैटौ सपना सिंह खटाइएको छ ।

यो मतदान केन्द्रमा सुरक्षाकर्मी पनि महिला नै बढि छन् । मतदान केन्द्रमा स्वयंसेवक पनि महिलालाई प्राथमिकता दिएर नियुक्त गरिएको मतदान अधिकृत महेश्वरी धामीले जानकारी दिइन् ।
यस्तै व्यासको छाङ्गरु मतदान केन्द्रमा महिला १९९ र पुरुष १७६ गरी कुल ३७४ जना मतदाता रहका छन् ।

यस मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा शंकरपुर मावि पस्तीका प्रधानाध्यापक भुवनेश्वरी अवस्थी खटाइएको छ, भने सहायक मतदान अधिकृतको रुपमा स्वास्थ्यकर्मी हरुदेवी खत्री खटाइएको छ ।

मतदान अधिकृत अवस्थीका अनुसार योपटक हामीलाई विशेष जिम्मेवारी दिइएको छ । महिलाले पनि निर्वाचन गराउन सक्छन् भन्ने हामीले देखाउनु छ । उनले भनिन्, सदरमुकाम खलंगामै भएको कारणले पनि मतदान गराउन सजिलो हुनेछ ।

योपटक प्रतिनिधि सभा निर्वाचनको लागि व्याँस गाउँपालिका–१ को मतदान केन्द्र सदरमुकाम खलंगास्थित वडा नम्बर ५ मा रहेको कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा तोकिएको छ ।

भने तिंकर गाउँको मतदान केन्द्र मोति महिला संघ आधारभूत विद्यालय तिंकर कायम गरिएको छ। यहाँका स्थानीयको गत मङ्सिर महिनामा खलंगा बसाइसरेका कारण निर्वाचन खलंगामै गरिएको हो । मोति महिला संघ आधारभूत विद्यालय तिंकरमा २४४ जना मतदाता रहेका छन् ।

जिल्लाभरि मतदान केन्द्र तयार पारिँदै

जिल्लाभरि मतदान कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदान केन्द्र तयार पार्ने काम धमाधम भइरहेको छ । बिहान ७ बजेदेखि मतदान हुने भएपछि आजै निर्वाचनको तयारी पूरा गरिदै छ ।

प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नौगाड गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालयमा समेत मतदान केन्द्र तयारी अवस्थामा राखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीका अनुसार मतदान अधिकृतसहित आवश्यक कर्मचारी र सुरक्षाकर्मीको टोली नागु पुगेर निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।

निर्वाचन गराउन नागु पुग्नुभएका मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीयको सहभागितामा निर्वाचनको तयारी थालिएको बताए । बैठकमा सहभागिहरुले कोही व्यक्ति मतदान गर्न आए अवरोध नगर्ने सहमति गरेका छन् ।

निर्वाचन बहिष्कारको घोषणा गरेका कारण यस क्षेत्रमा उम्मेदवार समेत मत माग्न गएका छैनन् । नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?