+
+
Shares

निर्वाचनमा सधैं संवेदनशील दोलखा, यसपालि कस्तो छ सुरक्षा ?

देशकै सबैभन्दा सुरक्षा संवेदनशील मानिएको जिल्ला हो दोलखा । यहाँ जिल्लाभर ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये ५२ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन २० गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखा जिल्लामा ९५ मतदान केन्द्रमध्ये ५२ अतिसंवेदनशील, २८ संवेदनशील र १५ सामान्य मतदान केन्द्र घोषणा गरिएको छ।
  • जिल्ला सुरक्षा समन्वय समितिले मतदानको दिन सुरक्षा चुनौती रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती गरिरहेको छ।
  • दोलखाका दुर्गम गौरीशंकर गाउँपालिका-९ र विगु गाउँपालिका-१ का मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

२० फागुन, काभ्रेपलाञ्चोक । देशकै सबैभन्दा सुरक्षा संवेदनशील मानिएको जिल्ला हो दोलखा । यहाँ जिल्लाभर ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये ५२ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ ।

यसअघिका निर्वाचनको समयमा देखिएका सुरक्षा चुनौतीलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समन्वय समितिले सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे बताउँछन् ।

उनले सुरक्षा चुनौती देखिए पनि शान्तिपूर्ण र मतादाताको मताधिकार सुनिश्चित हुने गरी तयारी गरिएको बताए ।

अघिल्लो निर्वाचनमा भएको घटनाहरुलाई मध्यनजर गर्दै मतदानको दिन हुन सक्ने सम्भावित हिंसात्मक झडप र बुथ कब्जा रोक्न र मतदाताहरुलाई ढुंक्कसँग मतदान गराउन जिल्लाभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि डीएसपीको नेतृत्वमा सुरक्षा प्रमुख रहने दोलखामा यसपटक एसएसपी सोमेन्द्र सिंह राठौरले कमान्ड सम्हालेका छन् ।

२०४८ देखि २०७९ सम्मका निर्वाचनहरूमा दोलखाका केहि मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न गर्न कठिनाइ देखिएको भन्दै यो पटक सुरक्षा रणनीति परिवर्तन गरेर प्रहरीका उच्च तहका अधिकृतलाई जिल्लामा खटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले अति संवेदनशील र संवेदनशील मानिएका केन्द्रहरुमा गत एक महिनादेखि नेपाली सेना, ससस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती गर्नुका साथै सूक्ष्म निगरानी गरिरहेको जानकारी दिए ।

‘अति संवेदनशील र संवेदनशील मानिएका स्थानहरुमा संयुक्त सुरक्षा बेस स्थापना गरिएको छ,’ घिमिरेले भने ।

अति संवेदनशील मानिएका मतदानस्थलका बाहिरी घेरामा सीसी क्यामरा जडान गरिएको छ ।

त्यस्तै सबैजसो मतदानस्थलमा सुरक्षाकर्मीले सूक्ष्म निगरानी गर्नेगरी व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख मनोज कुमार लामा बताउँछन् ।

लामाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त गस्ती, जाँचबुझ, मोबाइल गस्ती गरिरहेको बताए ।

‘सुरक्षालाई मध्यनजर गर्दै दोलखामा एकीकृत सुरक्षा योजना बनाएरै संभावित जोखिमको पहिचान गरेर काम गरिरहेका छौं,’ उनले भने,’सुरक्षा व्यवस्था कडा बनेको छ, मतदाताहरू ढुक्कसँग आएर मतदानमा सहभागी भैइदिनुहोस ।’

उनका अनुसार अति संवेदशील मानिएका क्षेत्रमा रात्रिकालीन गस्ती समेत बढाइएको छ ।

बैतेश्वरमा छुट्टै बेस स्थापना

दोलखामा सधैँ चर्चामा आउने बैतेश्वरमा तीनवटै सुरक्षा निकायको बेस स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार नेपाली सेनाको सेनानीको नेतृत्वमा तथा नेपाल प्रहरी र ससस्त्र प्रहरीको डिएसपीको नेतृत्वमा बेस स्थापना गरिएको छ ।

२०७९ सालको निर्वाचनमा दोलखाको तामाकोसी र बैत्यश्वरका चार मतदान केन्द्रमा विवाद भएपछि पुनः मतदान गराउनु परेको थियो ।

भोट हाल्न मतदातालाई बोलाउँदै सुरक्षाकर्मी

विगतमा यहाँका कतिपय मतदान स्थलमा मतदाताले मत खसाल्नै नपाउने अवस्था थियो । मत खसाल्न नपाउने भएपछि मतदाताहरू मतदानस्थलसम्म नजाने परम्परा नै बनेको थियो ।

यसपटक भने सुरक्षाकर्मीले नै मतदातालाई मत दिन आउन आग्रह गर्दै टोलटोलमा माइकिङ गरिरहेका छन् ।

विगतको जस्तो घटना हुन नदिन तथा मतदाताको सुरक्षासहित मतदानस्थल र मतपेटिकाको सुरक्षा गर्न सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्कसाथ मतदान गर्न आउन माइकिङ गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

‘विगतभन्दा सुरक्षा व्यवस्था फरक छ, सबैलाई सुरक्षा दिन्छौं ढुंक्कसँग मत हाल्न आउनुहोस भनेर सुरक्षाकर्मी प्रयोग गरेर माइकिङ गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।

त्यस्तै अतिसंवेदनशील मानिएका मतदानस्थलका मतदातालाई ढुक्क भएर मतदान गर्न घरघरै पुगेर प्रहरीले परामर्श दिएको डिएसपी लामाले बताए ।

विगतका निर्वाचनमा दोलखा

२०४८ सालयता भएका सबै निर्वाचनमा दोलाखा सधैँ चर्चामा छ । यहाँ २०४८ सालदेखि २०५६ को निर्वाचनमा कांग्रेस र एमाले बीच झडपका श्रृंखला भए । २०४८ मा एमालेका इन्द्रबहादुर खड्का निर्वाचित भएका थिए भने २०५१ मा काँग्रेसका भीमबहादुर तामाङ । त्यस्तै २०५६ मा एमालेका पशुपति चौलागाईंले तथा २०६४ मा माओवादीकी देवि खड्काले निर्वाचन जितेकी थिइन् ।

२०६४ मा माओवादी निर्वाचनमा सामेल भएपछि तत्कालीन समयमा माओवादीले एमाले र कांग्रेसकाको सभा बिथोलेका आरोप लाग्यो । २०६४ कै निर्वाचनमा माओवादीले एमाले नेता कार्यकर्ता चढेको बस र गाडीमाथि आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर २ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

०७० को संविधानसभा निर्वाचनका क्रम तथा मतदानकै दिनमा पनि विभिन्न स्थानमा झडप भएका थिए । अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास र गोली चलाएको थियो । ०७० मा एक दर्जन भन्दाबढी मतदानस्थलमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिँदा ५ दिनसम्म मतगणनानै रोकिएको थियो । तर पछि सहमति गरेर मतगणना सुरु गरियो । २०७० को निर्वाचनमा एमालेका पार्वत गुरुङ निर्वाचित भए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका–२ मा एमाले र माओवादीका कार्यकर्ता बीच झडपमा एमाले कार्यकताको मृत्यु भएको थियो । मेलुङ गाउँपालिका–१ मा मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले धाँधली भएको भन्दै शील गरेको मतपेटिका फुटाएर मतपत्र फालेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

त्यतिबेला पनि ६ जनालाई गोली लागेको थियो । २०७४ को संसदीय निर्वाचनमा समेत केहि केन्द्रमा झडप भएको थियो ।

०७९ सालमै भएको स्थानीय तहको निर्वाचनमा बैत्यश्वर र तामाकोसी गाउँपालिका तनावग्रस्त बनेको थियो । यहाँका ४ वटा वडामा बुथ कब्जा भएको थियो । ०७९ कै प्रतिनिधिसभा निर्वाचनमा समेत बुथ कब्जाको घटना भएको थियो । बैत्यश्वर–६ का एक वृद्ध मतदाताले मत खसाल्न नपाएपछि मतपेटिका फुटाइदिएका थिए ।

फर्जी मत हालेको विषयमा निर्वाचन आयोगले छानबिन गरेपछि त्यस स्थानका ४ वटा मतदानस्थलमा पुनः निर्वाचन भएको थियो । ०७९ मा प्रतिनिधिसभामा माओवादीका गंगा कार्की तथा प्रदेशमा काँग्रेसका कुन्दनराज काफ्ले र एमालेका भरतबादुर केसी निर्वाचित भएका थिए ।

हेलिकप्टरबाट मतपेटिका ढुवानी

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार जिल्लाका दुर्गम दुई स्थानका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइनेछ । जिल्लाको गौरीशंकर गाउँपालिका- ९ र विगु गाउँपालिका- १ मा रहेका मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने उनको भनाइ छ । अन्य स्थानका मतपेटिका भने स्थलमार्गमार्फत नै सदरमुकाम ल्याएर गणना गरिनेछ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?