News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं क्षेत्र नम्बर ८ का मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध छन् र भोट हाल्न उत्साहित छन्।
- ८२ वर्षीया लक्ष्मी महर्जनले विगतका निर्वाचनमा भोट हाल्दा केही नपाइए पनि यसपटक परिवर्तनको आशाले भोट हालेकी छिन्।
- पहिलो पटक मतदान गर्ने ४० वर्षीया गीता कायस्थ श्रेष्ठले नयाँ पुस्ताले देशमा परिवर्तन ल्याउने आशा व्यक्त गरिन्।
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को परोपकार मावि मतदान केन्द्र । बिहान ७ बजेदेखि नै मतदान गर्न मतदाता लामबद्ध छन् । भर्खरका तन्नेरीदेखि बयोवृद्धसम्म लाइनमा छन् ।
कोही आफ्नो नाम मतदाता सूचीमा हेरिरहेका हुन्छन् । कोही हातमा परिचयपत्र बोकेर मतदानस्थलतर्फ जान्छन् । कोही मतदान गरेर फर्किरहेका हुन्छन् ।
मतदान गरेर फर्किनेमध्येका एक थिइन्, ८२ वर्षीया लक्ष्मी महर्जन । विगतका हरेक निर्वाचनमा मतदान गरेको अनुभव सहित उनी कुराकानी गर्न तयार भइन् । यो पटक मतदानका लागि उनी छोरा राजुसँग आएकी थिइन् ।
‘जतिपटक भोट हाले पनि कसैले केही गरेन,’ उनको सुरुवाती गुनासो थियो । यो पटकको निर्वाचनबाट केही फरक हुन्छ भन्ने आशाले सकिनसकी भोट हाल्न आएको उनको भनाइ छ ।
‘धेरै पटक भोट हालियो, भोट माग्न आउँदा जो पनि हामी यस्तो गर्छौं, उस्तो गर्छौं भन्थे,’ उनले भनिन्, ‘तर, कसैले केही गरेनन्, यो पटक मैले मनदेखि नै केही हुन्छ भन्ने आशाले भोट हालेँ ।’

लक्ष्मीका ५३ वर्षीय छोरा राजुले यो पटक आमाको इच्छा अनुसार भोट हाल्न ल्याएको बताए । ‘हाम्रा नातिनातिनीहरूले त्यत्रो लडेर परिवर्तन हुनुपर्छ भनेर आए, यो पटक मेरो भोट खेर नजाओस् भनेर नै आमा खुसी भएर भोट हाल्न आउनुभयो,’ राजुले भने, ‘मैले पनि अब त साँच्चिकै देश परिवर्तन हुने, विकास हुने, जनताले विगतको जस्तो दु:ख पाउँदैनन् होला भन्ने आशाले भोट हालेँ ।’
त्यस्तै ताहाचलस्थित महेन्द्ररत्न मावि मतदान केन्द्रमा समेत मतदाता भोट हाल्न उत्साहित छन् । बिहानैदेखि लामबद्ध भएकाहरू समेत देश विकास होस्, कामका लागि कोही विदेश जान नपरोस् भन्ने पक्षमा छन् ।
६८ वर्षीय दीपराज कर्णिकारले २०४७ सालदेखि भोट हाल्दै आएका छन् । जतिपटक भोट हाले पनि अहिलेसम्म जनता र देशले धेरै दु:ख पाएको बताउँछन् ।

‘हामीले धेरै दु:ख पायौं, हामी कर तिर्छौं, एउटा कर हो र ? थुप्रै कर तिर्छौं, तर हामीले सुविधा केही पाएनौं,’ कर्णिकारले भने, ‘२१औं शताब्दीमा छौं, यही महेन्द्र क्याम्पसबाट हामीलाई पानी दिन्छ काठमाडौं उपत्यका खानेपानीबाट, राति १२ बजे दिन्छ, यस्तो मैलो पानी आउँछ कि भनिसाध्य हुँदैन, त्यस्तो स्थिति छ, यो परिवर्तन हुनुपर्यो ।’
जताततै भ्रष्टाचार, घुस नदिई काम केही नहुने बताउँदै उनले त्यो सबैलाई निमिट्यान्नै पारेर नयाँ आउनैपर्ने धारणा राखे ।
‘जे गर्दा पनि उनीहरूको आफ्नै मात्रै मान्छे, उनीहरू आफ्नै लागि मात्रै गर्छन्, हामी जनताले केही पाएनौं,’ उनले भने, ‘तर, यसपालि परिवर्तन हुनुपर्छ भनेर सोही अनुसार भोट हालेँ ।’
अब आउने नयाँ सरकारले जनताले भनेको कुरा पूरा गरिदिनुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै कालिमाटी टंकेश्वरीमा रहेको नीलवाराही मावि मतदान केन्द्रमा ९० वर्षीय मिश्रीलाल साह सुडी लौरो टेक्दै भोट हाल्न पुगे । विगतदेखि नै भोट हाल्दै आएका उनी यो पटक निकै आशासहित मतदान गर्न पुगेका छन् ।
उनकी श्रीमती ७४ वर्षीया भागुदेवी साहले समेत देशमा परिवर्तन आउने आशासहित मतदान गरेको बताइन् । उनीहरूको चाहना समेत अब साँच्चिकै देश परिवर्तन भएको हेर्ने छ । विगतका हरेक नयाँ पार्टी आउँदा भोट हाल्दै आए पनि साह दम्पती कसैले केही गर्न नसकेको गुनासो गर्छन् ।

जति पटक नयाँ भनेर आए, मतदान गरियो तर उनीहरूले देश झन् बर्बाद पारेको उनले बताए । यो पटक देश साँच्चिकै विकास हुन्छ कि भन्ने आशले मतदान गरेको उनको भनाइ छ ।
‘यो पटक नयाँलाई हेरौं न भनेर भोट हालेका छौं, उनीहरूले पनि गरेनन् भने ५ वर्षपछि आउने अर्को निर्वाचनमा उनीहरूलाई जनताले पत्याउँदैनन्,’ मिश्रीलालले भने, ‘अबको ५ वर्षसम्म काम गरेर जनताले भोग्दै आएका समस्या समाधान गरे भने ठिकै हो, नत्र अर्कोपालि चुनावले देखाउला नि !’
मरुहिटीमा रहेको शान्ति निकुञ्ज मावि मतदान केन्द्रमा मतदान गर्न पुगेका ७४ वर्षीया माया श्रेष्ठ आफ्नो मत खेर नजाओस् भन्ने पक्षमा छिन् । विगतमा हालेको मत खेर गएको अनुभूति भइरहेको बताउँदै उनले यो पटक देश राम्रो होस् भनेर भोट हालेको बताइन् ।
‘जहिले पनि एउटैलाई भोट दिइयो, भोट माग्ने बेला यस्तो गर्छौं, उस्तो गर्छांै भनेर आए अनि भोट दिईयो,’ उनले भनिन्, ‘तर, कसैले केही गरेनन्, यो पटक ठूलो आशा गरेर भोट हालेको छु, अब राम्रो हुन्छ भन्ने आशा छ ।’
६७ वर्षीया कान्छी महर्जनको समेत चाहना देशमा मौलाएको विकृति तथा विसंगति अन्त्य होस् भन्ने छ । उनका श्रीमान रविन्द्र महर्जनले पुरानालाई हेर्दा हेर्दा वाक्क लागेको बताए ।
नयाँले केही गर्छन् कि भन्ने आशले मतदान गरिएको उनको भनाइ छ । अब बन्द उद्योगधन्दा खुल्नुपर्ने, नयाँ–नयाँ रोजगारीका अवसर सिर्जना हुनुपर्ने, देशमा शान्ति सुरक्षा कायम हुनुपर्ने उनले बताए ।
अब कोही पनि कामका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
५० वर्षीय नरेश महर्जनले देशको आवश्यकता अनुसार काम गर्न नसकेपछि अहिलेको अवस्था आएको बताए । अब पनि गरिएन भने झन् भयावह अवस्था आउने उनको अनुमान छ ।

देश सबै कुरा सिस्टममा चल्नुपर्नेमा पावर र पहुँच भएकाहरूको हालिमुहाली रहेको उनको गुनासो छ । अब देश सिस्टम अनुसार चल्नुपर्छ भन्ने मान्यतासाथ मतदान गरेको उनले बताए ।
‘काम नगर्ने नेतालाई खबरदारी गर्न नसक्दा यस्तो समस्या आयो, १/२ वर्षमा काम नगर्नेका विरुद्ध आवाज उठाउने माध्यम हुनुपर्छ, त्यो नहुँदा जे गरे पनि हुन्छ भन्ने भयो,’ उनले भने ।
अब कुनै पनि सरकारी काम एकदम सहज तरिकाले हुनुपर्ने, जनताले हरेक काममा भोग्नुपरेको दु:ख अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक विषय राज्यले नै व्यवस्था गर्नुपर्ने उनले बताए। ‘आम नागरिकलाई समस्या पर्दा राज्य होस् भन्ने हुनुपर्छ, हामीलाई त्यति धेरै ठूलो केही चाहिएको छैन,’ उनले भने ।
वसन्तपुरमा रहेको हनुमानढोका सत्तल मतदान केन्द्रमा ४० वर्षीया गीता कायस्थ श्रेष्ठले आफ्नो जीवनकै पहिलो पटक मतदान गरिन् । खुट्टामा चोट लागेर २ साताअघि शल्यक्रिया गरेर बैसाखीको सहायतामा मतदान गर्न आएकी कायस्थले आफ्नो तीन पुस्ताले पहिलो पटक मतदान गरेको बताइन् ।

उनका ससुरा, श्रीमान/श्रीमती र छोरीले जीवनकै पहिलो पटक मतदान गरेको बताइन् । नयाँ आएका युवाले केही गर्छन् भन्ने आशासहित तीन पुस्ताले जीवनमै पहिलो पटक मतदान गरेको उनको भनाइ छ ।
‘अहिले म ४० वर्ष पुगिसकेँ, पहिलो पटक नै हो मैले भोट हालेको,’ उनले भनिन्, ‘त्योभन्दा अगाडि मलाई भोट हाल्ने कुनै चाहना थिएन, अहिले केही परिवर्तन हुन्छ कि भनेर त्यसैका लागि नै आएकी हुँ ।’
प्रतिक्रिया 4