२१ फागुन, काठमाडौं । सर्लाही ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले शान्तिपूर्वक मतदान चलिरहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत आज भएको मतदानमा सर्लाही ४ मा केही ठाउँमा विवाद भए पनि समाधान गरेर शान्तिपूर्वक मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
‘यहाँ शान्तिपूर्वक रुपमै निर्वाचन भइरहेको छ । मतदाताले राम्रोसँग मत खसाल्न पाइरहनु भएको छ । स-साना कुरालाई लिएर सामान्य विवादहरू भएका थिए । कर्मचारी, सुरक्षाकर्मीले सम्झाइबुझाइ गरेपछि रोकिएका ठाउँमा पनि पुन: मतदान भइसके,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ ।’
उनले साँझ ८ बजेसम्म सबै ठाउँको मतपेटिका संकलन गरिसक्ने पनि बताए । ‘साँझ ८ बजेसम्म सबै मतदान स्थल-केन्द्रको मतपेटिका गणनास्थलमा ल्याइसक्छौँ,’ उनले भने, ‘हामी आजै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।’
सर्लाही ४ को मतगणना वेणी भोला माध्यामिक विद्यालय गोडैतामा गर्ने व्यवस्था मिलाइएको छ । उनले केही मतदान केन्द्र र मतगणना स्थल २० किलोमिटरसम्म टाढा रहेको बताए ।
यहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहलगायत उम्मेदवार छन् ।
प्रतिक्रिया 4