News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचनमा मतदाताले पारदर्शिता, जवाफदेहिता र इमानदार नेतृत्वको माग गरेका छन्।
- मतदाताले सुशासन, भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जना प्रमुख अपेक्षा राखेका छन्।
- मतदाताले नयाँ अनुहार र सक्षम नेतृत्वलाई प्राथमिकता दिँदै क्रमशः विकासको आशा व्यक्त गरेका छन्।
२१ फागुन, काठमाडौं । ‘अब चुनाव जितेर आउने उम्मेदवारमा सत्यता हुनुपर्छ, पारदर्शिता हुनुपर्छ,’ प्रतिनिधिसभा निर्वाचनका दिन बिहीबार बिहान साढे ७ बजे काठमाडौं क्षेत्र नम्बर १ बबरमहलस्थित दूरसञ्चार प्राधिकरण मतदान केन्द्रमा मतदाता आपसमा कुरा गर्दै थिए ।
उक्त मतदान केन्द्रमा उनीहरूका गफ सुन्दा लाग्थ्यो– मतदानका लागि लागेको त्यो भिड नागरिक कर्तव्य पूरा गर्नमात्र थिएन, देशको भविष्यप्रति गहिरो चासो, आशा र आक्रोशको मिश्रित आवाज हो ।
प्रतिनिधिसभा नयाँ सदस्य चयनका लागि भोट खसालेर बाहिर निस्किएकी मतदाता काठमाडौं महानगरपालिका–११ निवासी २४ वर्षीया सरहाना श्रेष्ठले नयाँ नेतृत्वबाट आफूले नयाँ नै परिवर्तन चाहेको बताइन् ।
‘अब आउने मान्छेमा हुनुपर्ने मुख्य कुरा भनेको पारदर्शिता हो,’ उनले भनिन्, ‘अर्को भनेको जवाफदेहिता हो, कुनै नराम्रो काम भए पनि त्यो यसरी भएको हो भनेर स्वीकार्न सक्नुपर्छ, जे भइरहेको छ त्यसमा सत्यता हुनुपर्यो, खालि खोक्रो आश्वासन मात्र दिएर भएन ।’
देशमा व्याप्त बेरोजगारी र त्यसले गर्दा युवा विदेशिनुपरेको यथार्थप्रति पनि उनी चिन्तित छिन् । ‘अब आउने नेतृत्व युवा नै हुनुपर्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘यो उमेरको कुरा होइन, मुख्य त मान्छेमा भर पर्छ, जसले साँच्चै काम गर्न सक्छ, त्यस्तो व्यक्ति आउनुपर्छ, अनुभवहीन युवा आउनुभन्दा पनि जसले काम गरेर देखाउन सक्छ, उनीहरू नै नेतृत्वमा हुनुपर्छ ।’
उनको विचारमा युवा हुनु मात्रै परिवर्तनको ग्यारेन्टी होइन, बरु काम गर्ने इच्छाशक्ति, क्षमता र इमानदारी महत्त्वपूर्ण हो ।
देशमा रोजगारी सिर्जनाको विषयमा उनको दृष्टिकोण आशावादी तर यथार्थपरक छ । ‘अब चाहिँ रोजगारीका अवसर बिस्तारै बन्दै जान्छन् होला,’ उनी थप्छिन् ।

त्यहाँ हरेक उमेर समूहका मतदाता उत्साहपूर्वक मतदान गर्न लाइन लागिसकेका थिए । कोही मतदान गरेर बाहिरिँदै थिए । वातावरण एकदमै शान्त थियो ।
महानगरपालिका–११ कै मतदाता अम्बिका खरेललाई भोट खसालिसकेपछि देशमा सुशासन, रोजगारी र बन्द भएका उद्योगहरूको पुनर्जागरण हुन्छ भन्नेमा आशा जागेको छ ।
उनले मताधिकार प्रयोग गरेपछि नयाँ नेतृत्वबाट पहिलो र सबैभन्दा ठूलो माग सुशासन र भ्रष्टाचार अन्त्य रहेको बताइन् । ‘जसले देशमा सुशासन ल्याउँछ, भ्रष्टाचार गर्दैन, हामीलाई चाहिएको मुख्य कुरा त यही हो,’ उनले थपिन् ।
६८ वर्षीया खरेलका लागि सुशासनको अर्थ देशका युवाले स्वदेशमै अवसर पाउनु हो । उनी चाहन्छिन्, अबको नेतृत्वले युवालाई विदेशिनबाट रोक्न ठोस कदम चालोस् ।
‘सबै युवालाई यहीँ रोजगारी मिलोस्,’ उनी भन्छिन्, ‘त्यसका लागि उद्योग–कलकारखाना स्थापित होस्, सरकारले रोजगारी दिन नसके पनि त्यसका लागि वातावरण बनाइदिनुपर्छ, यही अपेक्षा लिएर मतदान गर्न आएँ ।’
त्यही मतदान केन्द्रको लाइनमा उभिएका विक्रम तण्डुकारले आफ्नो ठाउँको विकास गर्न सही उम्मेदवार चाहिने र सही उम्मेदवारलाई नै भोट दिन आफू उत्साहित भएको बताए ।
‘गत भदौमा भएको आन्दोलन देश विकास र नयाँ परिवर्तनका लागि भएको हो,’ उनले भने, ‘उनीहरूको बलिदान खेर जान दिनु हुँदैन, अब आउनेलाई काम नगर्ने छुट पनि छैन, आजको भोलि नहोला तर नयाँ क्रान्ति हुनुपर्छ भन्नका लागि नै मैले अमूल्य भोट दिएको छु ।’
त्यस्तै बिहान ९ बजे बुद्धनगर–१० स्थित स्वप्न बाटिका मतदान केन्द्र पुग्दा मतदाता बाक्लै संख्यामा उपस्थित भइसकेका थिए । त्यहाँ पुग्दा युवापुस्ता भन्दा पनि पाकापुस्ताको उपस्थिति बाक्लो थियो ।

कोही लौरोको सहारामा थिए त कसैलाई छोराबुहारीले सहारा दिइरहेका थिए । हातमा लठ्ठी, मनमा उत्साह र देशको भविष्यप्रति एक सरल तर गहिरो कामना ।
काठमाडौं–१० का ८७ वर्षीय डिल्लीप्रसाद गौतम र उनकी ८५ वर्षीया श्रीमती नानीमाया जब मतदान केन्द्र आइपुगे, उनीहरूको उपस्थितिमा दशकौंको अनुभव र नागरिक कर्तव्यको सुन्दर चित्र देखिन्थ्यो । धेरै राजनीतिक उतारचढाव देखेको यो दम्पतीको अबको नेतृत्वसँग एउटै अपेक्षा छ– देशमा शान्ति होस् र शासकहरू निष्पक्ष बनुन् ।
लामो समयदेखि मतदान गर्दै आएका डिल्लीप्रसाद आफूले मत दिएको व्यक्ति निष्पक्ष होस्, पक्षपाति नहोस् भन्ने चाहेको बताउँछन् ।
‘पक्षपात नगर्ने, स्वतन्त्र (व्यक्ति) आओस् भनेर लौरो टेकेर हामी बुढाबुढी मत दिन आएको,’ उनले भने, ‘एक आम नागरिकले खोज्ने नेतृत्वको सार नै इमानदारी र निष्पक्षता हो ।’
हल्लाले देश चल्दैन, सक्षम नेतृत्व चाहियो
६ दशकको उमेर पार गरिसकेकी कृष्णा खरेलले आफ्नो जीवनमा धेरै निर्वाचन देखेकी छिन् । बुद्धनगरस्थित स्वप्न बाटिका मतदान केन्द्रमा मत खसालिसकेपछि उनले हल्ला र सतही प्रचारले देश नबन्ने भन्दै काम गर्न सक्ने सक्षम व्यक्तिहरू नै नेतृत्वमा आउनुपर्छ भन्ने अपेक्षा राखेर मत दिएको बताइन् ।
‘हल्लाका भरमा गरेको काम कहिल्यै पनि दिगो हुँदैन,’ उनले भनिन्, ‘हामीलाई दिगो हुने गरी काम गर्ने, सक्षम र राजनीति गर्न जानेका मान्छेले नेतृत्व गरुन् भन्ने चाहना छ ।’
विकास निर्माणको काम कर्मचारीतन्त्रले गर्ने भए पनि त्यसको सही कार्यान्वयन र जनसरोकारको सम्बोधन गर्ने काम जनप्रतिनिधिको जिम्मेवारी हुने उनी बताउँछिन् ।
‘उनीहरू (जनप्रतिनिधि) नागरिकका घरदैलोमा पुगेर, कसलाई के समस्या छ भनेर हेरेर त्यसको समाधान गरिदिने मान्छे चाहिँ राम्रो हुन्छ,’ उनले थपिन् ।

पछिल्लो समय युवाले ल्याएको परिवर्तनको लहरप्रति उनी आशावादी छिन् । जेनजी आन्दोलनले नयाँ र सक्षम मानिसलाई अगाडि ल्याएको उनको विश्वास छ ।
‘नयाँ आउनेले पक्कै काम गर्न सक्छन्, चेन्ज भएर आएका छन् नि !,’ उनी आशा व्यक्त गर्छिन्, ‘नसक्ने चाहिँ नआउन्, सक्ने चाहिँ आउन्, हाम्रो मतको कदर होस् ।’
विगतमा आफ्नो क्षेत्रमा भएका कामप्रति पनि उनी सन्तुष्ट देखिन्छिन् । ‘हाम्रो ठाउँमा चाहिँ (पहिलेकाले) गरिरहेका छन्, हामी खुसी छौं,’ उनी भन्छिन्, ‘अब आउने नेतृत्वले पनि काम गर्न सक्छ भन्नेमा थप विश्वस्त छौं ।’
पटक-पटक परीक्षण भएकामा अब विश्वास छैन
सोही मतदान केन्द्रमा भेटिएका सुवास खरेलले यसपालि परिवर्तनको पक्षमा मत दिएको बताए । ३ पटक मतदान गरिसकेका उनी देशको नेतृत्वमा अब नयाँ अनुहार आउनुपर्ने र पटक–पटक परीक्षण भइसकेका पुराना नेतालाई विश्राम दिनुपर्नेमा दृढ देखिए ।
‘अब नयाँले आएर गरुन् भन्ने हो,’ उनी भन्छन्, ‘३०–४० वर्षदेखि नेतृत्वमा रहेको तर काम नगरेको मान्छे आउनुभन्दा नयाँ आयो भने केही हुन्छ कि भन्ने आश छ ।’
सुवासको विचारमा अबको पाँच वर्ष नयाँ अनुहार परीक्षण गर्ने समय हो । ‘पाँच वर्ष नयाँलाई नै काम गर्न दिन पनि यो मत अमूल्य हो,’ उनी थप्छन् ।

उनी नेतृत्वमा युवा नै चाहिन्छ भन्ने मान्यता भने राख्दैनन्, तर जोस–जाँगर भएको र शिक्षित व्यक्ति आउनुपर्नेमा उनको जोड छ ।
पछिल्लो समय युवाले गरेको आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न पनि नयाँ नेतृत्व आवश्यक रहेको उनी ठान्छन् । उनी आशा गर्छन्, ‘फेरि, त्यस्तो आन्दोलन गर्नुपर्ने दिन आउन नपरोस् ।’
नेताको ‘झोला बोक्ने’ प्रवृत्ति र कमिसनतन्त्रले देश बनेन
नयाँ बानेश्वर थापागाउँस्थित पाठशाला मतदान केन्द्रमा भेटिएका ६० वर्षीय रेवती घिमिरे उत्साहित मुद्रामा देखिन्थे ।
उनले देश नबन्नुको मूल जड नेता–कार्यकर्ताको ‘झोला बोक्ने’ प्रवृत्ति र विकासमा हुने संस्थागत भ्रष्टाचार भएको बताए ।
‘भदौमा भएको परिवर्तकारी आन्दोलन पुराना दलहरूका लागि एउटा चेतावनी हो, उनीहरू अब सुध्रिनुपर्छ,’ उनी भन्छन्, ‘पुराना दलभित्र पनि जो खराब मान्छे थिए, अब उनीहरूको चान्स छैन, त्यहाँभित्रका राम्रा मान्छेले मात्रै अब अवसर पाउन सक्छन्, त्यही राम्रा मान्छेका लागि मैले आफ्नो भोट खसालेँ ।’

अहिलेसम्म देशको यो अवस्था हुनुमा उनले राजनीतिक संरक्षणमा हुर्किएको भ्रष्टाचारलाई दोष दिए । ‘यहाँ त एउटा नेताको झोला बोकेपछि उसको शाखा सन्तान सबै सम्पन्न हुने परिपाटी बस्यो,’ उनी भन्छन्, ‘विकास निर्माणको काम आधा पैसाको पनि नहुने, बाँकी कमिसनमा जाने भएपछि देश कसरी बन्छ ?’
पार्टीको होइन, व्यक्तिको नियत र देश बनाउने एजेन्डा हेरेर भोट दिएँ
पाठशाला मतदान केन्द्रमा भेटिएकी मतदाता स्वेच्छा लोहनी यसपालि निर्वाचनमा देशको अर्थतन्त्र, पूर्वाधार र आधारभूत क्षेत्रमा ठोस काम गर्ने उम्मेदवार छनोट गर्नुपर्छ भनेर मत दिएको बताउँछिन् ।
‘पहिला–पहिला मान्छेहरू जुन आफ्नो पार्टी हो, त्यसमै एकदमै सपोर्टिभ हुन्थे,’ उनी विगतको मतदान प्रवृत्ति सम्झिन्छिन्, ‘तर, अहिले हामीले परिवर्तन खोजेका छौं, त्यसैले अब जुन पार्टीको भए पनि मान्छे हेरेर, उसको नियत र एजेन्डा हेरेर भविष्यमा कसैले दु:ख पाउन नपरोस् भनेर भोट दिएका हौं ।’
उनका लागि मत दिनुको अर्थ कुनै ठूलो क्रान्तिको अपेक्षा गर्नु होइन, बरु एक यथार्थपरक र क्रमश: हुने सुधारको सुरुवात गर्नु हो ।
‘अहिलेको अहिले नै कोही लिडर भएर एक वर्षभित्रै पूरै चेन्ज हुन्छ भन्ने हाम्रो अपेक्षा छैन,’ उनी भन्छिन्, ‘तर, क्रमश: विकासचाहिँ हुनुपर्यो ।’

उनी देशको आर्थिक मेरुदण्ड बलियो बनाउने विषयलाई प्राथमिकता दिन्छिन् । ‘जसको एजेन्डामा पर्यटन, पूर्वाधार विकासजस्ता कुरा पर्छन्, उनीहरूले मेरो देशको अर्थतन्त्र बलियो बनाउन सक्छन् भन्ने लाग्छ,’ उनले थपिन् ।
यसका साथै उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गरिन् । ‘हाम्रोमा त शिक्षा र शिक्षालाई पनि भ्रष्टाचार गर्ने अखडाजस्तो बनाइसकियो,’ उनी भन्छिन्, ‘त्यसैले यी विषयलाई प्राथमिकता दिने नेता आयो भने देशमै बसेर केही गर्न सकिन्छ कि भन्ने आशा युवामा जाग्छ ।’
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4