२१ फागुन, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू संकलन हुन थालेको छ ।
मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मतदान सकिएर मत पेटिकाहरू कार्यलयमा जम्मा हुन थालेका छन् ।
उम्मेदवारका प्रतिनिधि सहितका पदाधिकारीहरु मिलेर मतगणनास्थल सर्वे गर्ने र त्यसपछि मतगणना सुरु भएको बताए ।
‘चारै निर्वाचन क्षेत्रमा मतगणनाका लागि स्थल तयारी अवस्थामा छन् । उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गरेर सहमति बने आजै रातिबाट मतगणना सुरु गर्ने तयारीमा छौं,’ उनले भने ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा कुल ४ लाख ५३ हजार ६५४ मतदाता रहेका छन् ।
जिल्लाभर ५३१ मतदान केन्द्र मार्फत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।निर्वाचन क्षेत्र नं–१ मा १ लाख ११ हजार ९४९ मतदाता रहेका छन् भने यस क्षेत्रमा १३० मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं–२ मा १ लाख १५ हजार ७६० मतदाता रहेका छन् र यहाँ १३६ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन क्षेत्र नं–३ मा १ लाख १९ हजार २५० मतदाता रहेका छन् भने १३६ मतदान केन्द्रबाट मतदान भएको छ।यस्तै निर्वाचन क्षेत्र नं–४ मा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन् र यहाँ १२९ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको छ ।
निर्वाचन कार्यालयका अनुसार सिरहामा यसपटक करिब ६२ देखि ६५ प्रतिशतसम्म मतदान भएको अनुमान गरिएको छ । अहिले मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याउने काम भइरहेको छ ।
प्रतिक्रिया 4