२० फागुन, सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत २१ फागुनमा हुने मतदानका लागि सिरहाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थलमा ५३१ स्थायी र तीन अस्थायी गरी ५३४ मतदान केन्द्र स्थापना गरिएको छ ।
ती सबै केन्द्रमा मतपेटिका, सुरक्षण सिल, छेकावारलगायत आवश्यक सामग्री पुर्याइसकिएको छ । कर्मचारीहरू सम्बन्धित केन्द्रमा पुगेर स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक सम्पन्न गर्दै मतदानस्थल व्यवस्थापनको काम अघि बढाएका छन् । जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तव ले मतदानपूर्व आवश्यक तयारी पूरा गर्न सर्वदलीय छलफल गरिएको जानकारी दिए ।
बैठकमा मतदाता परिचयपत्रको प्रयोग, मतदान प्रतिनिधिको नियुक्ति, अशक्त तथा ज्येष्ठ मतदाताको सहजीकरण, मतदानस्थलमा निषेधित गतिविधि, समयपालना तथा सम्भावित विवाद समाधानका विषयमा सहमति जुटाइएको उनले बताए ।
शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता पनि दोहोर्याइएको छ । निर्वाचनका लागि जिल्लाभर ५३४ मतदान अधिकृत खटिएका छन् । प्रत्येक स्थायी केन्द्रमा तीन/तीन जना सहयोगीसहित कूल चार हजार ७९४ कर्मचारी परिचालन गरिएको छ। जिल्लाका चार निर्वाचन क्षेत्रमा दलका ५४ र स्वतन्त्र ८४ जना गरी कूल १३८ उम्मेदवार चुनावी मैदानमा छन्।
मतदातातर्फ दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य गरी कूल चार लाख ५३ हजार ६४५ मतदाता रहेका छन् ।
सुरक्षातर्फ पनि उच्च सतर्कता अपनाइएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार चारै निर्वाचन क्षेत्रमा एक हजार चार सय नेपाल प्रहरी, ६ सय नेपाली सेना, ७ सय सशस्त्र प्रहरी र तीन हजार आठ सय निर्वाचन प्रहरी परिचालन गरिएको छ। साथै प्रत्येक पालिकामा राष्ट्रिय अनुसन्धान विभागका दुई/दुई जना कर्मचारीसमेत खटाइएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा प्रशासनले सुरक्षा, व्यवस्थापन र समन्वयलाई प्राथमिकतामा राख्दै मतदान शान्तिपूर्ण ढंगले सम्पन्न गराउने तयारी पूरा गरेको जनाएको छ।
प्रतिक्रिया 4