News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं–२ मा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भएको चुनावमा अधिकांश मतदानस्थल शान्त र उत्साहपूर्ण देखिए।
- मतदाताले मतदानमा करिब ७/८ मिनेट समय लागेको र निर्वाचन आयोगले तोकेकै मापदण्ड अनुसार मतदान भएको बताइएको छ।
- मतदाताले नेताहरूलाई देश बनाउनेतर्फ लाग्नुपर्ने र जनताले जिम्मेवारी बुझ्नुपर्ने अपेक्षा राखेका छन्।
२१ फागुन, काठमाडौं । देशभर देखिएझैँ चुनावी उत्सवले भिजेको थियो, काठमाडौं–२ । रिपोर्टिङका क्रममा पुग्दा अधिकांश मतदानस्थल शान्त देखिन्थे । अपवादबाहेक उत्साहपूर्ण सहभागिता देखिन्थ्यो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिमा भएको यो चुनावलाई लिएर मतदाताका विभिन्न अनुमान र असन्तुष्टि पनि सुनिए ।
बिहीबार पेप्सिकोलामा रहेको फुटबल ग्राउन्ड पुग्दा पनि मतदाता विभिन्न समूहमा बाँडिएर बसेका थिए । केही लाइनमा लामबद्ध थिए भने केही मत हालेर उत्साही हुँदै निस्किरहेका थिए । मत हालेर निस्किएकाको अनुभवमा करिब दश मिनेट उनीहरूलाई मत खसाल्न लागेको थियो ।
मतदान गरेर निस्किएका रघुनाथ पोखरेलका अनुसार बानी परेका मतदातालाई पनि ७/८ मिनेट समय लागिरहेको थियो । मतदान गर्न जाँदा ‘स्टाम्प’ लगाउने ठाउँ (स्पेस) अझै फराकिलो भए झन् छिटो हुने सुझाव समेत उनले मतदान अधिकृतलाई दिए । निर्वाचन आयोगले तोकेकै मापदण्ड अनुसार नै मतदान दिनभर जारी रह्यो ।
पोखरेललाई यसअघिको तुलानामा सुरक्षा व्यवस्था अझ कडा बनाइएको लाग्छ । त्यसैले पनि आम मतदाताले निर्धक्क मत हाल्न पाउनेमा उनी खुसी देखिए । यसरी निर्धक्क मतदान गरेर फर्किएका उनलाई निर्वाचित हुने प्रतिनिधिबाट अपेक्षा के छ ? अनलाइनखबरसँग भने, ‘अब नेताहरू अरु अनावश्यक कुरामा भन्दा पनि देश बनाउनेतिर लाग्नुपर्यो । देश बिगार्ने, भाँडभैलो गर्ने, जनताका मुद्दा नसुन्नेलाई यो पटक जनताले चिनेर मात्रै मत हाले गज्जब हुन्थ्यो ।’
पोखरेल यतिसम्म ढुक्क थिए कि, देशको अवस्था बदल्ने जिम्मेवारी जनताको नै हो । त्यसमा पनि यसरी पाँचवर्षे अवधिमा आउने चुनाव झन महत्वपूर्ण रहेको तर्क उनले गरे ।
पेप्सिकोला फुटबल ग्राउन्डमै भेटिए, बिरेन्द्र पोखरेल । रिपोर्टिङका क्रममा भेटिएका उनले पनि मतदान गरिसकेका थिए । शान्तिपूर्ण मतदान हुनुमा सचेत स्थानीय नागरिक कारक रहेको बताउँदै उनले यस क्षेत्रले चुनावी नतिजा पनि अन्य क्षेत्रलाई चकित पार्नेगरी दिइरहेको दाबी गरे ।
‘हरेक पटकको मतपरिणाम हेर्नुस्, फरकफरक नतिजा आइरहेको छ । माधवकुमार नेपालले जितेर जानुभयो, तर पछि त्यही पार्टीले यही क्षेत्रमा हार्यो । त्यसैले यो सचेत र सजग नागरिक रहेको ठाउँ हो,’ उनले काठमाडौं–२ को चुनावी इतिहास सम्झिए ।
यसरी चुनावी इतिहास सम्झाउँदै आफूहरु सचेत रहेको बताएका पोखरेलले यसपटकको चुनावले उदार अर्थनीतिलाई अंगाल्नुपर्ने जोड दिन्छन् । व्यवसायीलाई हेर्ने आमदृष्टिकोणलाई परिवर्तन गर्ने र सचेतना फैलाउन अब आउने प्रतिनिधिले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले थप भने, ‘यहाँ कसैले राम्रो गर्यो वा व्यवसाय चलायो भने गाली गर्ने, नराम्रो भन्ने प्रचलन बढ्यो । यो एकदमै नराम्रो कुरा हो । यस्ता कुरा चिर्न अबका प्रतिनिधिले भूमिका खेल्नुपर्छ ।’

रिपोर्टिङको क्रममा विभिन्न मतदानस्थलमा पुग्यौं । साँखुस्थित भाग्योय स्कुलमा रहेको मतदान केन्द्रमा साँझ चार बजेतिर पुग्दा करिब सुनसान भइसकेको थियो । केही फाट्टफुट्ट मतदाता थिए । नाम खुलाउन नचाहेका उनीहरूको अनुभवमा यसपटक उत्साह त्यस मतदान केन्द्रमा कम रह्यो । ५० प्रतिशतभन्दा धेरै मत खसेपनि मतदाता लामो समय केन्द्र आसपास रहने, उत्साह देखाउने काम यसपटक त्यति भएन ।
तर, यता कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा रहेको कान्ति भैरव माध्यमिक विद्यालयमा भने भिडभाड तुलानात्मक रुपमा धेरै थियो । मत हालेर निस्किएकाहरू पनि त्यहीं अडिएर बसेका थिए । कतिपय भित्र मत हाल्न लामबद्ध देखिन्थे । सोही मतदान केन्द्रमा भेटिए– ५८ वर्षीय कृष्ण गजुरेल ।
गजुरेलका लागि चुनाव भनेको केबल औपचारिकता हो । नियमित आइरहने चुनावमा चुपचाप मत हाल्नुलाई उनले आफ्नो कर्तव्य ठानेका छन् । त्यसबाहेक न कुनै उम्मेदवारसँग उनलाई अपेक्षा छ, न कुनै दलसँग । ‘मलाई केही मतलब छैन । चुनाव आएपछि मताधिकार प्रयोग गरौँ भनेर मात्र आएको हो । नत्र हाम्रा दुखः सधैँ उस्तै छ, कसैले केही गर्ला भन्ने अपेक्षा पनि छैन,’ उनले भने ।
२०४८ सालदेखि निरन्तर काठमाडौंमै मत हाल्दै आएका उनले त्यसअघि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट हालिरहेका थिए । तर अहिले काठमाडौंमा बस्छन्, उनी । अनि गाउँको चुनावी रौनक सम्झिरहन्छन् । ‘गाउँमा पो चुनाव । यहाँ त के छ र ? सबै आफ्नै धुनमा हिँड्छन्,’ उनले हेलम्बुको चुनाव स्मरण गरे ।

चुनावपछिको अपेक्षाको हकमा पनि उनलाई त्यति चासो छैन । जति नेताहरू जिम्मेवार छन्, यो देश नबन्नुमा जनता पनि उत्तिकै जिम्मेवार रहेको उनको बुझाई छ । त्यसैले नेतालाई गाली गर्नुअघि आफूले पनि के गरिरहेका छौँ भनेर हरेक नागरिकले सम्झनुपर्ने उनले बताए । जनतामा ‘कुनै सिप नसिकी जागिर खोजिदेउ, अवसर देउ’ भन्ने ट्रेन्ड बढेको र यो झन् चिन्ताजनक रहेको गुनासो उनमा छ ।
‘जनताले पनि खाली समयमा सकेको सिप त सिक्नुपर्यो । उद्यमी बन्ने कोशिस त गर्नुपर्यो । गाली गर्न पो सजिलो छ, गाउँ फर्किएर बाँझो खेत जोत्न त सबैलाई गाह्रै लाग्छ नि,’ गजुरेलले भने, ‘नेता त उस्तै भए, हामी चाहिँ के भएको ? त्यसैले यो चुनावपछि जित्ने प्रतिनिधिले जनतालाई पनि जिम्मेवार बनाउनेगरी सचेतना भर्न काम गरुन् ।’
हामी थलीबाट निस्कन लाग्दा पनि धेरै ठाउँमा मतदान जारी नै थियो । निर्वाचनमा महिला, पुरुष, युवा, प्रौढ सबै सहभागी थिए । काठमाडौं–२ मै मतदान गरिसकेका, फरक–फरक उमेर समूहकाहरूसँग कुरा गर्दा उनीहरूले मतदानलाई आफ्नो कर्तव्य मानेको पाइयो । तर, अब उनीहरूले आफ्नो मतको सम्मान चाहन्छन्, विकास चाहन्छन् ।
रोहन श्रेष्ठ र उनका साथीहरू कागेश्वरी नगरपालिका–५ को मतदान केन्द्रमा मतदान गरेर यताउता दुगुरिरहेको भेटिए । उनीहरू राजनीतिक रुपमा प्रस्ट देखिए । तर तुलनात्मक रूपमा आफ्नो उमेर (जेनजी) समूहका भोटरहरू कम देखिएकोमा भने उनीहरूले चिन्ता व्यक्त गरे ।

‘धेरै जना हाम्रो उमेरका साथीहरूले त भोटिङ कार्ड नै बनाउनु भएको छैन,’ किन त भन्ने प्रश्नमा उनले भने, ‘एक त आन्दोलनमा देखिएका सबै युवाहरू काठमाडौंका होइनन् । उपत्यका बाहिरका नै हुन्, उनीहरू यहाँ अस्थायी रुपमा बसे पनि निर्वाचनको बेला त आफ्नो गाउँ जान्छन् नि !’
यही क्षेत्रमा दुईजना किरिया पुत्रीले समेत मतदान गरे । आमाको किरिया बसिरहेका नेपाल तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र उनका दाइ रमेशकुमार शाहले मतदान गरेका थिए । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ब्रिज वाटर इन्टलनेसनल स्कुल मतदान केन्द्रमा मतदानका लागि दिनेश आफ्ना दाइ रमेशका साथ पुगेका थिए ।
मतदानपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै सचिव दिनेशले लेखे, ‘नछुटौं आफ्नो मताधिकार प्रयोग गरौं, हामी दाजुभाइले त हाम्रो मताधिकार प्रयोग गर्यौं ।’
यसरी बिहीबार बिहान सात बजेबाट साँझसम्मै उत्साहजनक सहभागिता रहेको थियो । यो क्षेत्रमा नेपाली कांग्रेसबाट कवीर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाँल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल चुनावी प्रतिष्पर्धामा छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय) उम्मेदवार छन् । गत निर्वाचनमा यो क्षेत्रमा रास्वपा नेतृ सोविता गौतम विजयी भएकी थिइन् ।
तस्बिर : विकास श्रेष्ठ
प्रतिक्रिया 4