२३ फागुन, काठमाडौं । हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ निर्वाचन क्षेत्रमा जित निकालेको छ । बिहान साढे ३ बजेसम्मको मत नतिजा अनुसार देशभरबाट रास्वपाले ११ सिट जितेको हो ।
रास्वपाका लागि पहिलो जित काठमाडौं १ मा रञ्जु न्यौपाने (दर्शना) ले निकालिन् ।
उनले नेपाली कांग्रेशका प्रबल थापा क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रालाई पछि पार्दै जितेकी थिइन् । रञ्जुले कुल मत १५ हजार ४५५ पाएकी थिइन् ।
त्यस्तै काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।
यसैगरी काठमाडौं ८, ६, ७, ४, ५ र १० मा समेत रास्वपा उम्मेदवारहरू नै निर्वाचित भए । यी क्षेत्रबाट क्रमश: विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली, सस्मित पोखरेल र प्रदीप विष्ट निर्वाचित भए । उनीहरूले आफ्नो प्रतिद्वन्द्वीहरूलाई अत्यन्तै फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।
काठमाडौं बाहेक कास्की, मोरङ र धनुषामा पनि रास्वपा उम्मेदवार निर्वाचित भएका छन् । कास्की २ र ३ मा क्रमश: उत्तमप्रसाद पौडेल र बिना गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी मोरङ ४ मा सन्तोष राजवंशी निर्वाचित भएका छन् ।
त्यस्तै, धनुषा–३ मा रास्वपाबाट मनिष झा निर्वाचित भएका छन् । उनी भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।
अहिलेसम्म निर्वाचित भएका रास्वपा उम्मेदवारहरूमध्ये सबैभन्दा बढी बिना गुरुङले मत पाइन् । उनले ३७ हजार ७५० मत ल्याइन् । यी क्षेत्रहरूमा रास्वपाले जित्दा अधिकांशमा कांग्रेस दोस्रो भएको छ । अहिले देशभर नै रास्वपा १०० बढी निर्वाचन क्षेत्रमा अग्रतामा नै छ ।
प्रतिक्रिया 4