News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिममा गोपाल शर्मा 'अनल'ले २१ हजार ६०९ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनार्दन शर्मालाई पराजित गरे।
- जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका थिए र तेस्रो स्थानमा खुम्चिए।
- गोपाल शर्मा २०७४ मा कर्णाली प्रदेशसभा सदस्य र २०७८ मा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।
२४ फागुन, काठमाडौं । राजनीतिमा भावना र सम्बन्धभन्दा अगाडि सधैं विचार आइपुग्छ । यसपटक रुकुम पश्चिममा यस्तै भयो । गोपाल शर्मा ‘अनल’ले यसअघि जनार्दन शर्मालाई पटक–पटक संसद्मा पुर्याउन कमान्डर बनेर चुनावी अभियानको नेतृत्व गरे । उनै गोपालले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनार्दनविरुद्ध जित हासिल गरेका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि बाहिरिएका जनार्दनले यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका हुन् । पाँचौं पटक चुनाव जित्ने प्रयास यसपटक असफल मात्र भएन, उनी निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेनन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपालले २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजु केसी १६ हजार ६६१ मत ल्याएर दोस्रो भए। १४ हजार ३४६ मत प्राप्त गरेका प्रलोपा उम्मेदवार जनार्दन शर्मा तेस्रो स्थानमा खुम्चिए।
जनार्दन शर्माले नयाँ पार्टी निर्माण गरेर विचार छाडेको भन्दै रुकुम पश्चिमको कम्युनिस्ट विरासत आफूले जोगाउने मुख्य एजेन्डासहित गोपाल निर्वाचनमा होमिएका थिए। विगतमा २०६४, २०७०, २०७४ र २०७९ का चारवटै चुनावमा जनार्दनलाई जिताउन ुब्याकबोनु बनेर जिल्लाको चुनावी कमान्ड सम्हालेका गोपालले अन्ततः यसपटक आफैँले सानदार जित पक्का गरे।
सङ्घीय संसद्मा उनको यो पहिलो पाइला भए पनि उनीसँग संसदीय अनुभव भने छ। उनी २०७४ सालको निर्वाचनमा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ ९ख० बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
सोही कार्यकालमा उनी २०७८ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनेका थिए। प्रदेशको अनुभव हासिल गरिसकेका शर्मा अब सङ्घीय संसद्मा देखिनेछन्।
१२ पुस २०३४ मा साविकको विजयश्वरी गाविस ९हाल चौरजहारी नगरपालिका–५० को लहरेसिमल गाउँमा आमा कस्तुरा ढकाल र बुवा परमानन्द ढकालका कान्छा छोराका रूपमा उनको जन्म भएको हो। स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका शर्मा २०४६ सालमा १२ वर्षको उमेरमै अनेरास्ववियु ९क्रान्तिकारी० मा आबद्ध भएका थिए।
विद्यार्थी सङ्गठनबाटै नेतृत्वमा उदाएका उनी २०५३ सालमा जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगे। २०५४ मा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य बनेका उनी २०५६ सालमा केन्द्रीय उपाध्यक्ष बनेका थिए।
राजनीतिक रूपमा उनी २०५३ सालमै तत्कालीन नेकपा ९माओवादी० को सदस्य बनेका थिए। २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य बनेका उनी २०५७ सालमा पार्टीको विशेष उपक्षेत्रीय ब्युरो सदस्य बने। २०५८ देखि २०६० सम्म भेरी–कर्णाली उपक्षेत्रीय ब्युरोमा रहेर काम गरेका उनले २०६० देखि २०६२ सम्म बाँके–बर्दिया इन्चार्जको जिम्मेवारी सम्हालेका थिए। २०६२ माघमा रुकुम फर्किएका उनले २०६४ सम्म जिल्ला सेक्रेटरी भएर काम गरे।
पार्टीमा निरन्तर क्रियाशील शर्मा २०७१ मा रुकुम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यमा चयन भए। उनी २०७३ मा पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारीमा पुगे। २०७५ मा तत्कालीन नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारी दिँदा उनले उक्त पद छाडेर अरूलाई राख्न भनेका थिए भने आफूले रुकुम पश्चिमको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
तीन दशकभन्दा लामो राजनीतिक अनुभव, सङ्गठनात्मक क्षमता र सरकारी जिम्मेवारीसमेत सम्हालेका उनै शर्मा अब भने प्रतिनिधिसभा सदस्यका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै छन्। रुकुमको अधुरो विकासलाई पूरा गर्ने र कम्युनिस्ट विरासत जोगाउने जिम्मेवारी अब उनको काँधमा आइपुगेको छ।
विजयसँगै शर्माले भनेका छन्, ‘आफ्नो अमूल्य मत मार्फत मलाई जिम्मेवारीको नयाँ भारी बोकाउनु हुने आम रुकुमेली दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद । म आफ्नो जिम्मेवारीप्रति इमान्दार र सक्रिय बनिरहने छु ।’
प्रतिक्रिया 4