News Summary
Generated by OK AI. Editorially reviewed.- कविन्द्र बुर्लाकोटीले फागुन २१ मा गोरखा-२ निर्वाचनमा २६ हजार ६६० मत ल्याएर फराकिलो मतान्तरले सांसद बने।
- उनले कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई ११ हजार ७०० मतले पराजित गरे भने नेकपाका लेखनाथ न्यौपाने तेस्रो भए।
- बुर्लाकोटी रास्वपाका संस्थापक सहमहामन्त्री हुन् र गत असारमा महामन्त्री बनेका छन्।
२४ फागुन, गोरखा । गत निर्वाचन (२०७९) मा प्रचण्डसँग पराजय भोगेका कविन्द्र बुर्लाकोटी फागुन २१ को निर्वाचनमा भने निर्वाचित भए । त्यो पनि फराकिलो मतान्तरले । उनले २६ हजार ६६० मत ल्याउँदै गर्दा उनलाई पछ्याइरहेका कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरे । नेकपा तेस्रो स्थानमा देखियो ।
नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याए । एमालेका चक्रे मिलनले ३ हजार ८७ मत पाए । ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ । कुल मतदाता संख्या भने १ लाख ८ हजार ५३३ रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनको चेपुवामा बुर्लाकोटी थिए । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेपाल समाजवादी पार्टी समेतको समर्थनले प्रचण्ड उनीमाथि हाबी हुन पुगे ।
१३ हजार ४७२ को फराकिलो मतान्तरले पराजित भए । प्रचण्डले २६ हजार १०९ मत ल्याउँदै गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका थिए । हारे पनि रास्वपा गठन भएकै वर्ष संसदीय चुनावको पहिलो अनुभव बटुल्ने अवसर उनले पाएका थिए ।
त्यही हारको बदला लिदै अहिले बुर्लाकोटी यसपटक सांसद बनेका छन् । संसद् छिर्ने उनको दोस्रो प्रयास सफल भएको छ । गोरखा-२ का जनताले उनलाई मतपेटिकाबाट अनुमोदन गरेर पठाएका छन् ।
पालुङटार नगरपालिका–९ का उनी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । करिब तीन वर्ष सहमहामन्त्रीको पद सम्हालेका उनी गत असारमा महामन्त्री बने । तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले अनुशासनको कारबाही गरेपछि बुर्लाकोटीले उपल्लो तहको कार्यकारी भूमिकाको पद प्राप्त गरेका थिए । उनी रास्वपाको संगठन विभाग प्रमुख समेत हुन् ।
नेसनल युथ फेडेरेसनमा समेत विगतमा आबद्ध भएका उनी ‘नयाँ नेपाल, बेटर नेपाल’ अभियानका संयोजक रहेर काम गरेका थिए । पालिका क्षमता विकास केन्द्र संस्थाको कार्यकारी निर्देशक भएर उनले विगतमा एक वर्ष काम गरे ।
४६ वर्षीय कविन्द्रसँग व्यावसायिक रूपमा ट्राभलको क्षेत्रमा पनि काम गरेको अनुभव छ । उनी नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वविद्यार्थी हुन् ।
प्रतिक्रिया 4