२५ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अधिकांश क्षेत्रमा वर्चस्व कायम गर्दा पुराना पार्टी थोरै सिटमा खुम्चिन पुगेका छन् ।
पुराना दलका अधिकांश शीर्ष नेता पराजित भएका छन् । कतिपयले प्रभावशाली नेताले त जमानतसमेत जोगाउन सकेनन् । कुल सदर मतको १० प्रतिशतभन्दा कम आउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
निर्वाचनमा पूर्व उपप्रधानमन्त्री पूर्वमुख्यमन्त्रीसम्म र अन्य केही चर्चा कमाएका नेताको जमानत जफत भएको छ । मधेशका पूर्व मुख्यमन्त्री सतीशकुमार सिंह सप्तरी–२ बाट उम्मेदवारी दिएका थिए । स्वाभिमान पार्टीका तर्फबाट उम्मेदवारी दिएका उनले ३ हजार ५५७ मत प्राप्त गर्दा पनि जमानत जोगिएन । सप्तरी-२ मा ६२ हजार ७८३ सदर भएको थियो । जसमा सिंहले पाएको मत ५.६७ प्रतिशत मात्र हो ।
मधेश प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मन्त्री भरतप्रसाद साहले पनि जमानत जोगाउन सकेनन् । महोत्तरी-४ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका साहको पनि जमानत जफत भयो । उनले सदर मतको ८.६ प्रतिशत मात्रै मत पाए ।
यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष रहेका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको पनि जमानत जफत भएको छ । सर्लाही-२ बाट उम्मेदवार बनेका महतोले ५ हजार ९९२ मत पाए । जुन उक्त क्षेत्रमा सदर भएको ७२ हजार ३८१ मतको ८.२ प्रतिशत मात्रै हुन आउँछ ।
बारा-३ मा एमालेबाट उम्मेदवार बनेकी ज्वालाकुमारी साहले पनि जमानत जोगाउन सकिनन् । पूर्व मन्त्रीसमेत रहेकी उनले ५ हजार २७१ मत प्राप्त गरे पनि कुल सदर मतमा त्यो १० प्रतिशत पनि हुन सकेन । सोही क्षेत्रमा पूर्व सांसद रामबाबु यादव र संविधान सभा सदस्य प्रमोद गुप्ताको पनि जमानत जफत भयो । उक्त क्षेत्रमा ७० हजार बढी मत सदर भएको थियो ।
एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले पनि जमानत जोगाउन सकेनन् । काठमाडौं-५ मा उम्मेदवार रहेका पोखरेलले ४ हजार ७०१ मत मात्र पाए । जुन सदर मतको १० प्रतिशतभन्दा कम हो ।
काठमाडौं-५ मै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका कमल थापाको पनि जमानत जफत भयो । उनले मात्र एक हजार ९२२ मत ल्याए ।
दाङ-१ मा लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी र पूर्व संघीय मन्त्री मेटमणि चौधरीको पनि जमानत जफत भयो । चौधरी नेकपाबाट उम्मेदवार रहेर ४ हजार ९६५ मत पाउँदा बागी उठेका केसी एक हजार ३८४ मतमा खुम्चिए ।
उता देशभरमा रास्वपाको लहर चल्दा पूर्व सांसद विनीता कठायतको जुम्लामा जमानत जफत भयो । उनले त ५ सय मत पनि कटाउन सकिनन् ।
उता हुम्लामा रास्वपा उम्मेदवार रहेकी अर्की चर्चित नेतृ टासी ल्हाजोमले पनि जमानत जोगाउन सकिनन् । उनले त्यहाँ एक हजार ६४ मत मात्रै प्राप्त गरिन् ।
प्रतिक्रिया 4