२६ फागुन, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन् ।
बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ बर्सिया कल्पना वलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो ।
जिप्रका रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिप्रसाद पुनले ती किशोरीसँगै गएकी अर्की एक किशोरी भने बेपत्ता भएको जानकारी दिए । उनका अनुसार १२ बर्सिया सपना वली बेपत्ता भएकी छन् । सपनाको खोजी भइरहेको इन्स्पेक्टर पुनले बताए ।
तीनै जना दिदीबहिनी सोमबार विवाहमा जाने भनेर घरबाट निस्किएका थिए । प्रहरीले विवाहबाट घर फर्किदा नदी तर्ने क्रममा तीनै जना बगेको हुनसक्ने अनुमान थरेको छ ।
घटनास्थलमा इन्स्पेक्टर पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोस्ट छिनखेतबाट प्रहरी टोली पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । –रासस
प्रतिक्रिया 4