News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौंका विभिन्न क्षेत्रहरूमा समानुपातिक र प्रत्यक्ष मत परिणाममा पार्टी र उम्मेदवारबीच मत लोकप्रियतामा फरक देखिएको छ।
- काठमाडौं–१ देखि काठमाडौं–१० सम्मका क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टीले समानुपातिकमा बढी मत पाएको छ।
- नेपाली कांग्रेसका धेरै क्षेत्रहरूमा उम्मेदवारले प्रत्यक्ष मतमा बढी पाउँदा पनि पार्टीले समानुपातिकमा कम मत पाएको देखिन्छ।
२६ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष्यतर्फको मतपरिणाम आइसकेको छ भने समानुपातिकको गणना अन्तिम चरणमा छ । हामीले काठमाडौं जिल्ला भित्र रहेका निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिक मतको विश्लेषण गरेका छौँ ।
हरेक निर्वाचन क्षेत्रमा उम्मेदवार कि पार्टीको मत बलियो भनेर हेर्दा राष्ट्रिय पार्टी बन्नका लागि थ्रेसहोल्ड कटाएका पार्टीका मतबीच तुलना गरिएको छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका समानुपातिक मत र उम्मेदवारको मतबीच तुलना गरिएको छ ।
काठमाडौं–१ : नयाँ दलका उम्मेदवारभन्दा पार्टी लोकप्रिय
काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिक तर्फ १८ हजार ८३० मत ल्याएको छ । जबकि, प्रत्यक्षतर्फ रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएकी छन् । यहाँ रास्वपाका उम्मेदवारभन्दा पार्टी लोकप्रिय देखिन्छ ।
नेपाली कांग्रेसले समानुपातिकमा ५ हजार ५६० मत ल्याएको छ । तर कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीले समानुपातिक मतभन्दा धेरै मत पाएका छन् । उनको ६ हजार ३६४ मत छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८४८ मत ल्याएको छ । तर प्रत्यक्ष उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । यसले पार्टीभन्दा उम्मेदवार नै लोकप्रिय देखिन्छ ।

नेकपा एमालेले २ हजार १०१ मत ल्याएको छ । तर प्रत्यक्षतर्फका उम्मेदवार मोहनराज रेग्मीले जम्मा १ हजार ६१८ मत पाएका छन् । समानुपातिकतर्फ एमालेमा मत हाल्ने सबैले रेग्मीलाई मत दिएको देखिँदैन । यसले पार्टीभन्दा उम्मेदवार झन् लोकप्रिय नरहेको देखिन्छ ।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ पार्टी श्रम संस्कृतिले पनि समानुपातिकमा काठमाडौं–१ बाट ७८४ मत पायो । जबकि, उनका उम्मेदवार समिर लामा तामाङले जम्मा ४२६ मत पाए । यसले उम्मेदवारभन्दा पार्टी लोकप्रिय देखिन्छ ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ६१९ मत पाएको छ । यो पार्टीले प्रत्यक्षमा उठाएकी उम्मेदवार मेनुका भण्डारीले ३४५ मत मात्र पाएकी छन् । नेकपामा पनि उम्मेदवारभन्दा पार्टीका लागि गएको भोट केही राम्रो देखिन्छ ।
काठमाडौं–२ : पुराना शीर्ष दलका उम्मेदवारभन्दा पार्टी कमजोर
रास्वपाका सुनिल केसीले ३४ हजार २३८ मत ल्याएका छन् । तर रास्वपाले समानुपातिकतर्फ ३५ हजार ४०१ मत पाएको छ । यसले उम्मेदवारको भन्दा धेरै मत पार्टीका लागि गएको देखाउँछ ।
नेपाली कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत पाए । नेपाली कांग्रेसले भने समानुपातिकामा उम्मेदवारले पाएभन्दा कम मत पाएको छ । समानुपातिकमा कांग्रेसले जम्मा ७ हजार ३१३ मत पाएको छ ।
राप्रपाकी कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत ल्याइन् । राप्रपा पनि समानुपातिकमा प्रत्यक्षभन्दा थोरै अंकले अगाडि छ । राप्रपाले यो क्षेत्रमा समानुपातिक तर्फ ५ हजार ५१२ मत पाएको छ ।
नेकपा एमालेका मणिराम फुयालले ४ हजार ७५९ मत ल्याए । एमालेमा उम्मेदवारभन्दा कम मत समानुपातिकतर्फ गएको छ । यहाँ एमालेले ४ हजार ५९९ मत समानुपातिकमा ल्याएको छ । यसले उम्मेदवारभन्दा पार्टीका लागि केही कम मत खसेको देखिन्छ ।

नेकपाका नितेश पौडेलले १ हजार ९१२ मत ल्याए । यहाँ पनि प्रत्यक्षभन्दा समानुपातिकमा मत कम खसेको छ । नेकपाले समानुपातिकमा ल्याएको १ हजार ८८४ मत हेर्दा उम्मेदवारभन्दा पार्टीका लागि कम मत खसेको देखिन्छ ।
श्रम संस्कृति पार्टीका उम्मेदवार मुकुन्द कार्कीले ५८८ मत ल्याउँदा समानुपातिकतर्फ ८७७ मत ल्याएको छ । यो पार्टीको मत हेर्दा पनि थोरै मत प्राप्त गरे पनि पाएको मत विश्लेषण गर्दा उम्मेदवारभन्दा पार्टी लोकप्रिय देखिन्छ ।
काठमाडौं–३ : कुलमानलाई जति पत्याए, पत्याएनन् पार्टी
यो क्षेत्रमा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत ल्याएका छन् । तर पार्टीले समानुपातिकतर्फ भने करिब ६ हजार मत धेरै ल्याएको छ । यो क्षेत्रमा समानुपातिकमा रास्वपाको २४ हजार ४११ मत आएको छ ।
राष्ट्रिय दल बन्न नसके पनि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार रहेकाले पनि चर्चामा थियो, काठमाडौं–३ । यहाँ घिसिङलाई ११ हजार १७१ मत प्राप्त भएको छ । तर उज्यालो नेपाल समर्थित राष्ट्रिय परिवर्तन पार्टीले ४ हजार ७८८ मत समानुपातिक ल्याएको छ । कुलमानले पाएको मत समानुपातिकमा सोही अनुपातमा खसेको देखिँदैन ।
नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत पाएका छन् । तर पार्टीले भने जम्मा ५ हजार ७३ मत पाएको छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत पाउँदा समानुपातिकतर्फ भने ३ हजार ७५७ मत पाएको छ ।
राप्रपाका सुन्दर राम बोहराले जम्मा ८४१ मत ल्याए, जबकि समानुपातिकतर्फ भने पार्टीले २ हजार ५८३ मत ल्यायो ।
नेकपाका निरज लामाले ५१८ मत पाए । समानुपातिकमा भने उम्मेदवारको भन्दा धेरै मत ८१६ मत नेकपाले पाएको छ ।
श्रम संस्कृति पार्टीका सुवास घिसिङले ३४७ मत प्रत्यक्षतर्फ ल्याए पनि समानुपातिकमा त्यो भन्दा धेरै ९३५ मत प्राप्त गरेको देखिन्छ ।
काठमाडौं–४ : कांग्रेस उम्मेदवारभन्दा पार्टी कमजोर
काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार पुकार बमले २९ हजार १४२ मत ल्याएका छन् । रास्वपाले यहाँ प्रत्यक्षभन्दा थोरै बढी मत समानुपातिकमा ल्याएको छ । समानुपातिकमा रास्वपाको २९ हजार ९३५ मत छ ।
नेपाली कांग्रेसका सचिन तिमल्सेनाले यो क्षेत्रमा ८ हजार ८२४ मत प्राप्त गरे । तर उम्मेदवारभन्दा लोकप्रिय पार्टी बन्न सकेन । समानुपातिकमा पार्टीले पाउने भोट यो क्षेत्रमा ७ हजार ९०० मात्र छ । कांग्रेस सभापति गगन थापाको चुनावी क्षेत्र (यसअघिसम्म) रहे पनि यहाँ उम्मेदवारभन्दा कांग्रेस पार्टी केही हिसाबले अलोकप्रिय देखिन्छ ।
तेस्रो पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका नेकपा एमालेका राजन भट्टराईले ५ हजार ७३३ मत ल्याए । तर समानुपातिकमा पार्टीको भोट झन् कमजोर छ । समानुपातिकमा एमालेले काठमाडौं–४ मा जम्मा ४ हजार ५८४ मत प्राप्त गरेको छ ।
राप्रपा उम्मेदवार सुरेन्द्रराज भण्डारीले २ हजार २५ मत ल्याए । समानुपातिकमा भने प्रत्यक्षभन्दा धेरै छ । यो क्षेत्रमा ३ हजार ५०७ समानुपातिक मत पाएको राप्रपा उम्मेदवारभन्दा लोकप्रिय नै देखिन्छ ।
नेकपाले समानुपातिकतर्फ ९२७ मत पाउँदा यसका उम्मेदवार इन्द्र भुसालले भने ६५७ मत मात्र पाएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार बरुण अमात्यले ७५६ मत ल्याएका छन् । समानुपातिकमा भने १ हजार १८८ मत पाएको छ ।
काठमाडौं–५ : कांग्रेस महामन्त्रीले नै जोगाउन सकेनन् समानुपातिक
काठमाडौं क्षेत्र नम्बर ५ मा हेभिवेट नेताहरु प्रतिस्पर्धामा थिए । त्यसमध्ये पनि रास्वपा उम्मेदवार सस्मित पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुने मानिएको थियो ।
तर, यहाँ रास्वपा उम्मेदवार सस्मित पोखरेलले ३० हजार ७३७ मत प्राप्त गरी विजयी भए । समानुपातिकमा भने रास्वपाले ३१ हजार ५५३ मत ल्यायो । अन्यत्र देखिएझैं यहाँ पनि रास्वपा उम्मेदवारभन्दा पार्टी केही हदसम्म लोकप्रिय देखिन्छ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भने आफूले पाएको मत सबै समानुपातिकमा ढाल्न सकेनन् । उनले प्रत्यक्षतर्फ ९ हजार १५९ मत पाउँदा समानुपातिकमा कांग्रेसले ७ हजार २२२ मत पायो ।
एमाले उम्मेदवार ईश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याए । पार्टीले पनि सोही हाराहारीमा समानुपातिकतर्फ ४ हजार ३२० मत पाएको देखिन्छ ।
त्यस्तै, राप्रपाका कमल थापाले जम्मा १ हजार ९२२ मत ल्याए । राप्रपाले समानुपातिकतर्फ ३ हजार ४१५ मत पायो । राप्रपामा मत हाल्नेले पनि आफ्नो उम्मेदवारलाई अविश्वास गरेको यसबाट स्पष्ट देखिन्छ ।
नेकपाकी कल्पना शर्माले ५७४ मत प्राप्त गर्दा पार्टीले समानुपातिकमा ८०९ मत पायो । त्यस्तै, श्रम संस्कृतिका अमित थापाले ७६९ मत पाउँदा पार्टीले १ हजार १६९ मत पाएको छ ।
काठमाडौं–६ : नयाँको पार्टी बलियो, पुरानाका उम्मेदवार
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका शिशिर खनालले २६ हजार ९१६ मत पाउँदा समानुपातिकमा २८ हजार ५६९ मत आएको छ । यहाँ रास्वपाका उम्मेदवारभन्दा पार्टी लोकप्रिय देखाउँछ ।
नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत पाउँदा समानुपातिकमा ५ हजार ८७७ मत पाएको छ । कांग्रेसमा अन्यत्रझैं यो क्षेत्रमा उम्मेदवारभन्दा पार्टी कमजोर रहेको मतले देखाउँछ ।
नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत पाएका छन् । सोही क्षेत्रमा समानुपातिकमा भने एमालेले उम्मेदवारभन्दा कम ३ हजार ६६२ मत पाएको छ ।
राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत पाउँदा समानुपातिकमा पार्टीले २ हजार ४३३ मत पायो । नेकपाका हेमलाल शर्माले १ हजार २६० मत पाउँदा समानुपातिकमा भने १ हजार २७४ मत पाएको छ । त्यस्तै, श्रम संस्कृति पार्टीकी लवली थापाले ४४८ मत पाउँदा समानुपातिकमा ६७७ मत पाएको देखिन्छ ।
काठमाडौं–७ : कांग्रेसको अन्यत्रभन्दा फरक चित्र
काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपा उम्मेदवार गणेश पराजुलीले प्रत्यक्षतर्फ २७ हजार ८०५ मत ल्याए । समानुपातिकमा भने उम्मेदवारभन्दा धेरै मत रास्वपाले पाएको छ । रास्वपाको यो क्षेत्रमा समानुपातिकतर्फ २८ हजार ८८५ मत छ ।
नेपाली कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत ल्याउँदा समानुपातिकमा भने कांग्रेसको ४ हजार ३१३ मत छ । अन्यत्र पार्टीभन्दा उम्मेदवार बलियो देखिँदा कांग्रेसको यो क्षेत्रमा उम्मेदवारभन्दा पार्टी बलियो देखिएको छ ।
नेकपाका वसन्तप्रसाद मानन्धरले प्रत्यक्षमा ३ हजार ६६७ मत ल्याएर तेस्रो हुँदा पार्टीले समानुपातिकमा भने जम्मा १ हजार ९१९ मत पायो ।

नेकपा एमालेका प्रकाश श्रेष्ठ ३ हजार ५४४ मत ल्याएर चौथो बनेका छन् । तर समानुपातिकमा पार्टीले ३ हजार २५८ मत पाएको छ । राप्रपाका लालकुमार लामाले जम्मा १ हजार ३८१ मत ल्याउँदा समानुपातिकमा २ हजार ३६६ मत पाएको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीका मणिरामबहादुर प्रधानले ४४६ मत ल्याउँदा समानुपातिकमा यो पार्टीले ७६३ मत पाएको छ ।
काठमाडौं–८ : कांग्रेस उम्मेदवारले नपाएको पार्टीकै भोट
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले २४ हाजर ५९२ मत पाउँदा समानुपातिकमा यो पार्टीले २५ हजार १७४ मत पायो । नेकपाका सुमन सायमीले ३ हजार २१७ मत पाउँदा पार्टीले भने जम्मा १ हजार ४८५ मत पाएको देखिन्छ । सुमनले पाएको भोट पार्टीगतभन्दा पनि व्यक्तिगत प्रभावले धेरै पाएको देखिन्छ ।
नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत पाउँदा पार्टीले ३ हजार ३७२ मत पायो । यसले कांग्रेसमा झुकाव राख्ने मतदाताको भोट पनि राजभण्डारीले नपाएको देखिन्छ ।
नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् । समानुपातिकमा भने एमालेले १ हजार ८१२ मत पायो । राप्रपा उम्मेदवार नवीन शाहीले एमाले उम्मेदवारको बराबरी १ हजार ९०९ मत पाउँदा यो पार्टीले भने समानुपातिकमा एमालेभन्दा धेरै २ हजार ५६९ मत पायो ।
त्यस्तै, श्रम संस्कृति पार्टीका शिव सुन्दर कर्माचार्यले २८१ मत पाउँदा समानुपातिकमा भने ४६७ मत पाउन सफल रह्यो ।
काठमाडौं–९ : रास्वपा पार्टीको भन्दा उपसभापतिको धेरै मत
काठमाडौं–९ मा रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत पाए । अन्यत्रको तुलनामा रास्वपाको फरक चित्र यहाँको मतले देखाउँछ । अर्यालले पाएको मतको तुलानामा पार्टीले समानुपातिकमा पाएको मत कम छ । रास्वपाले समानुपातिकमा ३४ हजार ६७१ मत पाएको छ, जुन उम्मेदवारले प्रत्यक्षमा पाएको भन्दा कम हो ।

नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले ५ हजार ४६० मत पाइन् । समानुपातिकमा पनि कांग्रेसको मत उही हाराहारी ५ हजार ४५७ छ ।
नेकपा एमालेका अजयक्रान्ति शाक्यले ४ हजार ५८० मत पाउँदा समानुपातिकमा भने ४ हजार १९१ मत पाएको छ । राप्रपाकाका दिलकुमार कार्कीले १ हजार ४५७ मत पाउँदा समानुपातिकमा ३ हजार ७७ मत आएको छ ।
नेकपाका राधाकृष्ण महर्जनले १ हजार ३२८ मत ल्याउँदा समानुपातिकमा यो पार्टीको २ हजार २८६ मत छ । त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार बलराम श्रेष्ठले ३३१ मत ल्याउँदा ५२८ मत समानुपातिकमा यो पार्टीले पाएको छ ।
काठमाडौं–१० : प्रत्यक्ष र समानुपातिकमा उस्तै
यो क्षेत्रमा रास्वपाका प्रदिप विष्टले ३७ हजार ४६९ मतले विजयी भए । उनले प्रत्यक्षमा त्यति मत पाउँदा समानुपातिकमा भने रास्वपाले ३९ हजार १२८ पाएको छ । यो क्षेत्रमा रास्वपाका उम्मेदवारभन्दा पार्टी बलियो देखिन्छ ।
त्यस्तै, नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत पाएका छन् । यो क्षेत्रमा कांग्रेसले भने ६ हजार ७७४ मत समानुपातिकमा पाएको छ ।
नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाउँदा समानुपातिकमा भने ४ हजार ५१२ पाएको छ । नेकपाकी रुपा महर्जनले २ हजार ६४८ मत पाउँदा समानुपातिकमा भने पार्टीले २ हजार ३३९ मत पायो ।
यो क्षेत्रमा राप्रपाका बलराम थापाले २ हजार २३९ मत ल्याउँदा पार्टीले २ हजार ८०७ मत पायो । त्यस्तै, श्रम संस्कृति पार्टीका धनबहादुर श्रेष्ठले ५२८ मत पाएका छन् भने समानुपातिकमा यो पार्टीले ७३० मत ल्याएको छ ।
प्रतिक्रिया 4