+
+
Shares

कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का

कोशी प्रदेशका २८ मध्ये १७ स्थानमा जितेर रास्वपा पहिलो पार्टी बनेको छ भने भर्खरै खुलेको श्रम संस्कृति पार्टीले ३ स्थानमा विजयको झन्डा फहराएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २६ गते २०:०६

२६ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको परिणामले कोशी प्रदेशको परम्परागत राजनीतिक समीकरण उल्टिएको छ  ।

कोशी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । २०७९ सालको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले १३ सिट जितेको थियो । नेपाली कांग्रेस ९ क्षेत्रमा विजयी हुँदा नेकपाले ३ क्षेत्र जितेको थियो । जसपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवारले १-१ क्षेत्र जितेका थिए ।

यो पटक १७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ । श्रम संस्कृति पार्टी तीन क्षेत्रमा विजयी हुँदा  नेकपा एमाले र नेपाली कांग्रेस ४-४ वटा क्षेत्र जितेका छन् ।

२०७९ सालमा  तीन क्षेत्र जितेको नेपाली कम्युनिस्ट पार्टी यो पटक कोशी प्रदेशको एउटा क्षेत्र बाहेक सबै क्षेत्रमा निकटतम प्रतिस्पर्धी समेत भएन ।

कसले कहाँ जिते 

कोशी प्रदेशमा जबरजस्त उदाएको रास्वपाले झापा, मोरङ र उदयपुर जिल्लामा क्लिन स्विप गरेको छ । सुनसरीमा भने श्रम संस्कृति पार्टी एक क्षेत्र जित्यो । झापा-१ बाट रास्वपा उम्मेदवार निशा डाँगी विजेता बनिन् । २ बाट इन्दिरा राना विजयी हुँदा ४ मा शम्भुप्रसाद ढकालले बाजी मारे ।

क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह (बालेन) विजयी भए । ६८ हजार ३४८ मतसहित बालेन विजयी हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । यो क्षेत्रमा २०७९ सालमा नेकपा एमाले अध्यक्ष ओली विजयी भएका थिए ।

झापाकै क्षेत्र नम्बर ४ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ४३ हजार ६३१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी बनेका नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत पाए । यो क्षेत्रबाट २०७९ सालमा एमाले उम्मेदवार साँवा विजयी भएका थिए ।

कोशी प्रदेशमा जबरजस्त उदाएको रास्वपाले झापा, मोरङ र उदयपुर जिल्लामा क्लिन स्विप गरेको छ । सुनसरीमा भने श्रम संस्कृति पार्टी एक क्षेत्र जित्यो ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी भए । यो क्षेत्र २०७९ सालमा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जितेका थिए । क्षेत्र नम्बर २ मा बाट राना ६० हजार ११० मतसहित विजयी भइन् । २०७९ सालको निर्वाचनमा विजयी भएका एमाले नेता देवराज घिमिरेले यो पटक जम्मा ११ हजार ३६८ मत प्राप्त गरे ।

क्षेत्र नम्बर १ मा  निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी हुँदा कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका छन् । यो क्षेत्रबाट २०७९ सालमा कांग्रेसका विश्वप्रकाश शर्मा विजयी भएका थिए ।

मोरङ जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ । मोरङ-१ बाट यज्ञमणी न्यौपाने, २ बाट कृष्ण कार्की, ३ बाट गणेश कार्की, ४ बाट सन्तोष राजवंशी, ५ बाट आशा झा र क्षेत्र नम्बर ६ बाट रुविना आचार्य विजयी भइन्

मोरङ-६ बाट रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी हुँदा कांग्रेस नेता शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए । २०७९ सालको निर्वाचनमा कोइराला नै यो क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मतसहित विजय भइन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार फूलकुमार लालवानीले ९ हजार ४१५ मत पाए । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए ।

मोरङ-४ मा पनि रास्वपा उम्मेदवार सन्तोष राजवंशी विजयी भए । उनले ४० हजार ८३३ मत ल्याउँदा कांग्रेस महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे । यो क्षेत्रबाट २०७९ मा नेकपाका अमनलाल मोदीले बाजी मारेका थिए ।

क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुनिल शर्माले २४ हजार ३५४ मत पाए । २०७९ को निर्वाचनमा शर्मा यो क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र  नम्बर २ मा कृष्णकुमार कार्की विजयी भए । कार्कीले ४० हजार ९२४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार दिलिपकुमार अग्रवाल १५ हजार ६२४ मतमा खुम्चिए । यो क्षेत्र २०७९ को निर्वाचन एमालेका ऋषिकेश पोखरेलले जितेका थिए ।

मोरङ-१ मा रास्वपाकै यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित निर्वाचित भए । निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् । २०७९ को निर्वाचनमा कांग्रेस नेता डिगबहादुर लिम्बु विजयी भएका थिए ।

सुनसरीको चार वटा क्षेत्रमध्ये तीन क्षेत्र रास्वपाले जितेको छ भने एउटामा श्रम संस्कृति पार्टी विजयी भएको छ ।

क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ३५ हजार ७४१ मतसहित विजयी हुँदा दोस्रो भएकी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गोमा तामाङको २७ हजार २४९ मत पाइन् । यो क्षेत्रबाट २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राई विजयी भएका थिए ।

सुनसरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार लालविक्रम थापा निर्वाचित भए । थापाले ५७ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा यो क्षेत्र नेकपा एमालेका भीम आचार्यले जितेका थिए ।

क्षेत्र  नम्बर ३ मा पनि रास्वपाकै अशोककुमार चौधरी विजयी भए । यसअघि उनी समानुपातिक सांसद थिए । यो पटक ४७ हजार ४२१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्‍छदारले २० हजार ५०१ मत पाए । २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी थिइन् ।

२०७९ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भएका कांग्रेस नेता ज्ञानेन्द्र कार्की राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार दीपककुमार साहसँग पराजित भए । ४२ हजार ७७१ मतसहित साह निर्वाचित हुँदा कार्कीले १६ हजार ५८७ मत पाए ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ । क्षेत्र नम्बर १ मा रास्वपाका पारशमणि गेलाल ३० हजार ५९० मतसहित निर्वाचित भए हुँदा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत पाए । यसअघि कांग्रेस नेता डा. नारायण खड्का निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर २ मा रास्वपाका सूर्यबहादुर तामाङ्ग विजयी भए । अघिल्लो निर्वाचनमा एमालेका अम्बरबहादुर रायमाझीले जितेका थिए ।

रास्वपाले ओखलढुंगामा पनि जित दर्ता गरेको छ । २०७९ को निर्वाचन कांग्रेसका नेता रामहरि खतिवाडाले जितेको ओखलढुंगामा यस पटक रास्वपाका विश्वराज पोखरेल विजयी भए । पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले १३ हजार ९४८ मत पाए ।

दुई निर्वाचन क्षेत्र रहेको इलाममा कांग्रेस र एमालेबाट युवा नेताले एक-एक सिट बाँडेका छन् । इलाम-१ मा कांग्रेसका निश्कल राई १४ हजार ५४३ मतसहित निर्वाचन भए । निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत पाए । २०७९ मा यो क्षेत्रबाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका थिए ।

क्षेत्र नम्बर २ मा एमाले सुहाङ नेम्वाङ दोहोरिए । २०८१ को उपनिर्वाचन जितेका नेम्वाङले यो पटक २२ हजार ४२६ मत ल्याए । निकटतम बनेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत पाए ।

पाँचथरमा कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् । केरुङले १७ हजार २३३ मतसहित विजयी हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले १४ हजार ७३४ मत पाए ।

धनकुटामा एमाले नेता राजेन्द्र राई दोहोरिएका छन् । २०७९ को निर्वाचनमा जितेका उनी यो पटक पनि १८ हजार १३२ मतसहित विजयी भए । दोस्रो बनेका नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए ।

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६ हजार ६६३ मतसहित राई विजयी हुँदा नेकपा एमाले उम्मेदवार शेरधन राईले १४ हजार ७५० मत पाए । यो क्षेत्रमा २०७९ सालमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार सुदन किराती विजयी भएका थिए ।

खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मतसहित विजयी भएका छन् । नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए । २०७९ सालमा यो क्षेत्रबाट नेकपा उम्मेदवार रामकुमार राई विजयी भएका थिए ।

तेह्रथुम जिल्लामा कांग्रेस उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भए । ११ हजार ५६१ मतसहित सुब्बा निर्वाचित हुँदा नेकपा एमाले उम्मेदवार भानुभक्त ढकाल १० हजार ६८२ मतसहित दोस्रो भए । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेतृ सीता गुरुङ विजयी भएकी थिइन् ।

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा निकतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका असीम राईले ९ हजार ४१४ मत पाए । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका मानवीर राई निर्वाचित भएका थिए ।

कोशी प्रदेशमा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो पार्टी बनेको छ ।

ताप्लेजुङमा एमाले उम्मेदवार क्षितिज थेबे १३ हजार ९६२ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत पाए । २०७९ सालमा यो क्षेत्रबाट एमाले नेता योगेश भट्टराई विजयी भएका थिए ।

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भए । २०७९ सालमा कांग्रेसका दीपक खड्काले जितेको यो जिल्लामा कार्कीले १५ हजार ६३६ मत ल्याए । रास्वपा उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत पाए ।

समानुपातिकमा पनि पहिलो 

कोशी प्रदेशमा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फ रास्वपाले ८ लाख ३६ हजार ७६८ मत प्राप्त गर्दा दोस्रो रहेको नेपाली का‌ग्रेसले २ लाख ७८ हजार ७०७ मत प्राप्त गरेको छ । तेस्रो भएको नेकपा एमालेले २ लाख ७७ हजार ३०१ मत प्राप्त गरेको छ ।

चार महिनाअघि मात्रै खुलेको श्रम संस्कृति पार्टी २ लाख ७४ हजार ७२४ मतसहित चौथो हुँदा नेपाली कम्युनिस्ट पार्टीले एक लाख मत कटाउन सकेन । नेकपाले कोशी प्रदेशमा ९३ हजार ३९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६१ हजार ९०० मत प्राप्त गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?