News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले पूँजी कोष नपुर्याउने र बचतकर्तालाई न्यून ब्याजदर दिने १४ लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ।
- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ लघुवित्त संस्थाको पूँजी कोष तोकिएको भन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ।
- राष्ट्र बैंकले तथ्यांक नपठाएका लघुवित्त संस्थालाई विवरण पठाउन निर्देशन दिएको छ र नियम पालना नगर्ने संस्थालाई निर्देशन दिइसकेको छ।
१८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले पूँजी कोष नपुर्याउने तथा बचतकर्तालाई दिने ब्याजदर न्यून कायम गरेको पाएपछि कारबाही गरेको हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष तोकिए भन्दा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । त्यस आधारमा संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाको पूँजीकोष ८ प्रतिशत भन्दा कम छ । यो लघुवित्त समस्याग्रस्त घोषणा भएको र फुकुवाको क्रममा रहेको छ ।
चालु आवको पुससम्ममा नाडेप लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई पनि न्यून पूँजीकोष अन्तर्गत कारबाही गरिएको बैंकले जनाएको छ । त्यसैगरी फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, यूनिक लघुवित्त र मातृभूमि लघुवित्त वित्तीय संस्थाले पनि पूँजीकोष बढाउनुपर्ने अवस्था देखिएको बैंकले जनाएको छ । तर, सञ्चालनमा रहेका अन्य ४५ वटा लघुवित्त वित्तीय संस्थाहरूले पूँजीकोषमा तोकिएको सीमा कायम गरेको बैंकले जनाएको छ ।
त्यस्तै लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्छ । कालिका लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले तोकिएभन्दा न्यून ब्याजदर काम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकले नियम पालना नगर्ने लघुवित्तलाई पुर्ण पालनका लागि निर्देशन दिइसकेको छ । उल्लेखित लघुवित्त संस्थाहरुबाहेक सबै संस्थाले उक्त व्यवस्थाको पालना गरेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको सुपरीवेक्षकीय सूचना प्रणालीमा अभियान लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाले हालसम्म कुनै पनि तथ्यांक पठाएका छैनन् । श्रृजनशील लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले न्यून मात्रामा तथ्यांक पठाएको केन्द्रीय बैंकले जनाएको छ । तथ्यांक नपठाएका संस्थालाई विवरण पठाउन निर्देशन दिइएकोछ ।
लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १ प्रतिशत तथा सुक्ष्म निगरानी र पुनर्संरचना/पुनर्तालिकीकरण कर्जाका लागि ५ प्रतिशत, बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको केन्द्रीय बैंकले जनाएको छ । साथै लघुवित्तले सक्रिय कर्जाका लागि कुल कर्जा रकमको १.४६ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् ।
२०८२ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमश २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ९.९९ प्रतिशत छ । साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ५.१७ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको बैंकले जनाएको छ । २०८२ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले ३३ अर्ब ४० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ६.६३ प्रतिशत र निष्क्रिय कर्जाको ६६.३८ प्रतिशत हो ।
लघुवित्तले कुल कर्जामा एक–तिहाइमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्नसक्ने व्यवस्था छ । आर्थिक वर्ष २०८२ पुस मसान्तमा धितो कर्जा कुल कर्जाको १४.८२ प्रतिशत मात्र रहेको केन्द्रीय बैंकले जनाएको छ ।
लघुवित्त संस्थाले अनिवार्य रुपमा आफ्नो कुल कर्जाको एक तिहाइ कर्जा कृषि क्षेत्रमा प्रवाह गनुपर्छ । सबै लघुवित्त वित्तीय संस्थाहरुले सो निर्देशनको पालना गरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी लघुवित्त वित्तीय संस्थाहरूले कुल बचत तथा सापटी कोषको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्छ । २०८२ पुस मसान्तमा संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाबाहेक सबै लघुवित्तले यसको पालना गरेको केन्द्रीय बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्ति अनुपात गर्नुपर्छ, तर सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले कुल बचत तथा निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्छ । २०८२ पुस मसान्तमा सबै लघुवित्त वित्तीय संस्थाहरुले सो व्यवस्थाको पालना गरेका छन् ।
प्रतिक्रिया 4