News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन बुधबार काठमाडौं आएका छन्।
- निफको दोस्रो दिन चैत २० गते सिनेमा संवाद कार्यक्रममा रमेश सिप्पी र राजेश हमालबीच कुराकानी तय भएको छ।
- निफको नवौं संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा छन् र ६ वटा चिनियाँ, ४ वटा रुसी फिल्म विशेष प्रदर्शन हुनेछन्।
काठमाडौं । बलिउडको चर्चित ‘कल्ट-क्लासिक’ फिल्म ‘शोले’ निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी हुन आइपुगेका छन् । बुधबार बेलुका काठमाडौं उत्रिएका उनी केही दिन बस्नेछन् ।
आजदेखि सुरु हुने फेस्टिभलको उद्घाटन सत्रमा सिप्पी सहभागी हुनेछन् ।
निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र अभिनेता राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम तय भएको छ । जहाँ उनीहरूले आफ्नो व्यक्तिगत अनुभव, सिनेमा क्षेत्रको यात्रा र सिनेमाको भविष्यबारे केन्द्रित रहेर कुराकानी तय भएको आयोजकले बताए ।
१९ देखि २३ चैतसम्म हुने निफमा सहभागी हुन अन्य विदेशी पाहुनाहरू पनि आइसकेका छन् । निफको नवौं संस्करणको नारा ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको छ ।
निर्देशक सिप्पीसँगै भारतीय कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय चलचित्र निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन् । सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थिति रहने बताइएको छ ।
यो संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा सहभागी छन् । ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।
प्रतिक्रिया 4