News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका चर्चित फिल्म निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।
- सिप्पीले भारतीय फिल्मको यात्रा र अनुभव नेपाली फिल्ममेकरसँग सेयर गर्ने कार्यक्रम राखिएको छ।
- निफमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिने र १० वटा अन्तक्र्रियात्मक कार्यक्रम हुने आयोजकले जनाएका छन्।
काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
निफ अध्यक्ष केपी पाठकका अनुसार सिप्पी काठमाडौं आउने पक्का भएको हो । सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्ममेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए ।
पाठकले भने, ‘नेपाली-भारतीय मेकरको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनभुवले नेपाली मेकरलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं । उहाँले स्वीकार गर्नुभयो ।’
सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा साबित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उनी दर्जनौं फिल्मको निर्माता र केही फिल्ममा कलाकार समेत छन् ।
सिप्पली आफ्नो निर्देशनमा बनेका फिल्ममा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्ना लगायतका बलिउड स्टारलाई अभिनय गराएका छन् ।
नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रम गरिनेछ ।
प्रतिक्रिया 4