News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तान सुपर लिग २०२६ दर्शकबिना लाहोर र कराँचीमा मात्र खेलाइने भएको छ।
- पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले अवस्था सुधारिएमा अन्तिम चरणमा दर्शकलाई अनुमति दिन सकिने बताए।
- संकटका कारण इन्धन अभाव बढेपछि पीसीबीले टिकट किनेका दर्शकलाई पैसा फिर्ता गर्ने र फ्रेन्चाइज टिमलाई नोक्सानी क्षतिपूर्ति दिने जनाएको छ।
८ चैत, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ दर्शकबिना खेलाइने भएको छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता अब केवल लाहोर र कराँचीमा मात्रै खेलाइनेछ।
पहिले ६ सहरमा हुने तय भए पनि सुरक्षा र इन्धन संकटका कारण स्थान घटाइएको हो। लाहोरमा हुने उद्घाटन समारोह पनि रद्द गरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले अवस्था सुधारिएमा प्रतियोगिताको अन्तिम चरणमा दर्शकलाई अनुमति दिन सकिने बताएका छन्। उनले संकट कहिलेसम्म रहन्छ भन्ने अनिश्चित रहेको बताए।
संकटका कारण तेल आपूर्तिमा समस्या भएको छ, विशेष गरी होर्मुज जलडमरूमध्यमा अवरोध भएपछि। यसले पाकिस्तानमा इन्धन अभाव बढाएको छ। सरकारले नागरिकलाई आवतजावत कम गर्न आग्रह गर्दै विद्यालय बन्द, ‘वर्क फ्रम होम’ र बिदा बढाउने निर्णय गरेको छ।
यस्तो अवस्थामा दर्शकसहित खेल गराउनु उपयुक्त नहुने भन्दै पीसीबीले बिना दर्शक प्रतियोगिता गर्ने निर्णय गरेको हो।
पीसीबीले टिकट किनेका दर्शकलाई पैसा फिर्ता गर्ने र फ्रेन्चाइज टिमलाई हुने नोक्सानी क्षतिपूर्ति दिने जनाएको छ। साथै, यस वर्ष खेल हुन नसकेका सहरहरूमा अर्को वर्ष प्रतियोगिता विस्तार गरिने आश्वासन पनि दिइएको छ।
पीएसएलमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले पनि इस्लामाबाद युनाइटेडबाट खेल्दै छन् ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4