+

जटिल मोडतर्फ नेपाली फुटबल, फिफाको जवाफ कुर्दै एन्फा

२०८२ चैत  ८ गते १४:५३ २०८२ चैत ८ गते १४:५३

अखिल नेपाल फुटबल संघ (एन्फा) मा अर्ली इलेक्सनको घोषणापछि आन्तरिक विवादमा फसेको नेपाली फुटबल नाजुक बन्दा स्थिति झन् जटिल मोडमा पुगेको छ ।

जटिल मोडतर्फ नेपाली फुटबल, फिफाको जवाफ कुर्दै एन्फा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले चैत १३ मा अर्ली इलेक्सन गर्ने तयारी गरिरहेको छ भने राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न पत्र पठाएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तहगत निर्वाचन गरेर आउन भन्यो, नभए कानुन अनुसार कदम चाल्ने चेतावनी दिएको छ।
  • एन्फाले फिफा र एएफसीसँग पत्राचार गरिरहेको छ र फिफाको जवाफको पर्खाइमा रहेको जानकारी प्रवक्ताले दिएका छन्।

८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा अर्ली इलेक्सनको घोषणापछि आन्तरिक विवादमा फसेको नेपाली फुटबल नाजुक बन्दा स्थिति झन् जटिल मोडमा पुगेको छ ।

एन्फाले घोषित अर्ली इलेक्सन जसरी पनि गराई छाड्ने अडान लिएपछि त्यसको बाछिटाले फुटबलको सबै क्षेत्रमा असर गरेको छ । अहिले अवस्था यस्तो स्थितिमा पुगेको छ कि यो समस्या अझै बढ्दै जाने हो भने नेपाली फुटबल अघ ठूलो समस्यामा फस्ने पक्का छ र यसो भयो भने फिफाबाट निलम्बनको ठूलो खतरा हुनेछ ।

अहिले एन्फा नेतृत्व चैत १३ मा अर्ली इलेक्सन गर्ने तयारीमा छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उक्त निर्वाचन रोक्नका लागि एन्फालाई बारम्बार पत्र पठाएपनि एन्फाले अटेर गररहेको छ ।

पछिल्लो पटक राखेपले चैत ५ गते एन्फालाई अर्ली इलेक्सन र साधारण सभा स्थगित गरेको लिखित जानकारी तीन दिन भित्र उपलब्ध गराउन भन्दै चेतावनीसहित पत्र पठाएको थियो ।

त्यस पत्रपछि एन्फा अध्यक्ष पंजक विक्रम नेम्वाङ र महासचिव किरण राईले राखेप सदस्य सचिव रामचरित्र मेहतालाई भेटेर निर्वाचन र फिफाको कन्सर्नबारे जानकारी गराएका थिए । तर उक्त भेट वार्ताले कुनै निकास भने निकाल्न सकेन ।

राखेपले एन्फालाई दिएको समयसीमा सकिन लागेको छ भने अर्कोतर्फ राखेपले वर्तमान एन्फा कार्यसमिति विघटन गर्दै तदर्थ कार्यसमिति बनाउने तयारी गरेको चर्चाले माहोलमा घ्यु थप्ने काम गरेको छ ।

राखेप सदस्य सचिव मेहताले अहिले तोकिएको मिति निर्वाचन नगरी जिल्ला तहगत निर्वाचन गरेर आए स्वीकृति दिने अन्यथा ऐन कानुन अनुसार आफुहरूले कदम चाल्ने अनलाइनखबरसँग बताए ।

‘चैत १३ गतेको निर्वाचन अघि हामीले तहगत रुपमा निर्वाचन गरेर आउनुस् भनेर प्रष्ट रुपमा भनेका छौं । जिल्लामा पहिल्यै जितेर भोट हालिसकेकोले फेरि भोट हाल्दा के हुन्छ?, मेहताले भने, ‘हामीले आजसम्मको समय दिएका छौँ । नभएर कानुन अनुसार नै अघि बढ्छौं ।’

उनले एन्फा धेरै अराजक भएको र नियम नमाने निलम्बन हुनसक्ने समेत जानकारी दिए । ‘अब धेरै अराजक भयो । भनेको नमानेपछि के गर्ने त ? ऐन नियम अनुसार निलम्बनतर्फ जान्छ । ऐनको भएको व्यवस्था पनि कार्यान्वयन नगर्ने भन्ने हुँदैन ।’

सदस्य सचिव मेहताले फिफा र एएफसीलेको निर्देशन देखाएर एन्फाले निर्वाचन गर्न खोजेपनि नेपालको कानुन विपरित हुने कुनै पनि कुरा स्वीकार्य नहुने र यो कुरा आफूले एन्फा नेतृत्वलाई पनि जानकारी गराएको बताए ।

‘फिफा र एएफसीले यो गर भनेर भनेको छ भन्ने उहाँहरूको कुरा छ । अब गलत कुरालाई फिफा एएफसीले हुन्छ भन्छ भने हाम्रो ऐन अनुसार स्वीकार्य हुँदैन’ मेहताले भने, ‘मैले एन्फा अध्यक्ष र महासचिवज्युसँग पनि वान टु वान र सँगै पनि कुरा गरेको भनेको छु तपाईँहरूको कारणले फुटबल बिग्रन हुँदैन भनेर । र हामी ऐन अनुसार जे व्यवस्था छ त्यही कार्यान्वयन गर्छौं।’

एन्फा प्रवक्ता सुरेश शाहले राखेपले निर्वाचन रोक्न पठाएको पत्र फिफामा पठाएको र फिफाको जवाफको पर्खाइमा रहेको जानकारी दिए । ‘परिषद्‍बाट प्राप्त पत्र फिफा र एएफसीमा पठाएको छौं । आज आइतबार बिदा भएकोले सोमबारसम्म जवाफ आउँछ भनेको छ’ शाहले भने, ‘हामीले राखेपको निर्देशनको पत्र फिफालाई पठाएको छौं । उताबाट जवाफ के आउँछ त्यसको पर्खाइमा छौं । राखेपको निर्देशन मानेर अघि बढ भन्यो भने त्यही अनुसार गर्छौं । निर्वाचन गर भन्यो भने त्यही अनुसार गर्छौं।’

यदि फिफाले निर्वाचन गर्ने निर्देशन दिएमा एन्फाको निर्वाचन गरेर अघि बढेमा फुटबल दुर्घटनातर्फ गए के हुन्छ भन्ने प्रश्नमा उनले त्यसको जिम्मेवारी चलखेल गर्ने व्यक्तिहरूले लिनुपर्ने बताए ।

एन्फाले राखेपको स्वीकृति बिना एन्फा साधारण सभा र अर्ली इलेक्सन गर्न जोडबल गरिरहेको छ भने राखेप आफ्नो नियमविपरित गरेमा कानुनअनुसार अघि बढ्ने योजनामा छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार परिषदको स्वीकृति बिना हुने साधारण सभा र निर्वाचन मान्य नहुने भन्दै राखेपले पटक-पटक स्पष्ट पार्दै एन्फालाई पत्र पठाएको छ । तर त्यस निर्देशनलाई एन्फाले अटेर गर्दै अघि बढेको छ ।

अहिले नेपाली फुटबल जटिल मोडमा पुगेको छ । एन्फा भर्सेस नेपाल फुटबल खेलाडी, एन्फा भर्सेस डिभिजन क्लबहरू हुँदै अहिले एन्फा भर्सेस राष्ट्रिय खेलकुद परिषद (राखेप) को अवस्था देखिएको छ ।

यही विवादका बीच पुरुष राष्ट्रिय लिग र एन्फा महिला लिग पनि स्थगित भएको छ भने नेपाल र हङकङबीच हुने तय भएको मैत्रीपूर्ण फुटबल खेल पनि स्थगित भएको छ ।

खेलाडी संघ र क्लबहरू एन्फा मातहतमै हुने र उनीहरूसँग वार्ता र छलफल मार्फत समस्या समाधान गर्न सहज हुने भएपनि राखेप सरकारी नियकाय भएको र नेपालको खेलकुद हेर्ने कार्यकारी निकाय नै भएकोले राखेपसँगको जुवारी एन्फाका लागि भारी पर्न सक्छ ।

यो भारी एन्फाका लागि मात्र नभई समग्र नेपाली फुटबललाई नै दिर्घकालिन नकरात्मक असर पार्ने खालको हुन सक्छ । एन्फाले भने यसअघि नै एन्फा निर्वाचन समितिमार्फत निर्वाचनको प्रक्रिया पुरा गरिसकेको छ ।

यस्तै एन्फाले आफ्ना सदस्यहरूलाई चैत १३ को साधारण सभा र निर्वाचनको कार्यसुची पनि पठाइसकेको छ ।

जिल्ला, क्लब र संघहरू गरी एन्फाको कूल १०६ सदस्य मध्ये ८८ मताधिकार छ । निर्वाचनका लागि उम्मेदवार देखि मताधिकारसम्मको अन्तिम टुङ्गो पनि एन्फाले लगाइसकेको छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङ र उपाध्यक्ष दिर्घ केसी (कुमार) उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्षमा एक पदका लागि ३ जना, उपाध्यक्षमा चार पदका लागि १० जना, सदस्य खुलल् १३ पदका लागि २८ जना र २ महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा विवाद
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय