+
+
Shares

कांग्रेस संसदीय दलको नेता को ?

अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।

केशव सावद केशव सावद
२०८२ चैत १९ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख चयनपछि मात्रै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
  • सभामुख चयनपछि कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर निर्वाचन समिति बनाउने छ।
  • प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसमा संसदीय दलको नेता चयनका लागि मतदान प्रक्रिया अपनाउने सम्भावना बढी रहेको छ।

१९ चैत, काठमाडौं । नवगठित प्रतिनिधिसभाले सभामुख चयन गरिसकेपछि मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता टुंगो लगाउने भएको छ ।

पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसी हाल जेष्ठ्य सदस्यको भूमिकामा रहेका कारण कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्ने भएको हो ।

कांग्रेसका तर्फबाट समानुपातिकतर्फ सांसद निर्वाचित केसीले आकांक्षा राखेका कारण सभामुखको टुंगो लागेपछिमात्रै संसदीय दलको नेता चयनबारे प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ ।

कांग्रेसको एक उच्च नेताले सभामुखको निर्वाचनपछि मात्रै पार्टीले संसदीय दलको नेता चयनबारे छलफल अघि बढाउने जानकारी दिए ।

‘अर्जुननरसिंह दाइले इच्छा देखाइरहनुभएको छ । अहिले उहाँ सभा सञ्चालन गर्ने भूमिकामा हुनुहुन्छ,’ ती नेताले अनलाइनखबरसँग भने, ‘सभामुख चयन भएपछि जेष्ठ सदस्यको हैसियतमा उहाँले संसद् चलाउनु पर्दैन । त्यसपछि मात्रै हाम्रो छलफल हुन्छ ।’

प्रतिनिधिसभाका सभामुखको निर्वाचन २२ चैतका लागि तय भएको छ । निर्वाचनका लागि २० चैतमा मनोनयन दर्ता तोकिएको छ ।

२२ चैतमा निर्वाचन भएकै दिन सभामुखको पदबहाली भएपछि कांग्रेस सांसद केसीले जेष्ठ सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिका समाप्त हुनेछ । कांग्रेस स्रोतका अनुसार पार्टीले २३ चैतपछिमात्रै संसदीय दलका नेता चयन गर्ने देखिन्छ ।

कांग्रेस महामन्त्री गुरूराज घिमिरेले दलको नेता चयनका लागि निर्वाचन समिति बनाउन केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार आगामी शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन समिति चयन गर्ने छ ।

‘कार्यसम्पादन समितिको बैठक बसेर निर्वाचन समिति बन्छ । निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउँछ,’ महामन्त्री घिमिरेले भने, ‘शनिबारका लागि कार्यसम्पादन समिति बैठक बोलाएका छौं ।’ बैठकको समय भने तय भइसकेको छैन ।

कांग्रेस संसदीय दलको विधानको दफा ५ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा (१) र (२) अनुसार कांग्रेसमा दलको नेता चयन हुने गरेको छ ।

उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगन थापाले दलको नेतामा चुनौती दिएका थिए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई टिकट वितरण गर्दा देउवा र थापा दुबैको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग भएको थियो ।

समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाले हस्ताक्षर गरेका थिए ।

दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरू संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

संसदीय दलको नेताका लागि विशेष महाधिवेशनमा सहभागी भएका र नियमित महाधिवेशनको अडानमा देखिएका नेताहरूले दाबी गरिरहेका छन् । महामन्त्री घिमिरेले यसपटक दलको नेतामा दाबी गर्ने सांसदको संख्या बढी देखिएको प्रतिक्रिया दिए ।

‘यस पटक धेरै मान्छेहरूले इच्छा राखिरहनुभएको छ । उहाँहरूका आ–आफ्ना लजिक छन्,’ महामन्त्री घिमिरेले भने, ‘बाहिर पनि नामहरू आएकै छन् ।’

प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र नरेन्द्र केरुङलाई दलको नेताका आकांक्षीका रूपमा हेरिएको छ ।

यस्तै समानुपातिकतर्फका निर्वाचित सांसदद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दलको नेतामा दाबेदारी प्रस्तुत गरिरहेका छन् । कांग्रेसवृत्तमा इलाम–१ बाट प्रत्यक्षतर्फ विजयी सांसद निश्कल राईलाई दलको नेता बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।

आकांक्षीहरूमध्ये नुवाकोटका केसी र पाँचथरका आङ्देम्बेलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ । दुवै नेताहरू कांग्रेसका पूर्वसहमहामन्त्रीहरू पनि हुन् । केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद् मानिन्छन् । आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनमा सभासदको भूमिकामा थिए ।

नेता केसी संस्थापननिकट र आङ्देम्बे संस्थापनइतर समूहका नेताका रूपमा चिनिन्छन् । पार्टीको १४ औं महाधिवेशनमा केसी डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १८ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २० जना निर्वाचति भएका छन् । दुबै प्रणालीअन्तर्गत निर्वाचित निर्वाचित कुल ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्षको बर्चस्व छ भने समानुपातिकतर्फ संस्थापनइतर समूहका सांसद बढी छन् ।

टिकट वितरणलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसदहरू छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सात जना मानिन्छन् ।

तर, पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको ध्रुवीकरणले सांसदहरूको संख्याबारे एकिन भन्न सकिने अवस्था भने देखिँदैन ।

गत मंगलबार इतर समूहले सांसदहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा २२ मध्ये ११ जनामात्रै उपस्थित थिए ।

तथापी, कार्यक्रम आयोजक इत्तर समूहका नेताहरूले कतिपय सांसदहरू उपत्यका बाहिर रहेका, कतिपयलाई समानुपातिकतर्फका सांसदलाई संस्थापन पक्षले डर–त्रास देखाएको र कोशी तथा कर्णाली प्रदेशका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ ले छलफलका लागि बोलाएका कारण उपस्थिति कम भएको दाबी गरेका थिए ।

टिकट वितरण र समानुपातिकतर्फको अन्तिम परिणामलाई आधार मान्दा प्रत्यक्षतर्फ विजयी १२ र समानुपातिकतर्फ चार जना सांसद संस्थापनतिर छन् ।

प्रत्यक्षतर्फ निर्वाचित प्रकाशसिंह कार्की (सोलुखुम्बु), नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), निश्कल राई (इलाम–१), मो. फिरदोश आलम (रौतहट–२), र अभिषेकप्रताप शाह (कपिलवस्तु–३) संस्थापन पक्षीय सांसद हुन् ।

यस्तै मोहन आचार्य (रसुवा), खड्ग शाही (मुगु), बासना थापा (दैलेख–१), भरतकुमार स्वार (अछाम–१), भरतबहादुर खड्का (डोटी) र जनकराज गिरी (बाजुरा) संस्थापन पक्षका मानिन्छन् ।

समानुपातिक प्रणालीबाट निर्वाचित अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक पनि संस्थापन पक्षीय सांसदहरू हुन् ।

देउवा समूहबाट प्रत्यक्षतर्फ पाँच जनाले चुनाव जितेका छन् । विशेष महाधिवेशनको विपक्षमा रहेका केही नेताहरूलाई सभापति थापाले प्रत्यक्षतर्फ टिकट दिएका थिए । जसमध्ये देउवानिकट पाँच जना निर्वाचन भएका थिए ।

देउवा समूहबाट प्रत्यक्षतर्फ मनाङबाट टेकबहादुर गुरुङ, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपति रोकाया, जाजरकोटबाट खड्कबहादुर बुढा र सुर्खेत–१ बाट विष्णुबहादुर खड्काले चुनाव जितेका हुन् ।

समानुपातिकतर्फ देउवा समूहबाट १० जना सांसद् बनेका छन् । जसमा भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, शाहजान खातुन, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया (उर्मिला) र हरिनादेवी कामी रहेका छन् ।

कोइराला समूहबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ छ गरी सात जना सांसद छन् । प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका थिए ।

यस्तै गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी (उप्रेती), डा.प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव समानुपातिकतर्फ विजयी भएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?