+
+
Shares

हजारौं वर्ष पुरानो सिन्धु घाटी सभ्यताका अनेक रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धु घाटी सभ्यता ईसापूर्व २६०० देखि १९०० सम्म फैलिएको थियो र यसमा १४०० भन्दा बढी शहर र बस्तीहरू थिए।
  • यस सभ्यतामा इँटाले बनेका घर, व्यवस्थित गल्लीहरू, शौचालय र ढल निकास प्रणाली थिए जसले सरसफाइमा यसको आधुनिकता देखाउँछ।
  • सिन्धु सभ्यताको शासन व्यवस्था सामूहिक थियो र त्यहाँ कुनै शासक कुलीन वर्ग थिएन, जसले यसलाई अन्य सभ्यताबाट फरक बनाएको छ।

इँटाले बनेका दुईतीन तल्ले घरहरू, सिधा र सफा गल्लीहरू, ढल निकासको राम्रो व्यवस्था र आधुनिक खालका शौचालयहरू…

यी सुन्दा तपाईंलाई आजको कुनै विकसित शहरको कुरा जस्तो लाग्न सक्छ । तर, यो हजारौं वर्ष पहिलेको सिन्धु घाटी सभ्यताको विशेषता हो ।

इजिप्ट (मिश्र) को सभ्यता निकै चर्चामा रहेका बेला यो सभ्यता पनि अस्तित्वमा थियो ।

तर, यी दुई सभ्यतामध्ये हामीलाई सिन्धु घाटीबारे त्यति धेरै थाहा छैन । यद्यपि सिन्धु सभ्यता त्यसबेलाका अन्य सभ्यताहरूभन्दा विकसित र आधुनिक रहेको भने प्रमाण छन् । ईसापूर्व २६०० देखि १९०० सम्ममा फैलिएको मानिने सिन्धु घाटी सभ्यताको जीवनशैली पनि अन्यभन्दा फरक र विशिष्ट नै थियो ।

युनिभर्सिटी अफ अक्सफोर्ड र युनिभर्सिटी कलेज लन्डनका लेक्चरर डाक्टर सङ्गारालिङ्गम रमेशका अनुसार चार हजार ईसापूर्व भन्दा पहिले पनि यस सभ्यताको अस्तित्व थियो ।

यसको केन्द्र सिन्धु नदी वरपरको क्षेत्र थियो । त्यसक्षेत्र अहिले पाकिस्तान र भारत लगायतका देशमा बाँडिएर रहेको छ । त्यस समयमा यो सभ्यतामा १४०० भन्दा बढी शहर र बस्तीहरू रहेको अनुमान गरिन्छ ।

तिनमा सबैभन्दा ठूलो क्षेत्र भने हडप्पा र मोहनजोदडो रहेको मानिन्छ । डाक्टर रमेश सिन्धु घाटी सभ्यता प्राचीन इजिप्ट र प्राचीन मेसोपोटामिया (आजको इराक) को सभ्यता भन्दा धेरै ठूलो रहेको बताउँछन् । लाखौं मान्छेहरू बसोबास गर्ने यो सभ्यतालाई धेरै कारणले आधुनिक मानिने उनको भनाइ छ।

आधुनिक टाउन प्लानिङ

डाक्टर रमेशका अनुसार सिन्धु घाटी सभ्यतामा इँटाले घर बनाउने सिलसिला सुरु भएको थियो । यहाँका मान्छेहरूले घर बनाउन एउटै आकारका इँटाहरू प्रयोग गर्थे।

त्यस्तै यहाँ शहरहरू पनि व्यवस्थित गरेर बनाइएका हुन्थे । एकैनासका गल्लीहरू र ९० डिग्रीको कोणमा यहाँ शहरहरू बनाइन्थे । शहरमा इनारहरू हुन्थे । हरेक घरहरूमा शौचालय थिए । ढल प्रणाली पनि हुन्थ्यो ।

शौचालय र ढलहरू पाइएकाले यो सभ्यता फोहोर पानीबाट हुने रोगहरूबारे पनि सचेत रहेको बताइन्छ । त्यसले यो सभ्यता सरसफाइमा पनि अगाडि रहेको जनाउने जानकारहरू बताउँछन् ।

त्यस्तै यो सम्भयतामा शहरी जनसङ्ख्याको विस्तार भएकाले यातायातका राम्रा साधनहरू पनि रहेको हुन सक्ने जानकारहरूको भनाइ छ । त्यसले व्यापारमा प्रत्यक्ष फाइदा दिन्थ्यो । किनकि सिन्धु घाटी सभ्यताका व्यापारीहरूले प्राचीन मेसोपोटामियासँग काठ, मोती, तामा, सुन र कपासको व्यापार गर्ने गरेका थिए ।

सामूहिक सरकार

डाक्टर रमेशका अनुसार त्यस सभ्यताका भवनका अवशेषहरू हेर्दा उत्कृष्ट नागरिक सरकार रहेको थाहा पाउन सकिन्छ । किनकि हरेक शहरमा एउटा निकाय (अथोरिटी) हुन्थ्यो । शहर र बस्तीहरूको पूर्वाधारको संरक्षण र निर्माण गर्नु त्यस निकायको जिम्मेवार हुन्थ्यो ।

तर, त्यहाँ शासन गर्ने तरिका कुनै एक व्यक्तिमा मात्र सीमित थिएन । अर्थात् कुनै शासक कुलीन वर्ग थिएन । त्यहाँ सामूहिकताको झलक पाइन्थ्यो । यसको अर्थ धेरै भन्दा धेरै व्यक्तिहरूले शासन व्यवस्था सम्हालिरहेका हुन्थ्यो । यही कुराले सिन्धु घाटी सभ्यतालाई अन्य समाज र सभ्यताहरू भन्दा फरक बनाएको डाक्टर रमेश बताउँछन् ।

यो दाबीको प्रमाण भने त्यहाँ रहेका भग्नावशेषहरूमा पाइने बताइन्छ । डाक्टर रमेशका अनुसार इजिप्ट र मेसोपोटामियामा सत्ता र शक्ति एक व्यक्तिमा केन्द्रित थियो । ती सभ्यताका पुराना भवनहरूमा पनि यही झलक देखिन्छ ।

शान्तिपूर्ण क्षेत्र

सिन्धु घाटीमा पनि समाजिक वर्ग विभाजन थियो भन्ने केही प्रमाणहरू छन् । तर त्यस बेलाका अन्य सभ्यताहरूको तुलनामा भने निकै कम थियो ।

‘इजिप्ट र मेसोपोटामियाका अवशेषहरूबाट सामाजिक स्तरको भिन्नता पत्ता लगाउन सजिलो छ । अर्कोतर्फ सिन्धु घाटीमा घरहरूको आकारमा भिन्नता त छ । तर त्यहाँ वर्गीय अन्तर कति गहिरो थियो भनेर भन्न गाह्रो छ,’ रमेश भन्छन् ।

त्यस्तै केही पुरातत्वविद्हरूले यस सभ्यताकालिन हिंसाका केही प्रमाणहरू भेटेका छन् । तर यो सभ्यता अन्य सभ्यताको तुलनामा बढी शान्तिपूर्ण रहेको प्रमाण धेरै छन् । त्यस्तै अहिलेसम्म यस सभ्यतालाई लिएर कुनै ठूलो युद्धको संकेत पाइएको छैन । जबकि अन्य प्राचीन समाजहरूमा यो सामान्य थियो । यसैले यो सभ्यता शान्तिपूर्ण पनि थियो भन्ने धेरै जानकारहरूको मत छ ।

रहस्यमयी अवशेष

हामी अझै पनि सिन्धु घाटी सभ्यताबारे धेरै कुरा जान्दैनौं । किनकि धेरै कुरा उत्खनन् हुन बाँकी नै छ । भूराजनीतिक कारणले गर्दा पनि अहिले उत्खननमा विज्ञहरूले बाधा भोगिरहेका छन् । किनकि यो सभ्यताको केही भाग अहिलेको अफगानिस्तानमा पनि पर्छ । तर त्यहाँको आजको अवस्थामा सिन्धु घाटी सभ्यताको भग्नावशेषहरूको उत्खनन् गर्न कठिन छ ।

‘इजिप्ट र मेसोपोटामियाका सभ्यताका अवशेषहरूबाट त्यहाँका संस्कृतिहरूको बारेमा जानकारी सङ्कलन गर्न सजिलो थियो । किनकि उनीहरूले ढुङ्गामा स्मारकहरू छाडेका थिए । सिन्धु सभ्यतामा ठूलो मात्रामा माटोका इँटा र पकाइएका इँटाहरू प्रयोग गरिएका थिए’ रमेश भन्छन् ।

यसकारण ठूला ढुङ्गा, महल वा शाही चिहानहरू पेला नपरेसम्म सिन्धु सभ्यताको बारे धेरै कुरा जान्न गाह्रो नै हुने डाक्टर रमेशको भनाइ छ । त्यसमाथि यहाँको लिपिलाई अझै पनि विज्ञहरूले पूर्णरूपमा बुझ्न सफल भइसकेका छैनन् ।

यस सभ्यतालाई के भयो ?

सिन्धु घाटी सभ्यताको अन्त्यबारे विभिन्न धारणा अघि आएका छन् । तीमध्ये प्रमुख जलवायु परिवर्तन हो । रमेशका अनुसार यो सभ्यतामा रहेका मान्छेहरूले ईसापूर्व १९०० को आसपास नै आफ्नो ठाउँ छाड्न थालिसकेका थिए । त्यसको कारण पनि मनसुनको ढाँचामा आएको परिवर्तन नै थियो।

मोहनजोदडोमा गरिएको उत्खननबाट यसको प्रमाण पनि मिलेको थियो । त्यहाँको प्रमाणले यो सभ्यता अन्त्य हुनुभन्दा पहिलेदेखि नै बाढीको असर कम गर्न प्रयास भइरहेको थाहा भएको थियो ।

डाक्टर रमेशका अनुसार सिन्धु घाटी सभ्यतालाई बुझ्नाले अहिलेको आधुनिक समाजमा परिरहेको प्रभावलाई पनि बुझ्न सकिन्छ । किनकि यदि हिमालयका हिमनदीहरू आज तीव्र गतिमा पग्लिए भने इतिहास दोहोरिन सक्छ ।

उनका अनुसार सिन्धु घाटी सभ्यतामा चल्ने आम सहमतिमा आधारित शासन शैली उनीहरूलाई बचाउनका लागि पर्याप्त थिएन । त्यस्तै सिन्धु सभ्यताका व्यक्तिहरूले त्यतिबेला के भइरहेको थियो भनेर जान्ने प्रविधि थिएन । तर आज हामीसँग त्यो प्राविधिक क्षमता छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?