News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्धिप्रसाद पन्तले पर्सा–१ बाट रास्वपाबाट सांसद निर्वाचित भएर पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतले पराजित गरे।
- पन्तले चुरे दोहन रोक्न, वृक्षरोपण गर्न र खानेपानीको दीर्घकालीन गुरुयोजना बनाउन लबिङ गर्ने बताए।
- उनले प्रधानमन्त्री बालेन शाहसँग भेटेर मधेशका तत्काल समाधान गर्न सकिने समस्या राखे र बजेट अघि काम गर्न सुझाव दिए।
२० चैत, काठमाडौं । लामो समयदेखि होटल व्यवसायमा सक्रिय बुद्धिप्रसाद (हरि) पन्त रास्वपाबाट सांसद निर्वाचित भए । पर्सा–१ मा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतको फराकिलो अन्तरले पराजित गरेका । पन्तले २७ हजार २७४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत मात्र पाएका थिए ।
४६ वर्षीय पन्त सर्लाहीमा जन्मिएका हुन् । तीन वर्षको उमेरमै बाबु गुमाएपछि आमासँगै रौतहटको चन्द्रपुरमा बाल्यकाल बिताए । त्यहाँ उनले माध्यमिक तहसम्मको शिक्षा पूरा गरे । १४ वर्षको उमेरमा आमासँगै वीरगञ्ज फर्किएर संघर्षपूर्ण जीवन सुरु गरे ।
वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा उनी व्यवसायीसमेत हुन् । उनले क्लासिक होटल तथा कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन् । होटल तथा पर्यटन क्षेत्रमा सक्रिय रहँदै पन्तले होटल तथा पर्यटन व्यवसायी संघ, पर्साको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
यस बाहेक उनले उद्योग वाणिज्य संघ पर्साको कार्यसमिति सदस्य र होटल–पर्यटन समितिको उपसंयोजकको भूमिका पनि निर्वाह गरेका थिए ।
व्यवसायमा सफलता हासिल गर्दागर्दै पनि देशको समग्र अवस्था र पुराना दलहरूको कार्यशैली देखेर पन्त चिन्तित थिए । रास्वपाको स्थापना भएपछि उनलाई लाग्यो, यो पार्टीमार्फत देश निर्माणमा योगदान दिन सकिन्छ । अढाइ वर्षअघि पार्टीमा जोडिए ।
पन्तलाई २०८१ साल पुसमा वीरगञ्जमा सम्पन्न रास्वपा पर्सा जिल्ला भेलाले जिल्ला सभापतिमा निर्विरोध चयन गरेको थियो । संगठन निर्माण, पार्टी विस्तार र स्थानीय नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उनले पर्सा जिल्लामा रास्वपाको उपस्थिति मजबुत बनाउने काम गरे ।
व्यावसायिक पृष्ठभूमि, दक्ष संगठनात्मक क्षमता र संघर्षशील छविले उनलाई नयाँ राजनीतिक शक्तिको बलियो उम्मेदवार बनायो । उनी पूर्वमन्त्रीलाई नै हराएर संसद् प्रवेश गरे ।
निर्वाचित भएपछि पन्तले प्रधानमन्त्री बालेन शाहलाई भेटे । उनीसहित मधेश प्रदेशका सांसदहरू (नेकपाका सांसद मात्रिका यादवबाहेक) ले प्रधानमन्त्रीसँग सामूहिक भेटघाट गरेका हुन् ।
पन्तका अनुसार प्रधानमन्त्रीले मधेशका सांसदहरूलाई बोलाएर तत्काल सानो प्रयासले समाधान गर्न सकिने समस्याहरू सुने । बजेट निर्माणअघि जनताले प्रत्यक्ष राहत महसुस गर्ने गरी दुई–तीन महिना भित्र केही काम गर्न सकिन्छ कि भनेर राय सल्लाह लिए ।
भेटमा पन्तसहितका सांसदले आफ्नो क्षेत्रगत समस्या राखे । ‘प्रधानमन्त्री बोल्नुहुन्न, मान्छे भेट्नुहुन्न भन्ने कुरा गलत रहेछ । उहाँले हामीलाई सुन्नुभयो । एकदम सहज, सरल र व्यावहारिक पाएँ,’ उनले भने, ‘हामीले आफ्नो स्थानीय र तत्काल गर्न सकिने कामबारे सुझाव दियौँ ।’
पन्तसँग समस्याका फेहरिस्त मात्र होइन, समाधानका उपाय पनि छन् । उनका अनुसार, पर्सा–१ औद्योगिक क्षेत्रसँग जोडिएको संवेदनशील निर्वाचन क्षेत्र हो । यहाँ बारा–पर्सा औद्योगिक करिडोर छ र वीरगञ्ज भन्सारले देशको ठूलो हिस्सा राजस्व योगदान गर्छ । तर व्यवसायीहरूले नीतिगत जटिलता, उधारो कानुन, लगानीको अनिश्चितता र सुरक्षा चुनौती भोगिरहेका छन् ।
पछिल्लो समय मधेश आन्दोलनको समयमा वीरगञ्ज प्रभावित हुँदा व्यवसायी पलायन पनि सुरु भयो । त्यसपछि आर्थिक मन्दी र केन्द्रीय नीतिका कारण यो क्रम बढेको पन्तले बताए ।

त्यस्तै, उद्योगहरूलाई थप सुरक्षा दिन औद्योगिक सुरक्षा बल गठनको माग व्यवसायीबाट आएको छ । तोडफोड, चोरी र व्यक्तिगत सुरक्षाको जोखिमलाई राज्यले सम्बोधन गर्नुपर्ने उनले औंल्याए । स्थानीय स्तरमा खानेपानीको पनि गम्भीर समस्या छ । पछिल्ला तीन–चार वर्षयता पानीको सतह घट्दा गत वर्ष हैजा महामारीसमेत फैलिएको थियो ।
चुरे दोहनका कारण मधेशमा पानीको स्तर तल झरेको छ । पन्तले चुरे दोहन रोक्न, खाली ठाउँमा वृक्षरोपण गर्न र खानेपानीको दीर्घकालीन गुरुयोजना बनाउन लबिङ गर्ने बताएका छन् ।
यसबाहेक नारायणी अस्पतालको अवस्था, नारायणी रंगशाला जस्ता पूर्वाधार विकास, किसानका मलखादका समस्या र सिमानाका कारण हुने चोरी पैठारी, भन्सार चुहावट तथा आपराधिक गतिविधि पनि मुख्य चुनौती रहेको उनको भनाइ छ ।
आफ्ना यिनै एजेन्डा मतदातालाई सुनाएका पन्तको चुनावी अनुभव पनि रोचक छ । चुनावी अभियानका क्रममा उनले जनता निकै जागरुक भएको देखे । पुराना भोट बैंक र ठेकेदार प्रथाले यस पटक कुनै काम गरेन । जनताले परिवर्तन गर्नैपर्छ भन्ने उत्साह देखाए र राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको मुख्य माध्यम ठानेको उनको दाबी छ ।
बालेन शाहले काठमाडौं महानगरपालिकामा गरेको कामले मधेशमा पनि थप विश्वास जगाएको पन्तको भनाइ छ । निर्वाचनमा उनका मुख्य प्रतिद्वन्द्वी तीन पटक मन्त्री भएका र पूर्वसंविधानसभा सदस्य प्रदीप यादव तथा कांग्रेसका केन्द्रीय सदस्य थिए । हेभिवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्दा चुनौती थियो ।

तर, जनताले नेताभन्दा ठूलो शक्ति आफैं भएको प्रमाणित गरे । पन्तलाई विजयी गराए । विजयपछि उनले विजय जुलुस नगरी घर–घर गएर मतदातालाई धन्यवाद दिए । पुराना उम्मेदवारहरू जितेर गएपछि जनतासँग जोडिन नसकेको, विकास निर्माणमा ध्यान नदिएको र टाढिएको गुनासो मतदाताले सुनाए ।
‘जनताको मुख्य आकांक्षा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रत्यक्ष सम्पर्क, फोन उठाउने र सुख–दु:खमा साथ दिने रहेको छ । उहाँहरूले ठूलो आकांक्षा राख्नुभएको छैन । बरु जुन काम सहजै गर्न सकिन्थ्यो त्यो समेत पुरानाबाट नभएकोमा दु:ख व्यक्त गरेका थिए,’ पन्तले भने ।
अब पार्टी भित्र कुनै तलमाथि हुन नदिई जनताको काम गर्न आफूलाई सक्रिय बनाउने पन्त बताउँछन् । ‘वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेबीच फाटो आउला कि भन्ने जुन चिन्ता छ, त्यो हुँदैन । सबै कुरा मिलेको छ । अब काम नै हाम्रो प्राथमिकता हो,’ उनले थपे, ‘एक जनाले पार्टी चलाउनुहुन्छ, एक जनाले संसदीय दलको नेतृत्व गर्दै देश चलाउनुहुन्छ ।’
तस्वीर/भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4